|
फाइल फोटो

नेपालमा सञ्चारमाध्यमको व्यापकतासँगै सर्वसाधारणमा सनातन हिन्दू संस्कार, संस्कृति र चाडपर्वमा समेत विभिन्न भ्रम फैलाइएको देखिन्छ। विज्ञको सट्टा अल्पज्ञान भएकाहरूसँग बुझ्ने र सबैभन्दा सजिलो मानिएको प्रविधि इन्टरनेटलाई आधार मान्ने गरेका कारण कतिपय तथ्य गलत पर्ने गरेका छन्। यसैगरी कुनै पनि संस्कृतिको राम्रो अध्ययनै नगरी पूर्वाग्रही ढंगले हेर्ने परिपाटीका कारण पनि समाजमा भ्रम फैलिएको छ। 

सन्दर्भ तीजकै हो। तीजको अघि र पछि यस विषयमा विभिन्न टिकाटिप्पणी चल्छ। सञ्चारमाध्यमबाट तीजबारे विभिन्न भ्रमपूर्ण तथ्य, लेख र समाचार प्रकाशित\प्रसारित हुन्छन्। तीजका विषयमा चल्ने गरेका भ्रमबारे यो सानो लेखमा चर्चा गरिँदैछ।

दरको नाममा अघिल्लो दिन बिहान, दिउँसो र बेलुकी सामान्य खाना र राति १२ बजेसम्मको दरले गर्दा कतिपयलाई भोलिपल्ट असह्य हुनेगरेको तथ्य एकातिर छ। फेरि भोलिपल्ट व्रत नै बस्ने हो भने त मासुलगायत शास्त्रले वर्जित गरेका खानेकुरा खानु शास्त्रविपरीत मानिन्छ।

व्रतको सन्दर्भ 
सनातन धर्मशास्त्रहरूमा व्रतका विभिन्न भेद बताइएका छन्। जुनसुकै धर्मकर्म गर्दा पतिपत्नी मिलेर गर्नू, पत्नीबाहेक पुरुषले एक्लै गरेका कुनै पनि कर्म फलदायी हुँदैन भन्ने सनातन धर्मको मान्यता छ। अर्थात् व्रत उपवास आदि कर्म पतिपत्नी मिलेर नै गर्ने हो। तीजको सन्दर्भमा कसरी महिलाले मात्र गर्ने व्रत भयो र पुरुष कसरी बाहेक हुनपुग्यो, यो मननीय छ। पुराणहरूमा व्रत वा अन्य कुनै पनि कार्य गर्दा पति र पत्नीको आपसी समझदारीमा व्रत बस्नुपर्ने र नसक्नेहरू वा अशक्तहरूको लागि निराहार बस्नु नपर्ने जस्ता व्यावहारिक पक्षहरू उल्लेख गरिएका छन्। 

हिन्दू धर्मका महत्त्वपूर्ण ग्रन्थहरू अत्रिसंहिता, विष्णुस्मृति, पराशरस्मृति र स्कन्दपुराण लगायत ग्रन्थमा व्रत बस्दा पतिपत्नी आपसी समझदारीमा बस्नुपर्ने बताइएको छ। धर्मग्रन्थका विभिन्न श्लोकहरूबाट पनि के प्रष्ट हुन्छ भने धर्मकर्मका लागि पति र पत्नीबीचको सम्बन्ध राम्रो हुनुपर्छ। हिन्दू धर्म अन्तर्गतका हाम्रा धर्मशास्त्रहरूले ‘शरीरमाद्यम् खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीर हेर वा शरीरको रक्षा गर अनि मात्र धर्म गर भनेका छन्। यसैकारण तीज मात्र नभई अन्य व्रत–उपवास बिरामी, गर्भिणी, वृद्ध एवं बालक र अशक्तहरूले आफ्नो अनुकुल हेरेर गर्न सक्छन्।

दरको सन्दर्भ
विशेषतः व्रत बस्ने अघिल्लो दिन सात्त्विक एक छाक खाने चलन अन्य व्रतहरूमा पनि छ  यसैकारण तीजको व्रतका लागि पेटले नै थेग्न नसक्नेगरी विशेष पदार्थ खानुपर्छ भन्ने केही पनि होइन। तर लामो समयपछि माइतीघरमा जम्मा भएका चेलीहरू मिलेर रमाइलो गरिने भएकाले घरमा उपलब्ध हुने नयाँ नौला र विशेष पदार्थहरू खाने चलन चलेको बुझ्न सकिन्छ। फेरि तीजको व्रतलाई अन्य व्रतभन्दा ‘भयंकर’ किसिमको बनाइँदा पनि भोलि दिउँसोभरि अड्नका लागि दह्रो पदार्थ खानुपर्छ भन्ने परम्परा बसेको देखिन्छ।

दरको नाममा अघिल्लो दिन बिहान, दिउँसो र बेलुकी सामान्य खाना र राति बाह्र बजेसम्मको दरले गर्दा कतिपयलाई भोलिपल्ट असह्य हुने गरेको तथ्य एकातिर छ। फेरि भोलिपल्ट व्रत नै बस्ने हो भने त मासुलगायत शास्त्रले वर्जित गरेका खानेकुरा खानु शास्त्रविपरीत मानिन्छ। हिजोआज चलेको एक महिना अघिदेखि दर खाने चलनको चर्चा सान्दर्भिक नहोला। 

तीजको व्रत कसका लागि ?
महिलावादीहरूको भनाइ छ– ‘अहिलेको जमानामा पतिका लागि व्रत बस्नाले हामी पछि पर्यौं’, ‘लोग्नेमुखी भयौं।’ ‘तीजजस्ता पर्वले हामीलाई पछि पार्यो।’ ‘पुरुषले चाहिँ हाम्रो सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् र!’ ‘पढेलेखेका महिलाहरू पनि पुरुषको दासत्व स्वीकार गर्दै व्रत बसे।’ ‘व्रत बस्दैमा लोग्नेको आयु बढ्ने भए...’आदि। 

कुनै व्यक्तिलाई व्रतलगायतका अन्य कार्यहरू आफूले चाहेको प्रक्रियाअनुसार गर्न छुट छ। कसैले पतिलाई देव मानेर उसको दीर्घायुको लागि व्रत बस्ला वा कसैले राम्रो पति पाऊँ भनेर बस्ला वा कसैले आफ्नै उन्नति प्रगतिको कामना गरेर व्रत बस्ला यो उसको आफ्नो अधिकारको कुरा हो। यसैगरी धर्मअन्तर्गतका व्रत तीर्थाटन आदि विषय भावनात्मक हुन्। कसैले भगवानसँग मेरो यस्तो होस् भन्ने कामना गर्दछ भने यसमा कसैको आपत्ति हुनुपर्ने किन? त्यसमाथि आजसम्म कुनचाहिँ पुरुषले मेरो नाममा व्रत बस भनेर निर्देश गरेको छ र? अनि फेरि व्रत बस्नेले पनि ‘लौ! मैले मेरो पतिको दीर्घायुको कामना गर्दै व्रत बसेँ है’ भन्दै किन झ्याली पिट्नुपर्यो!’

व्रत बस्दा श्रद्धा, विश्वास र आस्था प्रबल हुनुपर्‍यो। व्रत भनेको कसैलाई आफूले धर्म गरेको छु भनेर देखाउने कसी पक्कै पनि होइन।

व्रतको आलोचना
तीजको महत्व कसैलाई व्रत बसेर आफू र आफ्नो घरपरिवारको सुखशान्तिको कामना गर्नुमा होला। कसैलाई साथीसंगीसँग शिवालयमा गएर दिनभरिको घाम वा पानी सहेरै पूजाअर्चना गर्नुमा होला। कसैलाई घरमै बसेर बालुवाको उमामहेश्वर बनाएर पूजाआजा गरी ब्राह्मण पुरोहितबाट कथा सुनी दानदक्षिणा गर्नुमा होला। कसैलाई माइती गएर आमा दिदीबहिनी, साथीसंगीसँग भेटघाट गर्नुमा होला।

कसैलाई राता पहिरन लगाएर जमघटमा बसी ‘तीजको रहर आयो...’ भन्दै ढल्की ढल्की नाच्नुमा होला। सबैको एकैनासको बुद्धि, विवेक, क्षमता र इच्छा हुँदैन। जसले जसरी बुझ्छ वा जसरी सक्छ, त्यसलाई त्यसरी नै अपनाउँछ। 

व्रत बस्नेहरूकै सन्दर्भमा कसैले दिनभरि पानीसमेत नखाई बस्लान्। कसैले बिहान सबेरै मन्दिर गएर आई फलाहार गर्लान् वा कसैले बेलुकी पूजाआजा सकेर काँढापानी खाएर भोलिपल्ट पूर्णपात्र गरी व्रत सक्लान्। यो व्रतालुहरूको कुरा भयो। यसरी व्रत बस्दा मैले सक्छु कि सक्दिन होला वा भोको पेटमा पशुपतिमा गएर मध्याह्न घाममा छमछमी नाच्न मेरो स्वास्थ्यले दिन्छ कि दिँदैन भन्ने ख्याल महिलाले पुर्याउन सक्दैनन् र!

तीजको अवधि
तीजका विषयमा बोल्ने विज्ञलगायत सञ्चारकर्मीले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्को अवधिलाई तीज भनेको पाइन्छ। तर तीज र ऋषिपञ्चमी पर्व अलगअलग हुन्। एकै होइनन्। हरितालिका नाम दिइएको तृतीयामा मनाइने तीज उमामहेश्वरको आराधना गरिन्छ भने ऋषिपञ्चमीमा सप्तर्षिको पूजा। यी दुवै व्रतको उद्देश्य फरक–फरक रहेका छन् । तीज पर्व पारिवारिक सुखशान्तिको कामना गर्दै महिलाले लिन्छन्। प्रचलित ऋषिपञ्चमी व्रतविधि र कथालाई हेर्ने हो भने स्त्रीपुरुष दुवै मिलेर यो व्रत गर्न सकिने बताइएको छ।

तृतीया र पञ्चमीको बीचमा पर्ने गणेश चतुर्थीको पनि बेग्लै महत्त्व छ। यो दिन भगवान् गणेशको विशेष पूजा आराधना गर्ने विधान छ। त्यसैले सँगसँगै परे पनि भाद्र शुक्ल तृतीयाको तीज, चतुर्थीको गणेश चौथी र पञ्चमीको ऋषिपञ्चमी बेग्लाबेग्लै पर्व हुन्।

अन्त्यमा,
कुनै पनि व्यक्ति पानी समेत नखाई व्रत बस्न सक्छ भने के उसको भित्री दृढ शक्ति, भगवानप्रतिको आस्था र परिवारप्रतिको अगाध स्नेहको फल मान्न सकिन्न र! स्वास्थ्यको दृष्टिले पनि स्वस्थ मानिसका लागि एक दिन व्रत वस्नु शरीरको लागि फाइदाजनक रहेको भनाइ चिकित्सकहरूको पनि छ। एक दिन खाना मात्र होइन पानीसमेत नखाईकन व्रत वस्ने हो भने पनि केही फरक पर्दैन, किनभने त्यस दिनका लागि चाहिने पानी हाम्रो शरीरमै सञ्चित हुन्छ। 

यसै कारण व्रत बस्दा श्रद्धा विश्वास र आस्था प्रबल हुनुपर्‍यो। व्रत भनेको कसैलाई आफूले धर्म गरेको छु भनेर देखाउने कसी पक्कै पनि होइन। अर्को कुरा तीज पर्व सबैको हो यो सबैले मान्नुपर्छ भनेर विभिन्न तथ्यहरू(?) दिएर तीज हामी मनाउँदैनौ भन्नेलाई पनि भ्रममा पार्नु पनि उपयुक्त होइन।

आफ्नो धर्म–संस्कृति र परम्पराअनुसार कुनैपनि चाडपर्व मनाउँछु वा मनाउँदिन भन्ने अधिकार सबैमा छ। त्यसैले समावेशी बनाउने नाममा नभएका तथ्य प्रस्तुत गरेर अन्योलमा पार्नु  उपयुक्त नहोला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.