|

 

भक्तपुर : भाद्र शुक्ल चतुर्थीको अवसरमा शुक्रबार नेवार समुदाय चथाः पर्व मनाउँदैछ। ‘जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गर्ने परम्परा छ।

भदौ शुक्लपक्षको चौथी तिथि अर्थात् भगवान् गणेशको जन्मदिन। नेवार समुदायमा यो दिन बिहानै घर चोख्याएर दुबो, लड्डु र मुलासहित भगवान् गणेशजीको पूजा गरिन्छ। यसो गर्दा गणेश खुशी हुने र मनोकामना पूरा हुने जनविश्वास छ।

साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा हल्दीको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ। चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादको रूपमा खाने चलन छ।

नेवार समुदायमा यो चौथीमा चन्द्रमाको पूजा गर्ने विषयमा दुई मान्यता रहेको पाइन्छ। एकथरी चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोका पर्दा वा कपडाले ढाक्छन्। चन्द्रमाको प्रकाशसमेत घर भित्र छिर्न दिँदैनन् र लुकेर पूजा गर्छन्। अर्काथरी घरको आँगनमा सदस्य जम्मा भएर बस्छन्। चन्द्रमा देखा परेपछि पूजा गरी प्रसाद खाएर मात्र भित्र पस्छन्।

चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरंग अस्थार्यी र गौण हुने तथा उसको राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। 

गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने चाडको रूपमा समेत लिने गरेको छ। दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले यसै दिन मासु भित्र्याउने गर्छन्। नेवार समुदायमा चथाः पर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको छ। आजकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पूजा गर्ने प्रचलन समेत रहेको छ। 

यसै  दिन इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको वसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ। इन्द्रजात्राको अवसरमा वसन्तपुरमा ठड्याउने लिंगो भक्तपुरको चित्तापोलस्थित लिंगेवनबाट लगिन्छ। लिंगेवनमा विधिपूर्वक बोका पूजा गरी छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनु पर्ने परम्परा रहेको छ। 

पौराणिक कथनअनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभाको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भन्दै जिस्क्याए। गणेशले सहन सकेनन्। रिसाएर चन्द्रमालाई ‘तिम्रो मुख हेर्ने चोरीको दोष लागोस्’ भन्ने श्राप दिए। त्यो दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोरीको दोष लाग्न थाल्यो। त्यसपछि सबैले चन्द्रमाको मुख हेर्न छोडे। पछि महादेवको सल्लाहमा चन्द्रमाले गणेशसँग माफी मागे। चन्द्रमाको आराधनाबाट प्रसन्न भएर गणेशले आफ्नो श्राप भाद्र शुक्ल चतुर्थीमात्र कायम हुने बताए। 

गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोरीको दोष नलाग्ने वरदान दिएकाले यो दिन साँझमा चन्द्रमाको पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.