|
तस्विर : अन्नपूर्ण पोस्ट

बथनाहा (भारत) : बाढीले लिक नै भत्काएपछि विराटनगरलाई भारतको राजधानी नयाँदिल्ली र अन्य प्रमुख सहरसँग जोड्ने रेल्वे सेवा अनिश्चित समयका लागि बन्द भएको छ।

विराटनगरको सीमावर्ती भारतको जोगबनीबाट बथनाहासम्म करिब ६ किलो मिटर क्षेत्रमा अघिल्लो साता आएको बाढीका कारण रेल्वे ट्राक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन्। रेल सेवा ठप्प हुँदा भारतमा पढ्न जाने नेपाली विद्यार्थी, उताबाट सरसामान आयात गर्ने उद्योगी–व्यवसायी र उपचारमा जाने नेपाली मर्कामा परेका छन्।

नेपाली सीमासम्म चल्ने नर्थ इस्ट रेल्वे अन्तर्गतका रेल सेवा सञ्चालन हुने ठाउँको लिक, कल्भर्ट र पुल नै बगाएको स्थानीयले बताएका छन्। बथनाहा मिरगञ्जका स्थानीय मोहम्मद नाजले भने, ‘बाढी पसेर लिक भएको ठाउँमा एक मान्छेसम्मका गहिरा खाल्डा परेका छन्। लिक त सतहभन्दा ६ फिट माथिसम्म झुण्डिएको छ। यो मर्मत गर्न कति समय लाग्ने हो रु फेरि कहिलेदेखि रेल चल्ने हो निश्चित छैन।’

नाजका अनुसार बथनाहा र त्यस दक्षिणको भारतीय बजार फारबिसगञ्जसम्म धेरै ठाउँमा रेल्वे ट्रक बिच्छाइएको बाँध नै बाढीले भत्काएर फलामको लिक र त्यसलाई अड्याउन जोडिएको पक्की पिलर खाल्डोमाथि झुण्डिएका छन्।

जोगबनी रेल्वे कार्यालयका अनुसार नेपाली सीमाबाट भारतको राजधानी दिल्लीका लागि दैनिक एउटा बातानुकुलित सीमाञ्चल एक्सप्रेसले सेवा दिँदै आएको थियो। कलकत्ताका लागि हप्तामा तीनवटा र कटिहारका लागि दैनिक ५ रेल विराटनगर सीमाबाट छुट्ने तथा आउने गरेका थिए। ‘तर, बाढीको क्षतिका कारण रेल सेवा विगत ११ दिनदेखि बन्द छ’,जोगबनी भन्सार कार्यालयका सहायक आयुक्त पवन कुमारले भने, ‘रेल सेवा सुरु कहिले हुने भन्ने अनिश्चित नै छ। क्षतिको विवरण संकलन गर्ने कामसमेत सुरु नभएकोले यसै भन्न गाह्रो छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.