|

चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्‍‍याएको थप एक गैंडालाई आज अपरान्ह भारतबाट उद्धार गरिएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार भारतको बाल्मिकी टाइगर रिजर्भ नजिकै रहेको जटाशंकर भन्ने स्थानबाट आज उक्त गैंडालाई उद्धार गरिएको हो।

मध्यान्न १२ बजेतिर डाट गरेर नियन्त्रणमा लिइएको अन्दाजी डेढ बर्षको उक्त भाले गैंडालाई खोरमा हाली ट्रकमा राखेर चितवन पठाइएको उनले बताए। ‘दिउँसो १ बजे होसमा आएको गैंडालाई साँझ पठाइएको छ,’ अर्यालले भने, ‘राति १–२ बजेतिर चितवन पुग्छ होला।’

उनले भोली बुधबार अनुकुल समय मिलाएर गैंडालाई चितवन निकुञ्जमा छाडिने जानकारी दिए। यससँगै बाढीले बगाएर भारत पुर्‍‍याएका ३ पोथी र एक भाले गरी ४ वटा गैंडालाई उद्धार गरी पुरानै बासस्थानमा फर्काइएको छ।

सोमबार भारतबाट उद्धार गरिएको एउटा वयस्क पोथी गैंडालाई आज बिहान मात्रै चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो। त्यस्तै भदौ २ गते र ५ गते पनि २ गैंडालाई उद्धार गरी निकुञ्जमा छाडिएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए।

गैंडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन्। भारतका स्थानीयले अर्को गैंडा पनि देखेको जनाएपछि अहिले उक्त गैंडाको खोजी गर्न निकुञ्जको एउटा टोली  भारत मै रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.