|

पर्वत : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ बिहीबार सम्पन्न भएको छ। नेवार समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चतुर्दशीदेखि सुरु भएको थियो।

बिहीबार हिन्दू नेपाली महिलाको महान्पर्व तिजको दिन साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेर नाच सकिएको नेपाल भाषामंकाःखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार राक्षसको रुपमा रहेको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिने गरेको प्रचलन छ।

मानवभीडसँगै बेनी बजार परिक्रमण गरी गणेश मन्दिरमा लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्णले हत्या गरेपछि हरेक वर्ष बर्खेनाच सकिने गरेको छ। झन्डै ८ मिनेटको लडाइँमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिन्छ। बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ।

समाजमा दुःख दिने पात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमापश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गरिएको छ। बर्खेनाचअन्तर्गत लाखेनाच, घोडानाच, नागानागिनी नाच, श्रीकृष्ण र रथ यात्रासहित विविध नाच देखाउने गरिएको छ।

बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो। बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्। बर्खेनाचको अन्त्य भएको दिनदेखि नेपालीहरूका प्रमुख चाडको चहलपहल सुरु हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.