बैतडी : कर्णाली वारी यातायातको सुविधा नभएको समयमा सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाबाट काठमाडौं जाने आउने मुख्य बाटो थियो झुलाघाट। पहिले सुदूरपश्चिम जान भारतको उत्तराखण्ड हुँदै झुलाघाटको पुल तरेर जानुपर्थ्यो।
अहिले पनि यही नाका भएर सुदूर र मध्यपश्चिमका सयौं स्थानीय रोजगारीका लागि भारतका विभिन्न शहर पस्ने गरेका छन्। तर झुलाघाटमा महाकाली नदीमाथि पक्की पुल बन्ने सुदुरवासीको आशा अझै अधुरै छ। बेला बेलामा मन्त्री र उच्च पदस्थ सरकारी अधिकारीहरुले झुलाघाटमा पुल निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन।
झुलाघाटसम्म नेपाल र भारत दुबै देशले पक्की सडक निर्माण गरे पनि मोटर ओहोर दोहोर गर्ने पुल निर्माणका लागि तदारुकता नदेखाउँदा भारतको उत्तराखण्ड राज्यका नागरिक समेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष सञ्जीव जोशीले बताए। उनले भने, ‘झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना हो, यो पुल निर्माण भएपछि नेपालसंग मित्रता अझ प्रगाढ हुने र उत्तराखण्डको नेपालसंगको व्यापार पनि बढ्छ।’
डेढ सय बर्ष पुरानो झोलुंगे पुलबाट आजतजावत
करिव डेढ सय वर्ष अघि ईष्ट इण्डिया कम्पनीले नेपाल –भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएको झोलुगें पुल जीर्ण बन्दै गएपछि बैतडी लगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन्।
पुल निर्माणका लागि आफूहरुले पनि उत्तराखण्ड सरकारलाई दबाब दिएको र केन्द्रीय सरकारबाटै रोकिएको उनले बताए। सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नु पर्ने भएपछि सामान आयात निर्यात पनि महंगोमा हुने व्यापारीहरु बताउँछन्।
प्रतिकिलो सात रुपैयाँ भाडा तिरेर भरियाबाट सामान बोक्ने गरेकाले उपभोक्तालाई बढी मूल्य पर्ने देहीमाण्डौंका व्यापारी मोहनबहादुर क्षेत्रीले बताए। पुल बनाउन भारत सरकारले पटक पटक प्रतिवद्धता जनाए पनि नेपाल स्तरबाट चासो नदेखाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टको गुनासो छ।
हस्ताक्षर संकलनदेखि उत्तराखण्ड सरकारलाई ज्ञापन पत्र
नौं वर्षअघि उद्योग वाणिज्य संघ बैतडीले पुलको माग गर्दै १० हजार बैतडेलीहरूको हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय राजदूतावासमा ज्ञापनपत्र दिएको थियो। बैतडी आउने हरेक नेतालाई सीमा पुलको बारेमा गुनासो राखे पनि आश्वासन मात्रै पाइने गरेको स्थानीयको गुनासो छ। ‘आश्वासन कैयौं पटक पाइयो, तर प्रक्रिया अघि बढेको छैन’ गोठालापानीका व्यापारी जनकराज जोशीले भने, ‘आश्वासन मात्रै कति सुन्ने।’
पुल निर्माणको ज्ञापनपत्र लिएर केही वर्षअघि भारतको प्रदेशीय राजधानी देहरादुन पुगेको बैतडी उद्योग वाणिज्य संघको टोलीलाई उत्तराखण्ड सरकारले पुल निर्माणका लागि छ करोड विनियोजन गरिसकेको आश्वासन दिएको थियो। तर, नेपालका तर्फबाट प्रक्रिया अगाडि नबढाएको भारतीय अधिकारीले गुनासो गरेको संघका अध्यक्ष चन्दले बताए।
पुल नहुँदा रोकियो विकास
सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने स्थानीय बताउँछन्। झुलाघाटमा पक्की पुल सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक विकाससंग जोडिएको पुल हो। मध्यपहाडी लोकमार्ग अन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय
बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिने एक जना व्यापारी चक्रदेव पाण्डेयले बताए। उनले भने ‘झुलाघाटमा पुल बनेमा किसानहरुको उत्पादनले पनि बजार पाउनेछ। यसले आर्थिक अवस्थामा सुधार आउनेछ।’ सरकारले झुलाघाटमा महाकाली नदीमाथि पुल बनाउने कुरा धेरै पहिलेदेखि बताउँदै आएको छ।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले झुलाघाटमा मात्रै नभएर महाकाली नदीमाथि दार्चुलाको खलंगा र डडेल्धुराको शीर्षमा समेत पक्की पुल निर्माणका लागि भारतसंग सैद्धान्तिक सहमति भइसकेको दावी गरेका छन्। लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला पनि झुलाघाट सहित महाकाली नदीमाथि तीन ठाउँमा पुल निर्माणबारे कुरा भएको थियो । तर अहिलेसम्म सो प्रक्रिया अघि बढ्न सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।