|

दमक : झापाका चिया बगानहरुमा चिया टिप्न आधुनिक प्रविधिको प्रयोग गर्न थालिएको छ। जापानबाट मगाइएको ओचाई कम्पनीको चिया टिप्ने मेसिनले हाल मजदुर समस्याबाट राहत भएको चिया कम्पनीहरुले महसुस गरेको बताएका छन्। बगानमा काम गर्ने मजदुरको अभावको कारण चिया पत्ति टिप्न समस्या भइरहेको बेला विकल्पको खोजीमा उक्त प्रविधिलाई प्रयोगमा ल्याइएको नेपाल चिया विकास निगम अन्तर्गतको मेचीनगरमा रहेको झापा टोक्ला चिया कमानका मेनेमजर राजु सिन्हाले बताए।

मेसिनको प्रयोगले चिया टिप्दा लाग्ने मजदुर अभावको समस्या समाधान भएको तथा गुणस्तरीय टिपाइ तथा चिया उत्पादन परिमाणमा समेत वृद्धि भएकाले उक्त मेसिन सबैको रोजाइमा रहेको उनले बताए। उनले भने, ‘हामीले मजदुर अभाव भएर धेरै समस्या भएको थियो, अहिले सहज भएको छ, मेसिनबाट काम गर्दा, चियाको उत्पादनमा पनि वृद्धि भएको छ।’ उनले मजदुर अभावमा बन्द हुन लागेको कारखानाहरुलाई आधुनिक प्रविधिले धेरै राहत मिलेको बताए।

उनले भने, ‘नेपालका धेरै कारखानाहरु कामदार अभावको कारण बन्द हुने अवस्थामा छन्, कति त बन्द नै भइसके, युवा विदेशिनु, दक्षताको अभाव र काम गर्ने तत्परता नुहुनु जस्ता समस्याले हाल नेपालका धेरै कारखानाहरु बन्द गर्नुपर्ने अवस्थामा रहेका छन्, तर अहिले मेसिन भित्रिएपछि केही सहज भएको छ।’

२ सय ५९ हेक्टर क्षेत्रमा रहेको उक्त चिया बगानमा आफूहरुले कम्तीमा ५० प्रतिशत क्षेत्रफलमा मेसिनले चिया टिप्ने लक्ष्य रहेको उनले बताए। बगानमा २ वर्ष अघिबाट यो प्रविधि भित्र्याइएको हो। जिल्लाको अधिकांश स्थानहरुमा जापानबाट मगाइएको उक्त ओचाई कम्पनीको चिया टिप्ने मेसिनलेको प्रयोग भइरहेको छ।

 प्रविधिको प्रयोगसँगै मजदुरलाई जागिर गुम्ने चिन्ता

तर चिया बगानमा नयाँ प्रविधिको भित्रिएसँगै काम गरिरहेका मजदुरहरु भने आफ्नो रोजिरोटी नै गुम्ने हो कि भन्ने चिन्तामा परेका छन्। मेसिनको भित्रिएसँगै बगानमा काम गर्ने महिला कामदारहरु भने निरास बन्दै गएका छन्। टोक्ला चिया कमान आयाबारीको २ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा रहेको चिया टिप्न हाल २ सय ७२ जना चिया मजदुरहरुले स्थायी रुपमा काम गरिरहेका छन्।

 काम गर्ने मजदुरहरुमा ७२ प्रतिशतभन्दा बढी महिला मजदुर रहेका छन्।  करिब १४ किलोको उक्त मेशिन बोक्न नसक्ने, काम गर्दा विभिन्न समस्याहरु हुने, मेशिनले हरेक पटक टिप्दा चियाको उचाई बढ्ने र समस्या हुने कारण उनिहरुमा हर्ष भन्दा पनि निरासा बढेको चिया मजदुर बबिता भारतीले बताईन्। उनले भनिन्,‘यत्रो १४ केजीको यो मेसिन बोक्न हामीलाई धेरै गाह्रो हुन्छ, यो मेसिन आएपछि हामीलाई खुशी भन्दा पनि चिन्ता चाँहि बढेको छ।’

मेशिनमा काम नसक्दा खाल्डो, नाला र अपठ्यारो ठाउँमा चिया टिप्नुपर्ने र ठेक्का नपुगे आधा हाजिरामा चित्त बुझाउनु पर्ने भएकाले आफूहरु चिन्तामा परेको उनले बताईन्। काम गर्न नसके घर फकर्नु भन्ने बगान प्रशासनको बोलिले झन समस्या हुन थालेको चिया मजदुर इसारा बस्नेतले बताइन्। जीवनको ऊर्जाशील समय चिया टिपेर बिताएको र मेसिन आएपछि मजदुरहरलाई उपेक्षा गरेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.