|

झापा : गौरीगञ्ज गाउँपालिका–१ महाभाराको भन्सार टोलका सुनीराम मुर्मुको घरमा साउन २७ राति आएको बाढीले क्षति पुर्‍यायो। मजदुरी गरेर कमाएको पैसाले बनाएको फुसको घरमा क्षति पुगेपछि उनी नजिकैको बालकल्याण माध्यमिक विद्यालयमा बसे। तीन दिनसम्म विद्यालयमा बसेपछि फेरि घर फर्किए।

सिमान्तकृत सन्थाल समुदायका सुनीरामको घरमा क्षति पुर्गेको छ। फुसको टाटी भत्किएको घरमा बस्न सक्ने अवस्था छैन। तर पनि बस्नैपर्ने बाध्यताले गर्दा उनको ५ जनाको परिवार जसोतसो बस्दै आएको छ। अझै पनि पानी आयो भने राम्रो छानो छैन।

नजिकैका छिमेकी बाढीपीडितहरुले राहत पाए। तर उनले अझै राहत पाएका छैनन्। विभिन्न सामाजिक संघ–संस्थाबाट राहत वितरणमा जानेहरु पनि त्यहाँ सम्म पुग्दैनन्। उनी भन्छन्,‘ नजिकैका छिमेकीले पाए, हामीले त केही पाएका छैनौँ अहिलेसम्म।’

ज्याला मजदुरी गरेर खाने आफूहरुलाई केही राहत उपलब्ध गराए धेरै सहज हुने बताए। उनले भने,‘ हामी त दैनिक ज्याला मजदुरीमा काम गरेर खाने, बाढी आएदेखि त काम पनि गरेको छैन, घरमा अलि–अलि भएको पनि बाढीले लग्यो।’

उनी मात्र होइन गौरीगञ्ज १ का कुञ्जिबारी, भन्सार, श्यालडांगी, सुकुम्बासी टोल र धानगाडा क्षेत्रका करिब ७५ घर परिवारले अझै राहत पाएका छैनन्। त्यस क्षेत्रका करिब १ सय ५० घरपरिवारले राहत पाएपनि उनीहरु भने छुटेका छन्।

भन्सार टोलकै कमला लिम्बुलाई पनि अहिले बस्नकै चिन्ता छ। छिमेकीहरुकोमा शरण लिएर बसिकेकी लिम्बुले एकपट राहत स्वरुप २० केजी चामल, १ लिटर तेल, बाल्टी तथा केही मात्रामा दाल पाएको बताइन्। ‘घरमा जोहो गरेको सबै बाढीसंगै बग्यो, यति राहतले त के नै पुग्छ र?’ उनले भनिन्।

उनले धेरैजसो राहतहरु झापा गाउँपालिका तिर गएको आरोप लगाइन्। ‘झापा गाउँपालिकामा हाम्रा आफन्‍तहरु छन्। उनीहरुले भनेको त्यहाँ त राहत बाँड्दै दैनिक आउँछन् रे। यहाँ त कोही आउँदैन। सबैलाई त्यहाँ मात्र क्षति भएको भन्ने परेको छ। हाम्रोमा पनि भएको छ तर कसैले देखेनन्।’

सोही ठाउँका मुन्डु हस्दा दैनिकजसो राहतको आशमा दैनिकजसो वडा कार्यालय धाउने गरेका छन्। तर उनले अहिलेसम्म राहत पाएका छैनन्। उनी भन्छन्,‘ अरु गाउँमा यति राहत आयो उति आयो भनेको चाँही सुनिन्छ। तर हामीले चाँही पाएको छैन।

कतै पाईन्छ कि भनेर यहाँ आएको छु,’ उनले एउटा पालसम्म दिए मात्र पनि घरमा छानो बनाउन पुग्ने बताए। ‘अब त सानो पानी आयो भनेपनि घरमा पानी पस्छ, एउटा त्रिपाल मात्र दिएपनि ओतसम्म त लाग्न सकिन्थ्यो,’ उनले भने।

भन्सार बस्तीकै सरिलाल ताजपुरीयालाई घर भत्केको चिन्ता एकातिर छ भने अर्कोतिर के खाने भन्ने चिन्ताले सताएको छ। ‘हामी दैनिक ज्याला मजदुरी गरेर खाने, सानो घर भएको त्यो पनि भत्कायो, त्यहाँदेखि हातमा काम नै आएको छैन, कसरी काम गर्ने र?’

यस्तै विभिन्न खोलाको पुल तथा बाटो भत्काउँदा स्थानीयलाई समस्या छ। ‘बाटोमा क्षति पुगेको छ। कनकाई सिंचाई आयोजनको नहरमा पनि क्षति छ। यस्तै साबिक महाभारा १ र २ जोड्ने खोलाको पुल बागाउँदा विद्यार्थीलाई समस्या भएको छ। उनीहरु दैनिक जोखिम मोलेर खोला तरेर विद्यालय जान बाध्य छन्।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.