|

काठमाडाै‌ं : केही दिन अघि नयाँ शक्ति नेपालमा वृहत ध्रुवीकरण केन्द्रीय संयोजन समिति गठन गरेका देवेन्द्र पौडेल लगायतका नेताहरुले मंगलबार नेकपा माओवादी केन्द्रसँग एकता गरेका छन्। मंगलबार काठमाडौंको कोटेश्वरको गौरीशंकर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई स्वागत गरे। 

नयाँ शक्तिका सहसंयोजक परशुराम तामाङ, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, नेताहरु बामदेव क्षेत्री, मुक्ति प्रधान, कुमार पौडेल, अमरध्वज लामा, सुशीला शिर्पाली लगायतका नेतालाई स्वागत गर्दै प्रचण्डले दुश्मनको एम्बुसमा परेको माओवादी आन्दोलन एकीकृत र धुब्रीकृत हुने प्रक्रिया शुरु भएको बताए। 

‘देशको राजनीतिक अवस्थालाई विचार गरेर परिवर्तनकारी शक्तिहरु एकै ठाउँ भएनन् भने देश दुर्घटनामा पर्न सक्छ भन्ने महसुस गरी तपाईहरुले जे निर्णय गर्नुभयो म त्यसका लागि बिशेष अभिनन्दन र स्वागत गर्न चाहन्छु’ उनले भने।  

नयाँ शक्ति छाडेका नेताहरुले सही समयमा सही विश्लेषण गरेको भन्दै प्रचण्डले आन्दोलनबाट एक्ला एक्लै गए पनि गुणात्मक र संख्यात्मक दुबै हिसाबले साँवा र ब्याज समेत ल्याएर पार्टीमा फर्किएको भन्दै नेता देवेन्द्र पौडेलको प्रशंसा गरे। पौडेल लगायतका नेताहरुले दुई बर्षसम्म माओवादी आन्दोलनबाट बाहिर रहेर हासिल गरेको अनुभव पार्टी निर्माणमा खजाना हुने प्रचण्डको दावी थियो। 

आफूहरु असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा पहिलो पार्टी बन्ने ध्याउन्नमा लागेको भन्दै प्रचण्डले मधेस अब माओवादीमय हुने दावी गरे। उनले भने ‘मधेशमा जनस्तरबाट हज्जारौंको संख्यामा माओवादीमा ध्रुवीकृत हुने प्रक्रिया शुरु भएको छ। म आफै मधेश जान लागेको छु।’ 

मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट जीवनसहितका नेताहरु पनि माओवादी केन्द्रमा फर्किएका छन्। जीवनले विप्लवको पार्टी राजनीतिक गतिविधि छोडेर आपराधिक क्रियाकलापमा संलग्न भइरहेको आरोप लगाए।

नयाँ शक्ति नेपालका सहसंयोजक परशुराम तामाङले  डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीति गर्ने नाममा न दाँया न बायाँ भएकाले पार्टी छाडेको बताए। आफू जनजाति आन्दोलनबाट आएको हुनाले आफ्नो एकता माओवादीबीचको एकता नभएको तामाङले जिकिर गरे। उनले भने ‘यो माओवादी -माओवादीबीचको एकता होइन। म आजसम्म माओवादी थिइन बल्ल आजबाट माओवादी हुँदैछु।’

नेता देवेन्द्र पौडेलले दुई बर्षसम्म आफूलाई लालसलाम भन्न पनि सकस भएको स्मरण गर्दै धक फुकाएर लालसलाम कामरेडहरु भन्दै संबोधन शुरु गरे।परिवर्तनका मुद्दाको संरक्षण गर्नका लागि माओवादी केन्द्रसँग एकता गरेको भन्दै नेता पौडेलले आउने पाँच वर्षमा माओवादी केन्द्र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। आफू माओवादीमा पुन फर्किएको भन्दै उनले भने ‘केही दिन तपाईहरुबाट टाढा गएको थिएँ। फेरि फर्केर आएको छु। इमान्दार सिपाहीले कहिल्यै जनताको साथ छोड्न सक्दैन।’

नेता पौडेलले नेपालका गाउँका खोल्सा खोल्सामा शहीद भएको स्मरण गर्दै मोहन वैद्य, बाबुराम भट्टराई र विप्लवलाई एकै ठाउँमा ल्याउने पहल गर्न प्रचण्डलाई आग्रह गरे। पौडेलले आफ्नो संबोधनको अन्त्यमा भने ‘लालसलाम कताकता हराएको थियो। म तपाईहरुलाई दृढतापूर्वक लालसलाम गर्न चाहन्छु।’

अर्का नेता पासाङ शेर्पाले ३४ बर्षसम्म एमालेमा लालसलाम भन्दै हिँडे पनि एमालेले आफूलाई ढोकाबाट धकेलिदिएको बताए। एमाले छोडेपछि ६ बर्ष भौंतारिएपछि आफूले बल्ल एउटा अडिने ठाउँ भेटेको टिप्पणी गरे। 

नयाँ शक्ति पार्टीभित्र साउन २६ गते वृहत ध्रुवीकरण केन्द्रीय संयोजन समिति गठन गरेका पौडेलसहित १५ जना नेतालाई नयाँ शक्तिले कारबाही गरेको थियो।एकता कार्यक्रममा पौडेलले पार्टी निर्माणका आधारपत्र लेखिएको दस्तावेज प्रचण्डलाई हस्तान्तरण गरेका थिए। आधारपत्र बुझ्दै प्रचण्डले यो आधारपत्र पार्टीको सम्पत्ति भएको बताए। 

पार्टी एकताको लागि पहल गरेका रामबहादुर थापा बादल र देवेन्द्र पौडेल लगायतको वार्ता टोलीलाई कार्यक्षेत्र र जिम्मेवारी बाँडफाँडको जिम्मा दिइएको छ। पार्टी एकतामा आउने सबैलाई चित्त प्रशन्न हुने गरी जिम्मेवारी बाँडफाँट गर्न प्रचण्डले निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.