|

लहान : सिमसिम पानी परेर थामिएपछि बजार क्षेत्रमा बसोवास गर्ने, गाउँबाट किनमेल गर्न बजार आएकाहरु लाइनमा उभिएर मतदान गर्न पालो पर्खिंदै थिए। निर्वाचन गराउन खटिएका कर्मचारी, मतपत्र, मतपेटिका, मतदानस्थलको सुरक्षार्थ खटिएका प्रहरी सबै आ–आफ्नै काम गर्दै थिए। राजनीतिक दलका प्रतिनिधिले रुजु गरेर पठाएका मतदातालाई कर्मचारीहरु नाम भिडाएर मतपत्रमा सही गराउँदै मतपत्र दिँदै थिए। 

सिरहाको सुखीपुर नगरपालिका–८ ग्रामीण बजारस्थित चौरमा बिहीबार दिउँसो भइरहेको नमुना मतदानको दृश्य साँच्चै मतदान नै भइरहेको थियो। सिरहाको उक्त नमुना मतदान कार्यक्रममा सुखीपुर नगरपालिका अन्तर्गत विभिन्न वार्डबाट आएका ९५ जना महिला पुरुषले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी उत्तम भट्टराईले बताए।

‘तेस्रो चरणअन्तर्गत २ असोजमा हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन र मतदातालाई मतपत्रको नमुना देखाएर कसरी मतदान गर्ने भन्ने बुझाउन नमुना मतदान गरिएको हो’ सूचना अधिकृत भट्टराईले भने। नमुना मतदानपछि निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा मतगणना गर्दा ६ आंशिक र ७ वटा मतपत्र बदर भएको पाइएको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिइन्।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सिरहाका १७ स्थानीय तहका एक-एक ठाउँमा नमुना मतदान गर्ने योजना रहेको यादवले उल्लेख गरिन्। नमुना मतदानपछि जिल्लाका पत्रकारहरुसँग स्थानीय तहको संरचना र निर्वाचनको विषयमा  अन्तरक्रियासहित अर्को नमुना मतदान गरिने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी यादवले बताइन्।

१२ हजारबढी मतदाता थपिए

स्थानीय तहको पुनःसंरचनाअन्तर्गत सिरहामा ७ नगरपालिका र १० गाउँपालिका छन्। २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भईसकेका र फोटोसहितको मतदाता नामावलीमा नाम रहेका मतदाताको संख्या १ लाख ३१ हजार ५ सय ९६ रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

पछिल्लो पटक साउन १ देखि सिरहास्थित निर्वाचन कार्यालय र साउन १५ देखि भदौ ३ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा सञ्‍चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलनको क्रममा १२ हजार चार सय ८१ जना थपिएका छन्।

पछिल्लो पटक थपिएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा मतदान गर्न भने नपाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा रहेका एक सय ५८ वटा वडाहरुबाट कम्तिमा तीन सय १६ महिलासहित आठ सय २४ जनप्रतिनिधि चुनिनेछन्। जिल्लाभरी चार सय २६ वटा मदतान केन्द्र, २ सय १९ मतदानस्थल तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.