|

काठमाडौं : तीन दिनदेखि लगातार पानी परिरहेको थियो। जसका कारण भङ्गाहा गाउँपालिकाका ३७ वर्षीय अकबर मुसहरले आफ्ना ३ वर्षका बिरामी छोरालाई सदरमुकाम जलेश्वर लैजान सकेनन्। 

बाढीले घर पूरै डुबायो। घरभित्र भएको अन्न सबै नस्ट भयो। 'छोराको उपचारभन्दा पनि दैनिकी कसरी चलाउने भन्ने चिन्ताले पो सताउन थाल्यो,' घर छेउमै स्वास्थ्य शिविर आएपछि चेकजाँच गराउनका लागि बिरामी छोरालाई लिएर बुधबार बिहानैदेखि लाइनमा बसेका मुहसरले भने,' अस्पताल जाने बाटो बाढीका कारण बिग्रिएको थियो। गाउँमै एकदिने सचेतना शिविर आएपछि बल्ल डाक्टरलाई देखाउन ल्याएको।'

महोत्तरीको बर्दिवासबाट करिब ३५ किमी कच्ची सडक पार गरेपछि पुगिने भङ्गाहा गाउँपालिका बाढीबाट अत्याधिक प्रभावित क्षेत्रमध्ये एक हो। सडक भत्किएका कारण यहाँका मानिसहरु बजार आवत-जावत गर्नबाट बन्चित छन्। बाढीका कारण धेरैको घर-खेत तथा अन्नबाली बगेको छ। जनजीवन सामान्य अवस्थामा फर्कन अझै निकै समय लाग्नेछ।

महामारी फैलने चिन्ता

बाढीका कारण अन्न नस्ट भएपछि मानिसहरुलाई खानकै समस्या छ। सरसफाइमा उनीहरुले ध्यान दिन पाएका छैनन्। स्वस्थ्य र सफा खानाको अभाव छ। दूषित पानीका कारण महामारी फैलने खतरा छ।

बाढीबाट प्रभावित धेरैलाइ छालाको समस्या

बाढीबाट प्रभावित धेरैलाई भाइरल फिबर, झाडापखाला, छालाको संक्रमण, रुघाखोकी, निमोनिया, हाडजोर्नी जस्ता समस्या देखिएको शिविरमा संलग्न डा. विक्रम ज्ञावालीले बताए।

'बाढीबाट प्रभावित भइसकेपछि प्राय छालाको समस्या देखिने गर्छ। यहाँ पनि त्यस्तै खालका बिरामीहरु धेरै भेटिएका छन्। शिविरमा चेक गराउन आउने धेरैमा छाला चिलाउने, दाद, दूषित पानीका कारण हुने संक्रमण लगायतका समस्या देखिएका छन्,' डा. ज्ञवालीले भने।

प्राय बाल-बालिका, वृद्ध-वृद्धा र गर्भवती महिलामा यस्तो समस्या देखिएको  डा. ज्ञवालीले बताए। उनले बाढीका कारण सामान्य रोगहरुले नै महामारीको रुप लिनसक्ने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने बताए।

एकदिने सचेतना स्वास्थ्य शिविरका क्रममा स्थानीयलाई पानीजन्य संक्रमणबाट बच्नको लागि  खानेपानीको शुद्धिकरण गर्ने, नङ् काट्ने, हात धुने र सरसफाइका सामान्य विधिका विषयमा व्यवहारिक जानकारी उपलब्ध गराइएको डा. ज्ञवालीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.