|

चितवन :

उकालीमा जाँदाजाँदै दाहिने पर्‍यो बर,
माया कता पर्‍यो घर, 
बस चिनाजानी गर, 
किन हुन्छौ परपर, 
मरी लानु के छ र !

चकलेटी नायक सलोन बस्नेतले मञ्चमा उक्लिएर चलचित्र ‘ए मेरो हजुर २’को गीत गाउनेबित्तिकै दर्शकहरुको हुटिङ सुरु भयो। चलचित्र निर्देशक झरना थापासहित अन्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक सलिनमान बनिया, निर्माता सुनिल थापा नाचेर साथ दिए।

सधैँ पर्दामा देखिने कलाकार एक्कासि मञ्चमा झुल्किँदा दर्शकले फिल्म हल पुगेजस्तै अनुभूति गरे। कलाकारसँगै तिज मनाउन पाउँदा फिल्म हल पुगेजस्तो अनुभूति भएको स्थानीय वविता शर्माले बताइन्। 

चितवनमा बिहीबार झरी पनि पर्‍यो। तर दर्शकहरुलाई दर्शकलाई त्यसले खासै प्रभाव पारेन। चितवनको खैरहनीमा आयोजित सो कार्यक्रममा भिजेरै दर्शकहरुले मनोरञ्जन लिए। हरितालिका तिजको दिन यसरी रमाउने मेसो मिलाउँदै जमघट गराएको थियो स्थानीय ग्रेट एफएमले।

स्केच बनाउने आइडिया तेरो, गलत,
पोखरा आउने आइडिया तेरो, गलत,
बटोमा लिफ्ट नदेऊ भनेको थिएँ, दियौ गलत .. ।

नवनायक सलिनमानले फिल्मको संवाद प्रस्तुत गर्दा दर्शकले तालीले साथ दिए भने हुटिङले थप रौनक थप्यो। नायिका साम्राज्ञीले संवाद थपिन्।
आर यु फलोइङ मी?
जे तिमी सोच्छौ।
मलाई कसैले फलो गरेको मन पर्दैन। 
तर मलाई मनपर्छ, जब तिमीजस्तो गर्जियस लेडिज अगाडि आउँछौ।

कार्यक्रममा कलाकारहरुले यही भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’ को राम्रैसँग प्रचार गरे।

मन दिन्छु मुटु दिन्छु,
फेरि पनि स्वास दिन्छु ... ।

भन्ने गीत गाएर पनि उनीहरुले दर्शकलाई नचाए। 

निर्देशक झरना थापाले भनिन्, ‘यो रातो टिका, रातो सारी, हरियो चुरा र छड्के तिलहरी दिदी बैनीसँग सँधै रहिरहोस्।’ 

ए मेरो हजुर २ का कलाकार विदा हुन नपाउँदै चलचित्र ‘छक्कापञ्जा २’को टोली मञ्चमा उक्लियो। अभिनेता तथा निर्माता दीपकराज गिरी र नायिका प्रियंका कार्की तिजको रमझममा सामेल हुँदा दर्शक दीर्घा थप चलायमान भयो। स्वयम्सेवकलाई दर्शक व्यवस्थापन गर्न हम्मेहम्मे पर्‍यो। दसैंलाई लक्षित गरेर असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छक्कापञ्जा २ को टोलीले पनि तिज विशेष कार्यक्रममा राम्रै प्रचार गर्न भ्याए

यसरी तिज उत्सवमा कलाकार आइपुग्दा कार्यक्रम आकर्षक बनेको रेडियोका अध्यक्ष बालकृष्ण अर्याल बताउँछन्। दर्शकहरुले कलाकारसँग सेल्फी खिचे। कलाकारले पनि सामूहिक र एक्लाएक्लै दर्शकसँग सेल्फी लिए। झमझम पानी परे पनि छाता ओढेरै दर्शक र कलाकारले तीज मनाए।

यसपालीको तिज उत्सव कलाकारमय हुँदा दर्शकले थम मनोरञ्जन लिन सफल भएको एफमका कार्यक्रम संयोजक अनिल कुँवर बताउँछन्। तिज उत्सवमा रमाउने, नाच्ने र गाउनेको छुट्टै माहोल नै थियो। राष्ट्रियसँगै स्थानीय कलाकारको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो।

‘यसपाली पनि ‘छक्कापञ्जा २’ लिएर आएका छौं,’ नायिका प्रियंका कार्कीले दर्शकसँग भनिन्, ‘हेर्नुहुन्छ नि ?’ दर्शकबाट चर्काे स्वर आयो, ‘हेर्छौँ।’ छक्कापञ्जाको टोली मञ्चमै रहँदा पानी पर्न थाल्यो। दीपक र प्रियंकाले मञ्चमै छाता ओढेर प्रस्तुतिलाई निरन्तरता दिए। दीपकले मञ्चबाट भने, ‘व्रत बस्नेलाई पनि शुभकामना, तीन थाल खाएर बस्नेलाई पनि शुभकामना!’

कार्यक्रममा एफमले नागरिक दैनिककी पत्रकार चाँदनी हमाललाई ५ हजार रुपैयाँ नगद र कदरपत्रसहित सम्मानसमेत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.