|

इलाम : स्वदेशमा भविष्य नदेखेका कारण दिनहुँ ठूलो संख्यामा नेपाली युवाहरु विदेशिने गर्छन्। उनीहरुले पठाएकै रेमिट्यान्समा भर परेको हाम्रो देशको अर्थतन्त्र विकासमुखी भने हुन सकेको छैन। अर्थात सक्रिय युवाहरुको विदेश पलायनले देशमा रेमिट्यान्स त भित्र्याएको छ, तर कर्मठ हातहरुको अभावमा विकासको गति सुस्ताएको छ। देशमा योग्य जनशक्तिको खाँचो छ।नेपालमा स्थापित भएका धेरै व्यक्तिहरु विदेश पलायन भएपछि पेशा बदल्न बाध्य हुन्छन्। विदेशिएका नेपाली खेलाडी तथा प्रशिक्षकहरु पनि यस्तै अवस्थाबाट गुज्रिएका छन्। नेपालमा ‘स्टार’ भनेर चिनिएका प्रशिक्षक तथा खेलाडीहरु जीवन निर्वाहका लागि विदेशमा गएर अरु नै  पेशा अंगाल्न बाध्य छन्। जसका कारण उनीहरुको खेलकुद करियरमा ब्रेक लाग्छ। 

यो धेरै खेलाडी तथा प्रशिक्षकहरुको नियति हो। तर, केही त्यस्ता खेलाडीहरु पनि छन् जो विदेशमै पनि खेलकुद क्षेत्रमा सक्रिय छन्। रोङ गाँउपालिका– ३ कुटिडाँडा घर भएकी सुस्मिता निरौला यस्तै खेलाडीहरुमध्ये एक हुन्। उनी विदेशी खेलाडीहरुलाई दुबईमा कराते प्रशिक्षण गराउँछिन्। 

स-सना नानीहरुलाई कराते खेल सिकाउँछिन् अर्थात विदेशमा बसेर नयाँ प्रतिभाहरु उत्पादन गर्छिन्। ब्ल्याक बेल्ट थर्ड डान सुस्मिताले राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको ‘स्कुल स्पोर्टस् टिचर्स ट्रेनिङ’ र ‘नेपाल इन्स्ट्रक्टर सर्भिस ट्रेनिङ’मा विशिष्ट श्रेणी हासिल गरेकी छिन्।

२५ वर्षिया सुस्मिता मोजना डोजो अल्कासिस, हेसा डोजो, एतिसलात एकेडेमी मुहाइस्नाह र कराते किड मार्सल आर्ट एकेडेमी दुबईमा कराते प्रशिक्षकको रुपमा कार्यरत छिन्। जोर्डन, भारत, कतार, बंगलादेश लगायतका आधा दर्जन राष्ट्रका ३ सयभन्दा बढी खेलाडीहरुले सुस्मितासँग प्रशिक्षण लिन्छन्। यसरी प्रशिक्षण दिएर मासिक १ लाख रुपैयाँभन्दा बढी कमाउने गरेको सुस्मिता बताउँछिन्।

कोलबुङको स्थानीय शान्ति निकेतन उच्च माविबाट ‘प्लस टु’सम्मको अध्ययन सकेकी सुस्मिताले खुला प्रतिस्पर्धाबाट सो अवसर पाएकी हुन्। देशभरका २० जना महिला कराते प्रशिक्षकले दुबईमा प्रशिक्षण गराउनका लागि आवेदन दिएका थिए। त्यसमध्ये सुस्मिता छनोट भइन्।

सेप्टेम्बर २०१६ मा दुबई पुगेकी उनको सम्झौता अवधि २ वर्षको छ। उनी दुबईमा रहेका कराते प्रशिक्षक राजिव सुनवारमार्फत महिला कराते प्रशिक्षकको रुपमा गएकी हुन्। प्रशिक्षकको रुपमा छनौट गराउन गुरु योगेश चाम्लिङ र नेपाल कराते महासंघका सदस्य इन्द्र बज्रचार्यको समेत योगदान अविस्मरणीय रहेको सुस्मिता बताँउछिन्।

७ वर्षकै उमेरबाट करातेमा

सुस्मिता ७ वर्षकै उमेरदेखि करातेमा लागेकी हुन्। उनका पहिलो गुरु बाबु पिताम्बर निरौला  हुन्। पिताम्बर आफै मार्सल आर्टसका खेलाडी भएकाले पनि छोरीलाई मार्सल आर्टसमा लाग्न प्रेरणा दिए। उनीसँगै उनका भाइ सरोज निरौला पनि कराते खेलमा होमिए।

बुबाले राम्रैसँग कराते प्रशिक्षण गराइरहेका थिए। सुस्मिताको खेल पनि निखारिदैँ गएको थियो। तर उनी ११ वर्षको हुँदा अचानक पारिवारमा बज्रपात भयो। बुबाको निधन भयो। त्यसपछि आर्थिक रुपमा उनको परिवार संकटमा पर्‍यो। सुस्मिताले आफ्नो खेलका गुरु तथा अभिभावकलाई एकैपटक गुमाइन्। त्यो पनि कराते खेल्न थालेको केवल ४ वर्षमै।

‘हाम्रो परिवार निकै विक्षिप्त थियो। आर्थिक रुपमा पनि धेरै गाह्रो थियो। आमाले सानो पसल सञ्चालन गरेर गुजारा गर्नुभयो,’ सुस्मिताले भनिन्। त्यसपछि आमा राधिका मगर निरौलाले गरेको संघर्ष देखेर जिन्दगीका कुनै पनि क्षणमा  हरेश खानुहुन्‍न भन्‍ने सिकेको सुस्मिता बताउँछिन्।

यसरी आमाबाट संघर्ष गर्न सिकेकी सुस्मिताले बुबाको निधनपछि कराते खेलको थप कला योगबहादुर राई (योगेश चाम्लिङ) बाट सिकिन्। ‘योगेश गुरुले मलाई हौसला दिन थाल्नुभयो। उहाँले मलाई कराते मात्रै नभएर अन्य क्षेत्रमा पनि सहयोगी र जिम्मेवार बन्‍न सिकाउनुभयो। उहाँ मेरो अभिभावक हो। उहाँ नभएको भए म यत्तिको सफल हुने थिइँन,’ सुस्मिताले भनिन्।

खेल क्षेत्रमा आफुलाई प्रमाणित गर्न थालेपछि उनलाई अन्य व्यक्तित्वहरुबाट पनि सहयोग हुन थाल्यो। छिमेकी देश भारतको आसाम, दार्जिलिङ, सिक्किम लगायतका क्षेत्रमा भएका १ दर्जन बढी प्रतियोगितामा आफुलाई अब्बल प्रमाणित गर्दै उनले देशका लागि पदक जितिसकेकी छिन्।

करियरका उतार चढाव

बाबुको निधनपछि सानैदेखि संघर्ष गर्न सिकेकी सुस्मिताले जीवनभर संघर्ष गरिरहेकी छिन्। तर उनी विचलित छैनन्। प्रत्येक कठिन अवस्था पार गर्दै सफलताको उचाईमा पुग्‍ने विश्वास उनीमा छ।

कराते खेलका दुई विधा काता र कुमुतेमध्ये उनी कुमुते अर्थात फाइटमा अब्बल थिइन्। १० औं  साग (दक्षिण एशियाली खेलकुद) पूर्वाञ्चलबाट आफुभन्दा सिनियर खेलाडीहरुलाई हराउँदै उनी छनोट भइन्। तर राष्ट्रिय टिममा छनोट हुने सपना पूरा हुन सकेन।

त्यतिबेलाको पीडाले करियरमा सफल हुन हौसला थपेको उनी बताउँछिन्। ‘राष्ट्रिय छनोटअघि २०६२-६३ को जनआन्दोलनका कारण धरान क्लोज क्याम्पमा बस्नुपर्ने थियो। क्याम्पमा बस्दा मेरो तौल ४८ केजीबाट बढेर ५२ केजी पुग्यो। तौल घटाउन गरेको कडा अभ्यास र औषधिको प्रयोगका कारण शरिरमा पानीको मात्रा घटेर अस्पताल भर्ना हुनपर्‍यो,’ सुस्मिताले भनिन्,‘लामो समय अस्पताल बस्नु परेकाले राष्ट्रिय छनोटमा अपेक्षिकृत खेल देखाउन सकिन। त्यो छनोटमा सहभागी हुन पाउनु जति ठूलो सौभाग्य थियो। त्यति नै ठूलो दुग्भार्य रिङमा छिरेपछि भयो। खेल बाउट सुरु हुने बित्तिकै खुट्टामा समस्या देखिएपछि विर अस्पतालमा भर्ना हुनुपर्‍यो।’

कुमुतेबाट काता

सागका लागि राष्ट्रिय टिममा छनोट हुन नसकेपछि उनी झन्डै ६ महिना यस खेलबाट टाढा भइन्। त्यसपछि फेरि रिङमा फर्किइन्। तर भारतको दार्जिलिङमा भएको कराते च्याम्पियनसिप उनको खेलाडी जीवनको टर्निङ प्वाइन्ट बन्यो। च्याम्पियनसिपको फाइनल बाउटमा खुट्टा फर्किएपछि उनी अस्पताल बस्नुपर्ने भयो। यस खेलपछि उनले कुमुते (फाइट) छाडेर काता (कला–प्रदर्शन) विधालाई रोजिन्। कातामा उनले आधा दर्जन भन्दा बढी राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन्।

२०६५ चैत्र २४ देखि ३० सम्म काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने उनको इच्छा पूरा भएन। तर रजत पदक भने जितिन्। काता विधाको फाइनलमा नेपाल पुलिस क्लबकी शुभद्रा श्रेष्ठसँग पराजित भएपछि उनी रजत पदकमै सिमित भएकी थिइन्।

धनगढीमा २०६८ फागुन १४ देखि २१ गतेसम्म भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि उनले रजत जितिन्। यसपटक उनी पुलिस क्लबकी चन्चला दनुवारसँग फाइनलमा पराजित भएकी थिइन्।

‘सुस्मिता भित्रैबाट खेल भावना लिएर खेल्छिन्। यस खेलप्रतिको लगावकै कारण देश–विदेशका प्रतिष्ठित प्रतियोगितामा उनी सहभागि भइन्। इलामको नामलाई उनले देश–विदेशसम्म फैलाएकी छिन्,’सुस्मिताको खेल कौशलको बारेमा उनका प्रशिक्षक योगेश चाम्लिङ भन्छन्।

जसरी सुस्मिताका प्रशिक्षक उनको खेल कौशलमा गर्व गर्छन्। त्यसरी नै सुस्मिताले प्रशिक्षण दिएका चेला–चेलीहरु उनीप्रति ऋणी भएको बताउँछन्। ‘सुस्मिता गुरुले करातेका स्टेपहरु सहज रुपमा सिकाउनुहुन्थ्यो। उहाँले गुरुमात्र नभइ दिदीजस्तो भएर करातेमा आफुले गरेका संर्घष हात पारेका सफलता तथा असफलताहरुको पाठ हामीमाझ बाडँनुभयो। उहाँकै प्रेरणा र प्रशिक्षणले आज हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याएका छौं,’ खेलाडी विमोचना गुरुङले भनिन्।

सुस्मिताले प्रशिक्षण दिएका विमोचना गुरुङ, प्रिति बस्नेत, प्रिया बस्नेत, निश्चल खवास लगायतका खेलाडीहरुले राजस्थान, गोवा, बंगलादेश, भूटान लगायतका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपाललाई पदक दिलाएका छन्। सुस्मिताको गाँउ कुटिडाँडा इलाममा ‘कराते खेलाडीहरु गाँउ’ भनेर चिनिन्छ।

तर सुस्मिताको परिचय खेलाडी र प्रशिक्षकका रुपमा मात्रै सिमित गरियो भने अन्याय हुन जान्छ किनकी उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छिन्। इलाम छँदा गाँउ–घरमा हुने सामाजिक कार्यमा उनको अनिवार्य उपस्थिति हुने गरेको थियो।

कुटिडाँडा सरसफाइ तथा खानेपानी समिति, हाँसपोखरी निर्माण समिति, हाँसपोखरी सुनाखरी संरक्षण समिति जस्ता संस्थाहरुमा क्रियाशिल भएर रोङ गाँउपालिकाको मुहार फेर्न उनी सक्रिय थिइन्।

कराते नै जीवन

सुस्मिताको सपना करातेको माध्यमबाट देश–विकास र समाजसेवामा सक्रिय हुने हो। ‘अहिले विदेशमा छु। तर मलाई घर फर्कने मन छ। इलाममा कराते खेललाई अघि बढाउने योजना छ। विदेशिनु मेरो बाध्यता हो। मेरो मात्रै नभएर आम खेलाडीहरुको बाध्यता हो,’ सुस्मिताले भनिन्।

‘कराते के हो?’ निरन्तर १८ वर्षदेखि यस खेलमा सक्रिय सुस्मिताले थाहाखबरको प्रश्नपछि भनिन्,‘खेलकुद र सेल्फ डिफेन्स मात्रै नभएर समाज र राष्ट्रका लागि केही गर्ने भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने कला हो कराते। सामाजिक विभेद अन्त्य गर्दै सबै समान हुन् भन्ने मान्यता स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने माध्यम हो, कराते। को धनी? को गरिब? सबैलाई अनुशासनको एउटै सुत्रमा उन्न सक्ने स्पिरिट हो कराते।

मानिसलाई संघर्ष गर्न सिकाउने सुत्र हो, कराते। निरन्तरको साधना हो कराते। संसारभर आफ्नो देशलाई चिनाउने माध्यम हो कराते। करातेले स्वस्थ्य नागरिक उत्पादन गर्छ……,’ उनी भन्दै गइन् र अन्त्यमा रोकिइन्,‘मेरा लागि केवल खेल मात्रै होइन जीवन हो कराते।’

हेर्नुस् थप फोटो :

प्रशिक्षक योगबहादुर राई (योगेश चाम्लिङ) सँग 

भाई सरोज निरौलासँग / सरोज पनि अहिले  करातेको प्रशिक्षणमा सक्रिय छन्। उनले गृहजिल्ला इलाममा खेलाडीहरुलाई प्रशिक्षण दिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • I wish her every success in the further days, .