|

गुल्मी : इस्मा गाउँपालिकाकी ६५ वर्षीया देवकला थापा अचेल बज्ने तिजका गीत सुन्न सक्दिनन्। ‘तिजका गीत पनि कस्ता आउन थाले’, उनले भनिन्, ‘सुन्न पनि लाज लाग्न थाल्यो।’ उनका पालामा तिजमा गाइने गीत मौलिक हुन्थे। घरव्यवहारमा वर्षभरि भोगेका पीडा गीतमा पोखिन्थे। 

घरमा सासुले दुःख सँगालेर राखेर संगीसाथी भेट हुँदा मनको बह पोख्ने माध्यम थियो, तिजमा गाइने गीत। सहरी क्षेत्रमा मात्र होइन पछिल्लो समय तीजमा विकृति बढेको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना र कपडा प्रदर्शन गने चलन यहाँ पनि आइसकेको छ। नयाँ पुस्ताको यस्तो चलनप्रति पाकाहरू चिन्ता व्यक्त गर्छन्। 

‘गीतहरूसँगै लगाउने, खाने पनि चलनमा पनि विकृति आयो’ देवकला भन्छिन्, ‘व्रत बस्ने दिन आड होस् भनेर दिदीबहिनी जम्मा भई दर खाने गरिन्थ्यो। अहिले त एक महिना अघिबाट खान थाले।’

तिजका गीतहरुमा महिलाहरुले भोगेका आफना वेदना पोख्ने चलन हट्दै गएकोप्रति रेसुंगा नगरपालिकाकी ५४ वर्षीया सुमित्रादेवी अधिकारीले गुनासो गरिन्। हाम्रा पालामा टीभी, मोबाइन थिएनन् उनले भनिन् ‘हामीले पनि आफूभन्दा पुराना पुस्ताका गीतहरु सुनेका आधारमा गाउने गर्थ्याैं।’ अहिलेका पुस्ताले गीत गाउन पनि छाडे उनले भनिन् ‘टीभी माबवाइलमा व्यस्त हुन्छन्।’ 

उनले पुरानो भाकाको एउटा गीत सुनाउँदै भनिन्, ‘बाबाको आगनीमा कावली लायो कदमको छायाँले, सातैर डाँडा काटेर आए आमा तिम्रो मायाले।’ ‘मेरा बाबा हुदा हुन त चोलिया दाइजो दिँदा हुन्, ल्याउन भाउजु जोडी परेवा, सिरानी राखुँला कामलीले ढाकुँला परेवाको डाको सुनी बिहानै उठुँला।’  

‘कतै गीतहरु गाइए पनि हाम्रो संस्कृति परम्पराका अनुकूल छैनन् नयाँ पराका गीत गाउँछन्’, अधिकारीले भनिन्, ‘अब नयाँ पिँढीले पुरानाबाट केही सिक्नुपर्छ संस्कृति जर्गेर्ना गर्नलाई।’ समाज परिर्वतन भए पनि चाडपर्वको मौलिकता भने फेरिन नहुने उनको भनाइ छ। 

पहिला जस्तै सासुले बुहारीलाई हेप्ने, खान नदिने, लगाउन नदिने जस्ता व्यवहार अहिले त्यति देखिँदैनन्। तिजमा पहिलेजस्तै विभिन्न ठाउँमा भेला भएर गीत गाउने नाच्ने चलन हराएको छ। पछिल्लो समयमा तिज आउनुभन्दा पहिलेदेखि नै दर खाने गीत गाउने गर्नाले पनि तिजको रौनक हराएको बुझाइ छ, पुरानो पुस्ताको।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.