|

अन्तत: राष्ट्रिय जनता पार्टी नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भने भाग लिने भएको छ। उसले निर्वाचनको तयारीका लागि केन्द्रीय नेताहरुलाई प्रदेश नम्बर २ का जिल्लाहरुमा खटाइसकेको छ। संविधान संशोधनलाई मुख्य माग बनाएको राजपाले मधेस आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा लगायतका अन्य माग राख्दै आएको थियो।

तर संसदबाट संविधान संशोधन विधेयक अस्वीकृत भए पनि सरकारले सहिद घोषणा, घाइते अपांगको भरणपोषण लगायतका विषय ग्यारेन्टी गरेपछि राजपा चुनावमा जान तयार भयो। संविधान संशोधनको असफलता र चुनावमा सहभागीता लगायतका विषयमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग थाहाखबरका लागि लीलाराज खनालले गरेको कुराकानी :

सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा प्रधानमन्त्री निर्वाचित हुँदा शेरबहादुर देउवाले पाएको जति मत पनि आएन नि, यसको कारण के हो?

सरकारले पाए जति पनि मत संशोधनको पक्षमा नआउनु सत्तारुढ गठबन्धनको कमजोरी हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कहिले समर्थन गर्ने त कहिले विरोध गर्ने क्रम चलि नै रहेको छ। कमल थापाजीले पनि भन्नुहुन्थ्यो कि यो संशोधनको पक्षमा हामी भोट हाल्छौं। तर खै किन हो उहाँहरु पक्षमा देखिनुभएन। उहाँहरुलाई सरकारमा ल्याउने विषयमा पनि कुरा भएको थियो। उहाँहरुको पार्टी भित्रको वैधानिकताको किचलोले पनि होला उहाँहरु कोही विपक्षमा लाग्नुभयो भने कोही उपस्थित हुनुभएन।

यो विधेयक पारित हुन नसक्नुमा सरकारको तयारी नपुगेर हो वा यो समय नै उपयुक्त नभएर हो?

हेर्नुस्, जन्म वा मरण सवै व्यक्तिको उपयुक्त नै हुन्छ। त्यस्तै हो, संसदमा पेश भएका प्रस्तावहरु छलफल भएरै प्रक्रियाबाटै अघि बढ्ने हो। समयले त के फरक पार्छ र, तर यसको पक्षमा सत्ता पक्षले जति तयारी गर्नु पर्दथ्यो त्यो गरेन।

संविधान संशोधनको पक्षमा ल्याउन प्रमुख प्रतिपक्षीसँग वार्ता गर्नुभएन?

किन नगर्नु धेरै पटक गरियो। सर्वदलीय बैठक पनि भए। तपाईँहरुलाई थाहै छ न हामी नागरिकताको कुरा गर्छौं। नागरिकता सुविधा होइन नि यो त अधिकार हो नि। भाषा आयोगका गठन गरेर देशमा भएका सबै भाषाको प्रयोग होस र सम्पन्न होउन भन्ने हाम्रो चाहाना हो। जनकपुर मैथिली भाषा र साहित्यको आदर्श ठाउँ होइन र?

भाषा र संस्कृतिले त सम्बन्ध स्थापित गर्ने काम गर्छ। यसले जनतालाई जोड्ने काम गर्छ। भाषाले जनताले जोड्ने हो तोड्ने काम कहिल्यै गर्दैन। केपी ओलीजी आफै काश्मिरबाट कुमाउ गढवाल हुँदै नेपाल आएको बताउनुहुन्छ। उहाँ तेह्रथुम पहाडबाट नेपाल मधेस झरेको ५६ वर्ष भयो भन्नुहुन्छ। अनि सदियौंदेखि मधेसमा बस्ने मधेसी जनतालाई के भन्ने?

तपाईहरुको सबै माग त सरकारले पुरा गरेनन् नि?

हाम्रो माग त मधेस, मधेसी जनताको हित र समृद्धिको लागि राजनीतिक मागहरु थिए। तर त्यस्तो माग गर्ने जनतामाथि दमन गर्ने, गोली हान्ने काम गर्छन्। अनि हामीले आन्दोलनमा मागरिएका जनतालाई सहिद घोषणा गर भनेर दबाब दिनुपर्ने अवस्था आयो। राज्यले विभेदकारी व्यवहार गरेको छ। मैले नै राज्यको दुरुपयोगको अनुभव नवलपरासीमा गरेको छु।

प्रहरीलाई बिना कारण हतियार चलाउन लगाइन्छ। त्यो नवलपरासीको घटना होस् वा सप्तरीको हरेक घटनालाई उत्तेजित बनाउने र मधेसी जनतालाई दमन गर्ने, हत्या गर्ने गरेका छन्। त्यसैले हाम्रा राजनीतिक माग पुरा गराउन हामीले निर्वाचनमा भाग लिने निर्णय गरेका छौं। हाम्रा माग पुरा भएका छैनन्। हाम्रो लडाई जारी नैं छ। 

अबको स्थानीय तहको निर्वाचनमा राजपाले कति स्थानमा विजय हासिल गर्ला भन्ने तपाईहरुले आंकलन गर्नुभएको छ?

हाम्रो रिडिङको कुरा गर्नुहुन्छ भने कांग्रेसले सय सिट जित्ने दाबी गरेको छ। एमाले र माओवादीले पनि गरेको दाबी सुनिसक्नु भएको छ। मधेसमा कति असन्तुष्टि छ, तपाईँहरुलाई थाहै छ। हामी हरेक सिटमा सबै स्थानीय तहमा कम्पिट (प्रतिष्पर्धामा भाग) गर्छौं।  

दुई नम्बर प्रदेशमा राजपा नेपालको मुख्य प्रतिस्पर्धी कुन पार्टी हो?

दुई नम्बर प्रदेशमा कांग्रेसको अवस्था राम्रै छ। उसँगै हाम्रो प्रतिस्पर्धा हुन्छ होला।

चुनावमा कुनै दलसँग तालमेल हुन्छ कि हुँदैन?

बार बार यही प्रश्न गर्नुहुन्छ। हामीसँगै यतिधेरै उम्मेदवारका आकांक्षी छन् कि, किन गर्नुपर्‍यो तालमेल? तर गाउँपालिका र नगरपालिका वा कन्स्टिट्युन्सी (निर्वाचन क्षेत्र) मा स्थानीय साथीहरुले कुनै दलसँग तालमेलको सहमति गर्छन् भने त्यो सुविधा हामीले स्थानीय नेतृत्वलाई नै दिएका छौं।

चुनाव चिन्ह छाता माग गर्नु भए पनि निर्वाचन आयोगले किन दिएन नि, अहिले साइकल चुनाव चिह्न लिएर जान तयार हुनुभयो?

निर्वाचन आयोगले चुनाव चिह्न छाता दिन प्राविधिक समस्या आइपरेको जनायो। हाम्रै अगाडि प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई फोन गरेर जानकारी लिनुभयो। आयोगले यदि चुनाव चिन्ह छाता दिने हो भने खर्च बढ्ने र त्यो मत पत्र छाप्न मात्र छिटोमा १० दिन र ढिलोमा १५ दिन लाग्ने कुरा जनायो।

पहिले दर्ता भएको तपाईँहरुको ६ वटा दलमध्ये कुनै एउटा लिन सक्नुहुन्छ भनेपछि हामीले तत्कालको लागि चुनाव चिह्न साइकल माग गर्ने निर्णय गरेका हौं। यो स्थानीय तहको निर्वाचनको लागि मात्र हो। संघीय र प्रदेशको निर्वाचनमा त हामीले चुनाव चिह्न छाता नै लिने हो।

चुनाव चिन्ह छाता नपाउँदा तपाईँहरुलाई के अप्ठ्यारो देख्नुभएको छ?

हाम्रा विगतमा रहेका दलका ६ वटा चुनाव चिह्न छन्। त्यो फरक फरक चुनाव चिन्हले गर्दा भोट हल्ने जनता त झुकिन सक्छ नि। हाम्रो उम्मेदवार छैन तर पार्टीको छाप (चुनाव चिन्ह) मा भोट हालिएको छ।

पार्टी एकता भएका चार महिना वितिसक्यो अझै संसदमा ६ वटा संसदीय दल छन् कहिले हुन्छ एकीकृत संसदीय दल गठन?

हाम्रो कठिनाईले तपार्इँहरुलाई के फाईदा गर्छ? हुन्छ नि बेला भएपछि गठन हुन्छ। हामी त पार्टी एकीकरण भएपछि पनि आन्दोलन र यस्तै कामले गर्दा त्यता ध्यान दिन नपाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.