|

काठमाडौं : साझा प्रकाशनमा अनियमितता छानबिनका लागि गठित शिक्षा मन्त्रालयको समितिले साझामा अनियमितता भएको पुष्टि गर्दै महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा नेतृत्वको सञ्चालक समितिलाई हटाउन सिफारिस गरेको छ। 

साझामा भएको बेथिति र अनियमितता सम्बन्धमा समाचार प्रकाशित भएपछि मन्त्रालयले साउन १२ मा मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकाल, कानुन उपसचिव रेशम सिग्देल र लेखाअधिकृत भोलानाथ पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

छानबिनकै क्रममा समिति सदस्य पौडेलले भनसुन गरी श्रीमतीलाई जागिर खुवाएको पत्ता लगेपछि मन्त्रालयले १९ साउनमा उनलाई सो जिम्मेवारीबाट मुक्त गर्दै लेखाअधिकृत सुनिता खनाललाई ल्याएको थियो।

१५ दिनभित्र छानबिन गर्ने जिम्मा पाएको समितिले शिक्षामन्त्रीलाई ३० पृष्ठ लामो प्रतिवेदन बुझाउँदै साझाको वर्तमान सञ्चालक समिति हटाएर तत्काल कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

शर्मा अध्यक्ष रहेको सञ्चालक समितिमा मनोनिततर्फ एमाले नेता प्रदीप नेपाल, माओवादी नेता दिनानाथ शर्मा र डा. कृष्णहरि बराल सदस्य छन्। त्यस्तै निर्वाचित सदस्यमा पूर्वसभासद् विजय सुब्बा, हरिहर खनाल र जीवनचन्द्र कोइराला छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.