|

ओखलढुंगा : जिल्लाको एक विद्यालयमा झगडा गर्ने ८ जना विद्यार्थीविरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। भदौ ४ गते आइतबार विद्यालयमा झगडा गरेका विद्यार्थीको दुई समूहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

विद्यार्थीहरुबीच भएको झगडा शिक्षकहरुले छुट्याउन नसकेपछि शान्ति सुरक्षाको लागि विद्यालयले प्रहरी बोलाएको थियो। विद्यालयको पत्रका आधारमा सदरमुकामस्थित सगरमाथा जनता उच्च माविको कक्षा ११ मा अध्ययनरत आठ जना विद्यार्थीलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको हो।

अहिले विद्यार्थीहरु हिरासतमा छन्। विद्यालयमा पठनपाठन चलिरहेको समयमा दुई पटक झगडा गरेपछि विद्यालयले नै प्रहरीलाई पत्र लेखेर आवश्यक कारबाही गर्न भनेको थियो। पत्रको आधारमा विद्यालयबाटै पक्राउ गरिएका उनीहरुविरुद्ध आइतबार नै प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए।

पक्राउ पर्नेहरुमा कक्षा ११ मा अध्ययनरत मानेभञ्ज्याङ गाउँपालिका ४ का रेन्जिङ लामा, शम्शेर तामाङ, आकाश तामाङ, जीवन तामाङ, नवीन तामाङ, नवीनकुमार तामाङ, सिद्धिचरण नगरपालिका ११ का सुजन राई र निरज राई रहेका छन्। मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुके र सिद्धिचरण नगरपालिका ११ सोब्रुटोलका विद्यार्थीहरुबीच यसअघि पनि झगडा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.