अखिल (क्रान्तिकारी) को एकताको २१ औ राष्ट्रिय सम्मेलन

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै क्षमता  र योग्यताको बलमा नेता बन्न विद्यार्थीहरुलाई सुझाव दिएका छन्। उनले नेता बनाइदिन माग गर्दै हेडक्वाटर धाउने परम्परा अन्त्य हुनुपर्ने बताए।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित अखिल क्रान्तिकारीको २१ औं महाधिवेशनको उद्‍घाटन कार्यक्रममा प्रचन्डले सभ्य र स्वस्थ्य ढंगबाट प्रतिस्पर्धा गर्न विद्यार्थीहरुलाई आग्रह गरे। 'पार्टीले सहमति बनाइदिओस् भनेर तपाईहरु नआउनुहोला। आफैं सहमति गर्नुहुन्छ भने ठिक छ।  सहमति गर्न सक्नुहुन्न प्रतिस्पर्धाको तयारी गर्नुस्। तर तपाइहरु बीचको प्रतिस्पर्धा एउटा सीमाभित्र रहनुपर्छ,' उनले थपे,' एउटा मुल्य र मान्यतामा अडिग रहेर तथा आफ्नो उदेश्यप्रति समर्पित भएर रगतको भेलमा पौडी खेलेर आएकाहरुको संगठन हो, अखिल क्रान्तिकारी।  एमाले र कांग्रेस जस्तो एउटाले अर्कोलाई नांगेझार पार्ने र एउटाले अर्कोलाई खुइल्याउने गरी प्रतिस्पर्धा नगर्नुहोला। सभ्य र नैतिकतामा रहेर चुनाव गर्नुहोला।'

माओवादी केन्द्रका २५ जनवर्गीय संगठन र ८ सहायक संगठनमध्ये अहिलेसम्म कुनै पनि संगठनमा चुनाव भएको छैन। त्यसैले विद्यार्थी संगठनमार्फत माओवादीमा नेतृत्व छान्ने अभ्यासको थालनी गर्नका लागि प्रचण्डले अनुमति दिएका छन्। सहमतिका आधारमा नेतृत्व छान्ने वा चुनावमा आधारमा भन्ने निर्क्यौल महाधिवेशनले नै गर्नेछ।

वाईसिएल 'मिनी पार्टी'

अध्यक्ष प्रचण्डले वाईसिएलको महाधिवेशनमा पार्टीले हस्तक्षेप गरेको खुलासा गरेका छन्। भदौ ४ र ५ गते भएको वाईसिएलको महाधिवेशनबाट रामप्रसाद  सापकोटा दिपशिखा अध्यक्षमा सर्वसम्मत चुनिएका थिए। अध्यक्ष प्रचण्डले वाईसिएल पार्टीको भातृ संगठन नभइ महत्वपूर्ण सहायक संगठन अर्थात 'मिनि पार्टी' समान भएका कारण सहमतिमै अध्यक्ष चयन गर्न नेतृत्वले निर्देशन दिएको बताए।

उनले सबै माओवादी घटकहरु छिट्टै नै ध्रुविकृत भएर गोलबद्ध हुने दाबी गरे। प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा माओवादीले सबैभन्दा धेरै सिट ल्याउने उनको दाबी छ। उनले चुनावमा केन्द्रित हुन र पार्टीलाई पहिलो बनाउने गरी गरी योजना बनाउन युवा विद्यार्थीलाई निर्देशन पनि दिए। 

पुष्पकमल दाहालबाट फेरि प्रचण्ड बन्छु

पूर्व प्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रियामा आएपछि आफुलाई प्रचण्डबाट च्यूत गराएर पुष्पकमल दाहाल मात्र बनाउन धेरै शक्ति लागेको बताए। हुन त म प्रचण्ड नै हुँ। तर मलाई प्रचण्डवाट च्यूत गराउन धेरै कसरतहरु गरियो। मेरा केही कमजोरीले पनि उनीहरुलाई योगदान गरे। मैले एकचोटी फेरी प्रचण्ड बन्ने संकल्प गरेको छु।'

प्रचण्ड भनेको एउटा व्यक्ति मात्र नभइ सिंगो आन्दोलन भएको उनको दाबी छ। 'प्रचण्ड भनेको तपाइहरु हो। नेपालका उत्पिडित जाती, क्षेत्र, लिंग र समुदाय प्रचण्ड हुन्। हजारौं र शहीद र बेपत्ता योद्धाहरु प्रचण्ड हुन्,' उनले भने।

४२ मिनेट सात सेकेण्डसम्म सम्बोधन गरेका प्रचण्डले माओवादीहरु टुट फुट र विभाजित हुँदाको फाइदा यथास्थितिवादी र प्रतिक्रियावादीले उठाएको बताए। उनले माओवादी आन्दोलन विभक्त हुँदा प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिले मुन्टो उठाउन थालेको बताए।

'पहिले-पहिले माओवादी भन्ने बित्तिकै यथास्थितिवादीको सातो जान्थ्यो। तर बीचमा उनीहरुले हामीलाई निकै नै हेयको दृष्टीले हेर्न थाले,'प्रचण्डले भने,'माओवादी ध्रुविकरण र एकीकरणको दिशामा अघि बढेपछि फेरी तिनीहरूको सात्तो उड्न थालेको छ। यो खुसीको कुरा हो।'

यसकारण आएन स्थानीय निर्वाचनमा राम्रो नतिजा

अध्यक्ष प्रचण्डले पार्टी विभाजन, आदर्शको स्खलन र संगठन निर्माणमा देखिएका कमजोरी माओवादीले स्थानीय तहको निर्वाचनमा कम मत ल्याउनुको प्रमुख ३ कारण रहेको बताए। ' पहिलो पार्टी बिभाजन, दोश्रो माओवादी आदर्शको स्खलन र तेश्रो संगठन निर्माण गर्ने मुल्य मान्यतामा आएको ह्रास। यीनै ३ कारणले गर्दा अपेक्षित मत प्राप्त गर्न सकिएन,' उनले भने।

कार्यक्रममा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा 'बादल', पम्फा भुषाल लगायतका पार्टीका वरिष्ठ नेतासहित थुप्रै युवा तथा विद्यार्थीहरुको सहभागिता थियो।कार्यक्रममा वाईसिएल अध्यक्ष दिपशिखा,महिला अध्यक्ष अमृता थापा मगर र संगठनका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले शुभकामना दिएका थिए। त्यसैगरी नेपाल विद्यार्थी संघका नैनसिंह महर, अनेरास्ववियूकी नविना लामा, राजपाका विद्यार्थी नेता मनिष मिश्र, अखिल पाँचौंका  घनश्याम विष्ट, मधेसी विद्यार्थी फोरमका कलेश्वर यादव र समाजवादी फोरमका विवेक राइले सम्मेलन सफलताको शुभकामना दिए।

बुधवारबाट सुरु भएको राष्ट्रिय सम्मेलन आइतबारसम्म चल्ने आयोजकले जनाएको छ।  सम्मेलनमा भाग लिन देशभरबाट १९ सय प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। 

महाधिवेशनमा नयाँ अध्यक्षका लागि ६ जना प्रत्यासी रहेका छन्। वर्तमान उपाध्यक्षहरू अनिल शर्मा, मदन अर्याल, रामचन्द्र अधिकारी (आरसी), रञ्जित तामाङ, पञ्चा सिंह, र महासचिव वीरेन्द्र बस्ने अध्यक्षका दाबेदार हुन्।

याे पनि हेर्नुहाेस् : अखिल क्रान्तिकारीको अध्यक्षमा क-कसको दाबी?
Read more at: http://thahakhabar.com/news/20908

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.