|

काठमाडौं : हिन्दु नेपालीहरुको ठूलो पर्व दसैं आउन एक महिना बाँकी रहेका बेला काठमाडौं लगायतका ठूला शहरमा खसी बोका र भेडा च्याङ्ग्राको आयात बढ्न थालेको छ। मासु खपत हुने मुख्य पर्व दसैंको ९ दिन अवधिमा निजी व्यवसायी र सरकारी निकायले काठमाडौंमा ५० हजार खसी–बोका र भेडा च्याङ्ग्रा आवश्यक पर्ने अनुमानसहित विभिन्न ठाउँबाट आयात गर्न थालेका छन्।

दसैंका लागि आवश्यक खसीबोका काठमाडौंमा नेपाल खाद्य संस्थान र व्यवसायीहरुले बिक्री गर्छन्। नेपाल खाद्य संस्थानले काठमाडौंको मागको करिब १० प्रतिशत मात्र बिक्री गर्छ। दसैंको बेला पारेर हुन सक्ने मनपरी मूल्य वृद्धिलाई नियन्त्रण गर्न १० प्रतिशतको हाराहारीमा खसीबोका तथा भेडा च्याङ्ग्रा संस्थानले बिक्री गर्छ।

बाँकी माग भने व्यवसायीले ल्याएको खसी बोका र भेँडा च्याङ्ग्राबाट नै पूरा गर्नुपर्छ। खाद्य संस्थानले देशका विभिन्न ठाउँमा खसीबोका संकलन गर्न सुरु गरेको छ। व्यवसायीहरुले भारतबाट खसीबोका र चीनबाट भेँडा च्याङ्ग्रा ल्याउने चौपाया खरिद बिक्री संघका पूर्व अध्यक्ष तथा व्यवसायी दीपक थापा बताउँछन्।

३२ हजार खसीबोका र १५ हजार च्यांग्राको अनुमान

काठमाडौंमा ३ सय व्यवसायीहरुले दसैंको समयमा खसीबोका र भेडाच्याङ्ग्रा बिक्री गर्ने गर्छन्। काठमाडौं नजिकका जिल्लाका किसानले आफै काठमाडौंमा ल्याएर पनि खसीबोका बिक्री गर्छन्। चौपाया खरिद बिक्री संघमा आवद्ध तीन सय व्यवसायीहरु मार्फत नै यस वर्ष दसैंको नौ दिनको अवधिमा ३२ हजार खसी बोका र १५ हजार भेडा च्याङग्रा बिक्री हुने अनुमान गरेका छन्।

दसैंमा चाहिने खसीको ८० प्रतिशत भारतबाटै ल्याउनुपर्छ। भेडा च्याङ्ग्रा भने चीनबाट ल्याउनुपर्ने व्यवसायी थापा बताउछन्। उनका अनुसार दसैंको ९ दिनमा ३७ देखि ४० हजार बढी खसीबोका तथा भेडा च्याङग्रा बिक्री हुने गर्छ। यसवर्ष भारतबाट झण्डै २२ हजार खसी बोका आउने उनको आंकलन छ। त्यस्तै स्थानीय बजारबाट १० हजार खोसीबोका काठमाडौं ल्याइने छ। यी खसी बोका सल्यान, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट ल्याइने छ।

त्यस्तै भेडा च्याङ्ग्राहरु चिनियाँ बजारबाट भित्र्याउनुपर्ने बाध्यता भएको थापा बताउँछन्। 'केरुङ नाका खुल्यो भने सहजै हुने छ, होइन भने पनि मुस्ताङबाट तिब्बतका भेडा च्याङग्रा काठमाडौं ल्याउनुपर्छ' थापाले थाहाखबरसँग भने। बाढी पहिरो र डुवानको कारण यस वर्ष स्वदेशका खसीबोका कम हुने थापाको भनाइ छ।

भारत र चीनबाट खसीबोका तथा भेँडा च्याङ्ग्रा ल्याउँदा सहज हुने व्यवसायी बताउँछन्। स्वदेशका खसीबोका ल्याउँदा क्वारेन्टाइन लगायतका झञ्झट हुने भएकाले विदेशबाट ल्याउने थापा बताउँछन्। 'स्थानीयबाट ल्याउदा भेटरीनरी चाहिने, डिक्कीमा हाल्न नपाइने अनेक कुरा हुन्छन् त्यसैले काठमाडौंसम्म ल्याउन समेत गाह्रो छ, तर विदेशबाट ल्याउदा यो झण्झट छैन' थापाले भने।

खाद्य संस्थानको के छ तयारी?

नेपाल खाद्य संस्थानले यस वर्ष १५ सय खसीबोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने भएको छ। संस्थानले मकवानपुरको हेटौंडा र दाङको तलसीपुरमा खसी बोकाको लागि अर्डर गरिसकेको प्रवक्ता शंकर सापकोटाले बताए।

 'यसवर्ष हेटौंडा र तुलसीपुरमा अर्डर गरेका छौँ, गत वर्षहरुमा लहानबाट ल्याइने गरे पनि यस वर्ष तेस्रो चरणको स्थानीय निर्वाचनको कारण स्थानीय स्तरमा नै खपत बढ्ने भएकोले त्यहाँ क्यान्सिल गर्‍यौँ' सापकोटाले भने। त्यस्तै १ हजार भेडा च्याङग्राको लागि मुस्ताङमा अर्डर गरिएको सापकोटा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.