|

कावासोती : सुस्ता गाउँपालिकाको १ र २ मा डुवान भएको भन्दै स्थानीय वासिन्दाले फेरि भारतीय पश्चिमी नहर भत्काएका छन्। गत भदौ १ गते पश्चिमी नहरलाई फुटाल्ने प्रयास असफल भएपछि उनीहरुले शुक्रबार पुन फुटालेका हुन्। दुई सय भन्दा बढी स्थानीय वासिन्दा सहभागी भएर नहर फुटालिएको स्थानीय रवीन्द्र यादवले बताए।

दिउँसोदेखि स्थानीय वासिन्दाले भारतीय पश्चिमी नहरको ४ मिट गहिरो र २ मिटर चौडाई फुटालेका हुन्। साउन अन्तिम हप्ता आएको ठूलो वर्षामा यही नहरका कारण सुस्ता गाउँपालिकाको वडा नम्बर १ र २ मा डुवान भएको स्थानीय वासिन्दाको भनाइ छ।

सुस्ता गाँउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले यो वर्षमात्रै सुस्ता गाउँपालिकामा बाढीको कारण २२ करोड ४५ लाख रुपैयाँ बराबरको क्षति भएकाले त्यसको क्षतिपूर्ति भारत सरकारले दिनुपर्ने स्थानीय वासिन्दाले माग राखेका छन्।

सुस्ता गाउँपालिकाका वासिन्दाले २०४९ सालदेखि अहिलेसम्म भारतीय पश्चिमी नहरको कारण सुस्ता डुवानमा परेको र २ अर्ब बराबरको क्षति भएको दावी गरेका छन्।

साउनको अन्तिम साता लगातारको वर्षापछि पानीको निकास नहुँदा सुस्ता गाउँपालिकाको वडा न.१ अन्तर्गत बरुवा, छिवनी, फेचुहा र रुपौलियामा डुवान भएको थियो। त्यस्तै वडा नं.२ का सत्तपति र महलबारीका गरी एक हजार विगाहामा लगाइएको धानबाली र उखु नष्ट भएको छ। वासस्थान र खेतीबाली वर्षेनी यसरी नै डुबानमा पर्ने गरेको सुस्ता गाउँपालिका वडा नं.१ छिबनी बस्ने बाबुराम सुवेदीले बताए। डुवानबाट बच्नको लागि भारतीय नहरमा एउटा साइफन बनाउनुपर्ने भए पनि नेपाल र भारत कुनै पक्षले पनि सुनुवाई नगरेको सुवेदीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.