|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। बुधबार र बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय चुनावमा सहभागी हुने निर्णय गरेको हो।

यसअघि मंगलबार र बुधबार बसेको पदाधिकारी बैठकले चुनावमा भाग लिने वा नलिने बारे निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई दिएको थियो। सोही अनुसार अध्यक्ष मण्डलले चुनावमा भाग लिने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए। बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजपाले चुनावमा सहभागी हुनुको ६ वटा कारण दिएको छ।

१. मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले सहिद घोषणा गर्नु।

२. मधेस आन्दोलनमा घाइते र अंगभंग भएकालाई आजीवन आर्थिक सहयोग गर्न सरकार तयार हुनु।

३. मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुलाई लगाइएको राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिन सरकार तयार हुनु।

४. मधेस आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीको आदिबाट भएको भौतिक क्षतिको क्षतिपूर्ति दिन सरकार तयार हुनु।

५. सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या १२७ बाट बढाएर १३६ पुर्‍याउनु।  

६. संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्नु।

साइकल चुनाव चिह्न लिने

आगामी असोज २ गते प्रदेश नम्बर २ को स्थानीय चुनावमा राष्ट्रिय जनता पार्टीले साइकल चुनाव चिह्न लिएर सहभागी हुने भएको छ। पार्टीले छाता चुनाव चिह्नका लागि पहल गरे पनि प्राविधिक कारणले निर्वाचन आयोगले दिन नमिल्ने बताएपछि साइकल चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको हो।

तराई मधेसमा क्रियाशील ६ वटा पार्टीबीच एकता भएर बनेको राजपाले ती ६ मध्ये जुनसुकै पार्टीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने थियो। त्यसमध्ये तत्कालिन राष्ट्रिय मधेस समाजवादी पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन लागेको हो।

८ जिल्लामा ८ नेता खटिए

राजपाले उम्मेदवार चयनका लागि पार्टीका ८ जना नेतालाई प्रदेश २ का ८ नेतालाई खटाएको छ। को नेता कहाँ खटिए? 

सप्तरीमा वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरी

सिरहामा उपाध्यक्ष गजाधर यादव

महोत्तरीमा उपाध्यक्ष गोविन्द चौधरी

धनुषामा कोषाध्यक्ष अरुण सिंह

सर्लाहीमा वरिष्ठ उपाध्यक्ष शेखर सिंह

रौतहटमा उपाध्यक्ष सत्यनारायण मण्डल

बारामा उपाध्यक्ष मालामती राना थारु

पर्सामा उपाध्यक्ष विजय गुप्ता

राजपाले भदौ ९ गतेदेखि नै उम्मेदवार चयन प्रक्रिया सुरु गर्ने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए। भदौ १३ गतेसम्म सहमतिमा उम्मेदवार चयन नभए अध्यक्ष मण्डललाई जानकारी दिन आग्रह गरिएको उनले बताए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ९० प्रतिशत जनताले समर्थन गरेको भनिएको संविधानलाई संशोधन गर्ने पक्षमा ६४ प्रतिशत जनमत देखिएको बताए। संशोधन विधेयक निर्णयार्थ पेश हुँदा त्यसको पक्षमा ६४ प्रतिशतले मतदान गरेकोले यो औचित्यपूर्ण नै देखिएको ठाकुरले दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.