|

जुम्ला : जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १ गते सिफारिस दिएपछि जुम्लाबाट स्याउ धमाधम निर्यात हुन थालेको छ। भदौ १ गते कृषिले स्याउ निर्यातका लागि सिफारिस दिने र स्याउ टिप्न किसानहरुलाई सूचना जारी गरेको थियो।

स्याउको दानामा रंग र रस भरिएपछि मात्र स्याउ खानलाई स्वादिलो हुने भनेपछि किसानहरुले पनि भदौ १ गतेदेखि स्याउ संकलन गरेर बिक्री गर्दै आएका छन्। गत वर्षभन्दा स्याउ उत्पादन कम भएकोले स्याउको माग बढ्दो र भाउ महंगो भएको व्यापारीहरुले बताएका छन्।

किसानको बगैँचामा पुगेर १ किलोको ६० रुपैयाँ हालेर स्याउ किनेको व्यापारी रामकृष्ण चौलागाईले बताए। उनले अहिलेसम्म आफूले ६५ मेट्रिक टन स्याउ खरिद गरेको बताए। खरिद गरेको स्याउमा ४० मेट्रिक टन ग्रेडिङ्ग गरेको र २५ मेट्रिक टन कमसल खालको रहेको उनले जनाए।

पहिलो पटक स्याउ काठमाडौं लिन थालेका उनले २० लाखको स्याउ संकलन र ग्रेडिङ्ग गरेको बताए। ‘मैले खरिद गरेको स्याउमा अर्गानिक स्याउको ८ वटा गाडी काठमाडौं भित्रिन्छ र मैलै काठमाडौंं ताहाचलमा रहेको अम्बे ट्रेडिङमा होलसेलमा १२० रुपैयाँमा बिक्री गर्छु,’ उनले भने। तर सबैले स्याउ ग्रेडिङ गरेर नलगेको उनको भनाइ छ। यसले गर्दा स्याउ व्यापारी घाटामा जाने उनले बताए।

अनुदानमा ल्याएको ग्रेडिङ मेसिन जिल्ला सहकारी संघमा थन्केकोले हातले स्याउ ग्रेडिङ गरेको उनले बताए। ग्रेडिङ गर्दा छानिएका कमसल खालको स्याउ भने आफ्नो आर.के.स्याउ प्रशोधन तथा फलफुल डिस्टीलरी उद्योगका लागि काम आउने उनको भनाइ छ। कार्टून पनि उनले आफ्नै उद्योगको नामबाट बनाएको जनाएका छन्।

यता स्याउ किसान छक्कबहादुर शाहीले आफूले मात्रै ५० क्वीन्टल स्याउ बेचेको बताए। बगैंचामा व्यापारी आएर ६० रुपैयाँ किलोको दरले स्याउ किन्दा आफूलाई ३ लाख रुपैयाँ आम्दानी भएको उनले बताए। ‘परिश्रमको फल राम्रै पाइयो, बगैँचामा नगद ३ लाख बुझियो,’ खुसी हुँदै उनले भने। भुँइ छुने गरी फलेका जुम्लाका स्याउका रुख एक हप्ताभित्रै रित्तिएका छन्। छोटो समयमै जुम्लामा स्याउ पाइन छोडेको छ।

अझ स्याउ राम्रो हुनका लागि भदौै दोस्रो हप्तादेखि टिप्न ठिक हुने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक खेमराज शाहीले बताए। प्राविधिक सहायक शाहीले अहिले सम्म ५४२ मेट्रिक टन स्याउ जुम्लाबाट बाहिरिएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.