|

काठमाडौं : आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गते देखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। दशैं, तिहार र छठ पर्वको समयमा उपभोक्तालाई सुलभ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन सार्वजनिक संस्थानहरुले कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन्। 

हरेक वर्ष दशैंमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिलादेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। ‘नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेशनल ट्रेडिङले छुट सुविधा सहितका सुपथ मूल्य पसल सञ्चालन गर्ने छन्’ उनले भने ‘यसमा बिक्री वितरण प्रणाली, अनुगमन र चुहावट नियन्त्रणलाई पनि प्रभावकारी बनाइनेछ।’

सुपथ मूल्य पसलहरुमा चामल प्रति परिवार ३० किलोग्राम, नुन ६ किलो, चिनी ६ किलोसम्म बिक्री गरिनेछ। सहुलियत दरका सुपथ मूल्य पसलहरुमा नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमती चामल र फापरमा १० रुपैयाँ, बासमती बाहेकका चामलमा ५ रुपैयाँ,  खसीबोका र च्यांग्रामा १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ। 

सुपथ मूल्य पसलहरु साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड काठमाडौमा ९ स्टल, ३ वटा घुम्ती पसल, त्रिशुली डिपो, कर्पोरेसनका २२ कार्यालय गरी ३६ ठाउँ र नेपाल खाद्य संस्थानका कार्यालयमा सञ्चालन गरिने आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। सुपथ मूल्यका पसलमध्ये २२ वटा भने उपत्यका बाहिर हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.