|

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन्। पुल अड्याउन निर्माण गरिएको पर्खालसँगैको ‘फाउण्डेसन’ बाढीले भत्काएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्। 

योे क्षेत्रमा पर्ने मानपुर र जोशीडिहवा गाउँबीच ओहोरदोहोर गर्ने अर्को विकल्प नभएपछि सर्वसाधारण यही जीर्ण झोलुंगे पुलबाट आवतजावत गर्ने गरेका छन्। पुलको पूर्वपट्टिको फाउण्डसेन बाढीले बगाएका कारण सर्वसाधारण  करिब २० फिट हाम फालेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बाढीले पुल समेत बगाउँनलाग्दा समेत सम्बन्धित निकाय मौन रहेको सर्वसाधारण बताउँछन्।  १२० मिटर लम्बाइको पुलको बीच भाग कोल्टे परिसकेकाले अावतजावत जाेखिमपूर्ण बनेको छ।

कृष्णनगर नगरपालिका–१२ अन्तर्गत मानपुर, जोशीडिहवा, बरइपुर, भदई, हथियागढ र नारायणापुर गाउँका करिब एक सय ५० घरका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न, नगरपालिकाको कार्यालयसम्म आउन, औषधोपचार गर्न अस्पताल जान लगायतका कामका लागि यो पुल तर्नुपर्छ। खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिना विद्यार्थीको पढाइ प्रभावित हुन्छ। पुल तर्ने क्रममा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई  निकै सास्ती हुने गरेको छ।

प्रायः चाप रहने इदगाहा घाटस्थित जीर्ण अवस्थामा रहेको झोलुंगे पुलको फाउण्डेसन यसअघि बाढीले बगाउँदा मर्मतको नाममा टालटुल पार्ने गरिएको थियो।आर्थिक वर्ष २०७१\७२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक सय २० मिटर लम्बाइको उक्त पुलको  फाउण्डेसन बर्सेनि बाढीले भत्काउने गरेको छ। ‘हामीहरू यही पुलको माध्यमबाट सदरमुकाम र भारत जानुपर्छ’, स्थानीय मोहम्मद इद्रिस पठानले भने,  ‘बाढी आउँदा कतिको ज्यानै गएको छ।’

जिल्ला विकास समितिमार्फत लुम्बिनी एकीकृत विकास संस्था (लिडो) नेपालको समन्वयमा उपभोक्ता समितिमार्फत यो पुल निर्माण गरिएको हो। पुलको फाउण्डेसनमा वरिपरि ढुंगाको पर्खाल लगाइए पनि बीचमा बालुवा मात्र भरिएकोले वर्षाको पहिलो बाढीले बगाएको हो।

पश्चिमाञ्चल क्षेत्रमा झोलुंगे पुलको निर्माण कार्यमा सहयोग गर्दै आएको बुटवल रूपन्देहीको 'ट्रेल ब्रिज सपोर्ट युनिट' (टीबीएसयू)को लगानीमा जिल्ला विकास समिति र लुम्बिनी एकीकृत विकास संस्थामार्फत उपभोक्ता समितिसँग समन्वयमा पुल निर्माण भएको थियो। 

पुल निर्माणका लागि ५४ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरी टीबीएसयूले जिल्ला विकास समितिलाई  माग गरे पनि उपभोक्ता समितिलाई  १९ लाख मात्र आएकाले भनेजस्ताे काम गर्न नसकेको उपभोक्ता समितिका अध्यक्ष सुदीप त्रिपाठीले जानकारी दिए। लागतको तुलनामा कम रकम उपभोक्ता समिति सामु आएकाकारण अनियमितता भएको हुनसक्ने कृष्णनगर नगरपालिका–१२ का वडाध्यक्ष छेदीप्रसाद यादवको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.