|

काठमाडौं: पछिल्लो केही दिनदेखि काठमाडौंमा हरियो तरकारीको मूल्य निरन्तर बढेको छ। चाडपर्वको समयमा तरकारीको भाउ महंगिँदा सर्वसाधारण समस्यामा परेका छन्। 

कतिपय तरकारीमा एक महिनामा तीन गुणाले मूल्य बढेको छ। गत साउन ९ गते कालीमाटी तरकारी बजारमा ठूलो गोलभेडाको मूल्य किलोको ४५ रुपैयाँ थियो। सेतो आलु २५, बन्दा २५, लौका ५५, हरियो प्याज १०५, हरियो खुर्सानी ५५,घिउसिमी ७५ रुपैयाँ थियो। तर, एक महिना पछि अर्थात भदौ ८ गते ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो १२५ पुगेको छ। सेतो आलु ३५, बन्दा ४५, हरियो खुर्सानी ७५, घिउसिमी ११०, लौका ६५, हरियो प्याज १०६ रुपैयाँ मूल्य तोकिएको छ।

यी तरकारीको मूल्य प्रत्येक दिन बढिरहेको छ। मंगलबारको तुलनामा विहीबार ठूलो गोलभेँडा प्रतिकिलो १०, हरियो खुर्सानी २०,काँक्रो २० रुपैयाँले वृद्धि भएको छ।

के कारणले बढेको बढ्यै छ मूल्य?

सरकारी अधिकारी तथा व्यवसायीहरु अहिले तरकारीको मूल्य बढ्नु स्वभाविक भएको प्रतिक्रिया दिन्छन्। 'दिनदिनै तरकारी मूल्य बढेर आएको छ, बाढी–पहिरो, तराइका क्षेत्रमा डुवान हुनु जस्ता कारणले गर्दा मूल्य बढेको हो' तरकारी व्यवसायी आनन्द पोखरेलले भने। उनले केही दिनमा तरकारीको मूल्यमा कमी आउने आशा व्यक्त गरे। 

उपभोक्ता अधिकारकर्मीहरु भने अहिले तरकारीको मूल्य अस्वभाविक ढंगले बढेको तर्क गर्छन्। 'अहिले हरियो तरकारी सिजन हो, तर मूल्य बढेको बढ्यै छ,बढ्नुपर्ने कारण केही छैन' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने। उनले काठमाडौंमा खपत हुने तरकारी हेटौंडा, नुवाकोट, धादिङ र ललितपुरबाट उत्पादन हुने भएको कारण पनि मूल्य बाढी पहिरोको असर तकरारीमा देखिनु नपर्ने बताउँछन्। चाडपर्वको समयमा मनपरी रुपमा व्यवसायीले मूल्य बढाएको उनको तर्क छ।

उता कालीमाटी तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडल हरियो तरकारी बजार माग र उत्पादनकै भरमा मूल्य तलमाथि हुने बताउँछन्। उनले निरन्तरको वर्षाको कारण नै तरकारीको मूल्य बढेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.