|

विराटनगर : जोगबनीबाट आयात/निर्यात ठप्प भइरहेका बेला नेपाल र भारतका अधिकारीबीच आज (बिहीबार) देखि सुनसरीको भन्टाबारी–भीमनगर नाकालाई वैकल्पिक नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको छ। उक्त नाका औद्योगिक सामान आयात–निर्यातका लागि प्रयोग गरिनेछ। 

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त पहलमा बुधबार भएको नेपाल–भारतबीचको छलफलले यस्तो सहमति जुटाएको हो। नेपाल सरकारका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, विराटनगर भन्सार कार्यालयका अधिकृत र भारत सरकारका तर्फबाट जोगवनी भन्सारका डेपुटी कमिसनर पवन कुमारबीच यस्तो सहमति भएको हो।

भारत विहारको फारवीसगञ्ज–जोगवनी सडक मार्गमा पर्ने परमान नदीको मिरगञ्ज पुल बाढीले क्षतिग्रस्त भएपछि वैकल्पिक मार्गका लागि यो नाका छानिएको हो। भारत तथा तेस्रो मुलुकको आयात निर्यातका लागि मेरुदण्डको रुपमा रहेको विराटनगर नाका पुल नबनेसम्मका लागि भन्दै भारत प्रशासनले बन्द गराएको छ। नाका बन्द भएका कारण सुनसरी र मोरङका उद्योगलाई कच्चा पदार्थ तथा उत्पादित वस्तु आयातमा कठिनाइ भएको छ।

उक्त पुलको मर्मत सम्भार नहुञ्जेलसम्म आयात निर्यातलाई सहज बनाउन विकल्पको रूपमा रहेको भन्टाबारी–भीमनगर छोटी भन्सार प्रयोग गर्न पाउने अनुमतिका उद्योगीले माग गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.