|

काठमाडौं : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो। 

यसअघि ‘श्रीभेइकल सोलुसन एण्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो। यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए। ‘सम्मानित अदालतको आदेशअनुसार हामी परीक्षार्थीलाई निस्शुल्क गाडी उपलब्ध गराउँछौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘यो अन्तरिम आदेश हो, जब पूर्ण फैसला हुन्छ, त्यसपछि विकल्प खोज्नुपर्छ।’ 

सेन्टरले ३ वर्षअघि प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था विभागलाई गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो । विभाग र सेन्टरबीच २०६९\१२\२२ मा भएको सम्झौताको म्याद २०७३\१२\२२ मा सकिएको थियो । २०७३\१२\२५ मा पुन: ६ महिनाका लागि साविकै दरमा सेवा दिने सम्झौता भएको थियो । यसअघि पनि सर्वोच्चकै न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलासले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भन्दै मन्त्रालयका नाममा आदेश जारी गरेको थियो। 

त्यसपछि न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले सवारी चालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्न निर्देशिकाअनुसार नै देखिएकाले सर्वसाधारणको ‘सुविधा र हितको सन्तुलनको दृष्टि’ ले अन्तरिम आदेश दिन नमिल्ने भन्दै न्यायाधीश कार्कीको आदेश खारेज गरिदिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.