|
फाइल फोटोः थाहाखबर

भक्तपुर : नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्।

रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा आचार्यले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्ने बताए। आचार्यले भने, 'पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन्।' 

उनले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासङ्घले पहिलो मुद्दा बनाउने बताए।

महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले महासङ्घलाई कुनै पार्टी र व्यक्तिको घर नभइ पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गरे।

महासङ्घका महासचिव रमेश विष्टले महासङ्घले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताए। उनले साना लगानीका सञ्चारमाध्यमलाई सक्षम बनाएर अगाडि बढ्न सहयोग गर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखा अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले महासङ्घले गैरपत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजीवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.