|

काठमाडौं : भारतको पाँच दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यहाँकी विदेशमन्त्री सुष्मा स्वारजले स्वागत गरेकी छन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा स्वराजको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री देउवासहितको टोलीलाई स्वागत गरेको हो। विमानस्थलबाट प्रधानमन्त्री देउवा सिधै राष्ट्रपति भवन गएका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारको ट्विट

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार बुधबार नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन्।

प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई बुधबार नै सम्बोधन गर्नेछन्।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई समकक्षी मोदीले औपचारिक समारोहका बीच स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्ने भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ। दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नेछन्, भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ।

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन्। सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतको राजकीय भ्रमण पूरा गरेर प्रधानमन्त्री देउवा यही भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.