|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ। पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको हो।

बैठकले आगामी मंसिर १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

'संविधान संशोधन विधेयक असफल भइसकेपछि मुलुक नयाँ कोर्समा अघि बढेको छ', सचिव ज्ञवालीले भने, 'यो परिवर्तित सन्दर्भमा प्रदेश नम्बर २ को चुनावसहित मंसिर १० गते तय गरिएका दुबै चुनाव सम्पन्न गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेका छौँ।'

एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी, नेपाललाई पुनः आह्वान पनि गरेको छ। लोकतन्त्रको सुदृढिकरणका लागि पनि राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी हुन पुनः आह्वान गर्नु परेको सचिव ज्ञवालीले स्पष्ट पारे।

एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ। दल दर्ताका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई अख्तियारी दिइएको सचिव ज्ञवालीले जानकारी दिए। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आगामी आइतबारसम्म दल दर्ता गरी सक्न आह्वान गरेको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ ११ गतेसम्म दल दर्ता गर्न सूचना जारी गरेको छ। एमालेले संस्थागत निर्णय गरी भदौ ९ गते दल दर्ता जानकारी ज्ञवालीले दिए।

एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्दै आएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले तराईमा २० हजार घर परिवारलाई आवास बनाउने कार्यक्रम अघि नबढाएको भन्दै सरकारको आलोचना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.