|

विराटनगर : बाढी तथा डुबानले पीडित बनेका सर्वसाधरणलाई राहत वितरण गर्नेमा मोरङ मुस्लिम समाज अगाडि देखिएको छ। बाढी र डुवान प्रभावित क्षत्रेमा धेरै संघसंस्था र व्यक्तिहरुले राहत वितरण गरेका छन्।

तर, दूरदराजका सर्वसाधारणले राहत वितरणमा विभेद गरेको र राज्य शहर केन्द्रित भएको आरोप लगाइरहेका छन्। मोरङ मुस्लिम समाजले भने त्यही विभेद र राज्य नपुगेका स्थानमा गएर राहत र सहयोगको काम गरिरहेको छ।

‘५०/६० जनाको टोली बाढी आएदेखि लगातार उनीहरूको उद्धार तथा राहतमा खटिरहेको छ’, मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले भने, ‘हाम्रो टोलीले कुनै एनजिओ आइएनजिओसँग पैसा मागेर होइन हामी आफैंले उठाएर राहत वितरण गरिरहेका छौं।’

मुस्लिम समाजले अहिलेसम्म मोरङको विभिन्न स्थानका १३ सय १७ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ। राहतमा चामल, त्रिपाल, दाल, तेल, लत्ताकपडालगायतका सामाग्री छन्। अन्य विभिन्न संघसंस्थाले जातिगत र धर्मको आधारमा राहत वितरण गरेको भए पनि मुस्लिम समाजले भने सबै जाति धर्म र समुदायका मानिसलाई राहत वितरण गरेको जनाएको छ। ‘हामीले कसैलाई विभेद गरेका छैनौं, जुनसुकै जाति, धर्म, समुदायका मानिसलाई राहत विरतण गरेका छौं,’ आलमले भने, ‘वास्तविक पीडितलाई राहत वितरण गर्ने हाम्रो काम अझै जारी छ।’

राहत सामाग्री व्यवस्थापनका लागि समाजले मुसरफ खान, तनविर खान, एस खान, अरविन आलमलगायतको टोली खटिएको छ भने साहव अहम्मद गुड्डु, ताजिम अहमद, फिरोज खान, जफर अहमद जमालीलगायतको टोलीले राहत वितरणको जिम्मा लिएको छ।

टोलीले अहिलेसम्ममा लगभग २० लाखको सामान पीडितको घरघरमा पुर्‍याएको जनाएको छ। त्यति मात्रै होइन मुस्लिम संघर्ष समितिको पहलमा बाढी पीडितको क्षेत्रमा विशेषाज्ञ डाक्टरसहितको टोलीले स्वास्थ्य शिविर पनि चलाइरहेका छन्।

मुस्लिम समाजले विशेष गरी डोम र अल्पसंख्यक ऋषिदेव (मुसहर) समुदायलाई सहयोग गरिरहेको हो। धार्मिक सहिष्णुताको नेपाली संस्कारलाई निरन्तरता दिन र उदाहरण प्रस्तुत गर्नकै लागि गैरमुस्लिमलाई सहयोग गरेको आलमले बताए। समाजले मोरङको कालाबञ्जर, बुधनगर, कटहरी, बेतौना, रंगेली र बुढीगंगालका बाढीपीडितलाई राहत उपलब्ध गराएको जनाएको छ।

मोरङमा बाढीका कारण आठ हजार पाँच सय घर डुबानमा परेका छन् भने बाढीले ६० घर बगाएको छ। यस्तै १७ जनाको मृत्यु भएको छ र तीन हजार दुई सय एक घरका ११ हजार चार सय २० जना विस्थापित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.