वास्तविक विद्यार्थी र विद्यार्थी उमेर समूहकै हुनुपर्छ

|

अबको विद्यार्थी आन्दोलन बारेमा कुरा गर्दा यो के का लागि र किन? भन्ने प्रश्न अगाडि आउँछ। त्यसपछि मात्र त्यसको स्वरुपको विषय उठ्ने हो। पहिलो कुरा, हिजोको भन्दा आजको विद्यार्थी आन्दोलन एजेण्डा र आवश्यकताको हिसाबले समेत निकै फरक ठाउँमा छ।

आज राजनीतिक एजेण्डाहरु विद्यार्थी संगठनले धेरै उठाउनु परेको छैन, त्यसका लागि राजनीतिक पार्टीहरु नै पर्याप्त छन्। शैक्षिक एजेण्डा तथा विद्यार्थीको हित र अधिकारकेन्द्रित अन्य मुद्दाहरुको सेरोफेरोमा नै आजको विद्यार्थी आन्दोलन घुमिरहेको छ। वास्तवमा हुनुपर्ने पनि त्यस्तै हो। हिजोको भन्दा आज हाम्रो आन्दोलनको स्वरुप बदलिएको छ। हिजो साना साना कुरामा संघर्ष गर्नुपर्थ्यो भने पनि बन्द हड्तालको आह्वान भइहाल्थ्यो। तर आज त्यस्तो छैन। आज वार्ता, संवाद, दबाव, प्रदर्शन, धर्ना र अनशन जस्ता संघर्षका रुपहरुले नै धेरै मुद्दाहरुको संवोधन गरिरहेको छ।

विद्यार्थी संगठनहरुको आह्वानमा आम हड्ताल नहुँदा, चक्काजाम र नेपाल बन्द नहुँदा, सडकका रेलिङ नभाँचिदा कतिपयलाई विद्यार्थी आन्दोलन साँच्चै कमजोर पो भयो कि भन्ने लागेको हुन सक्छ। अहिले विद्यार्थी आन्दोलन कमजोर भएको छैन बरु संयमतासहित मुख्यतः शैक्षिक एजेण्डाहरुमा केन्द्रित भएर अगाडि बढिरहेको छ।

राज्यको सुझबुझपूर्ण कार्यले पनि आन्दोलनलाई अराजक हुन र भड्किन दिएको छैन। आन्दोलनको आह्वान हुनासाथ वार्तामा बोलाएर समस्याको समाधान खोज्ने प्रवृत्ति राज्यसत्तामा थोरै भए पनि विकास हुन थालेको हो कि जस्तो आभास भएको छ। यसले विद्यार्थी आन्दोलनको भावी स्वरुप कस्तो हुने भन्ने कुरालाई इंगित गरेको छ।

अबको विद्यार्थी आन्दोलन आफ्नो पार्टीको होस् या अरुको, जनविरोधी र गलत प्रवृत्ति बिरुद्ध तुरुन्त प्रतिवाद गरिहाल्ने किसिमको हुनुपर्छ। शैक्षिक एजेण्डामा मात्र होइन आम गरिखाने जनताका विरुद्ध हुने सबैखाले गतिविधि विरुद्ध बोल्नुपर्छ विद्यार्थी आन्दोलनले।

वास्तवमा अबका दिनमा पनि विद्यार्थी आन्दोलन गलत कुराको प्रतिवाद गरिरहने प्रति पक्षीय नै हुनुपर्छ। शैक्षिक निजीकरण, व्यापारीकरण र माफियाकरणका विरुद्ध नीतिगत र कार्यान्वयनको तहमा निर्ममतापूर्वक संघर्ष गर्ने खालको हुनुपर्छ। शिक्षालाई उत्पादनसंग जोड्ने, सार्वजनिक शिक्षाको स्तरोन्नति गर्ने, उच्च शिक्षामा आमजनताका छोराछोरीको पहुँच वृद्धि गर्ने, नेपाललाई इञ्जिनियरिङ र मेडिकल शिक्षाको हबको रुपमा विकास गरी विदेशी विद्यार्थी भित्र्याउने विषयमा विद्यार्थी आन्दोलनलाई केन्द्रित गर्नुपर्छ।

त्यस्तै देशको आवश्यकता अनुकुलको कृषि तथा वन विज्ञान, जडिबुटी, पर्यटनजस्ता बिषयहरुमा व्यवहारिक कोर्सहरुको विकास गरी दक्ष जनशक्ति उत्पादन गर्ने, शिक्षालाई जीवन व्यवहार र प्रविधिसँग जोड्नेजस्ता सकारात्मक र रचनात्मक कुरामा वा समाजवादी शिक्षालाई कार्यान्वयन गर्ने कुरामा अबको विद्यार्थी आन्दोलनले आफूलाई फोकस (केन्द्रित) गर्नुपर्छ।

कस्तो बनाउने अखिल क्रान्तिकारी?

क्रान्तिकारी विद्यार्थी संगठन सार अनुसारको रुप भएको हुनुपर्छ। समाजवादी शिक्षा कार्यान्वयन गर्ने आन्दोलनको कार्यदिशा भएपछि त्यसको संगठनात्मक स्वरुप पनि त्यही अनुरुपकै हुनुपर्छ। विद्यार्थी र शिक्षण संस्था केन्द्रित तहगत संरचनाहरु, कार्यकारी संरचनाहरुको स्वतस्फुर्त र चुस्त दुरुस्त कार्यप्रणाली तथा साधारण तथा संगठित सदस्यताका आधारमा संगठनात्मक प्रतिनिधित्वको व्यवस्था नै आजको क्रान्तिकारी विद्यार्थी संगठनको संगठनात्मक ढाँचा हुनुपर्छ।

संगठनात्मक विधिद्वारा कसिलो गरी बाँधिएको र फलामे अनुशासन लागू गर्न सक्ने वास्तविक विद्यार्थी (नियमित विद्यार्थी) हरुको संगठन नै क्रान्तिकारी बिद्यार्थी संगठन हो, जसले विद्यार्थी उमेर समूहको प्रतिनिधित्व गरोस्।

त्यसैगरी शैक्षिक माफियाका बिरुद्ध संघर्ष गर्ने संगठनले शैक्षिक माफियासंग चन्दा लिएर चल्नुपर्ने परिस्थितिबाट मुक्त हुनुपर्छ। क्रान्तिकारी विद्यार्थी संगठनसंग आफ्नै पारदर्शी आर्थिक प्रणाली हुनुपर्छ, नियमित गरिने संगठनात्मक काम र संघर्षको योजनासहितको बार्षिक क्यालेन्डर हुनुपर्छ, अनि गुण र दोषका आधारमा, क्षमता, प्रतिभा र सक्रियताका आधारमा मुल्यांकनको परिपाटी र नेतृत्व बिकासको बैज्ञानिक विधि हुनुपर्छ।   

भावी नेतृत्वबारे

अखिल (क्रान्तिकारी) को भावी नेतृत्व समाजवादी शिक्षासहितको विद्यार्थी आन्दोलनको कार्यदिशा लागू गर्न सक्ने र संगठनात्मक विधिलाई कार्यान्वयन गर्नसक्ने एक कुशल संयोजनकारी व्यक्ति हुनुपर्छ। सफा राजनीतिक पृष्ठभूमि भएको, सिद्धान्तनिष्ठ कार्यशैली भएको, आर्थिक रुपमा पारदर्शी र शैक्षिक माफियाहरुसंग नबिक्ने क्रान्तिकारी निष्ठा र इमान बोकेको व्यक्ति हुनुपर्छ। र, मुख्य कुरो क्रान्तिकारीको भावी नेतृत्व वास्तविक विद्यार्थी र विद्यार्थी उमेर समूहको हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.