|

ओखलढुंगा : उमेरले ७ दशक नाघेका खिमबहादुर सार्की जुत्ता सिलाएरै जीवन धानिरहेका छन्।  उनी ओखलढुंगा सदरमुकामनजिकै हाट लाग्ने सडक छेउमा बस्छन्। उमेरले अब ८ दशक छेउछाउ पुगिसकेका उनी बताउँछन्। तर पनि आफ्नो पुर्खाले गर्दै आएको परम्परागत पेसा छाड्न उनलाई मन  छैन। भन्छन्,
‘उमेरले पाको भइसकियो तर पनि आफ्नो पुर्खाले गर्दै आएको परम्परागत पेसा छाड्न मन छैन।’

उनको स्थाई घर सिद्धिचरण नगरपालिका वडा नं ९ ज्यामिरे  हो। उनी ओखलढुंगा सदरमुकाममा शनिबार र बुधबार लाग्ने बजारमा साप्ताहिक रुपमा सदैव आफ्नो दैनिक गुजारा चलाउन जुत्ता सिलाउन आउने गर्छन्।

साप्ताहिक रुपमा शनिबार र बुधबार लाग्ने हटियामा खोदम्पाबाट बिहानै आइपुग्ने गरेको उनी बताउँछन्।  हटियामा जुत्ता सिलाएर ५ सयदेखि ७ सय सम्म कमाउने गरेको उनी बताउँछन्। दुई छोरा र पाँच छोरीका अभिभावक खिमबहादुर प्राय सधैं हटियामा भेटिन्छन्। पाँच छोरी र एक छोराको विवाह गर्नेदेखि सम्पूर्ण घरखर्च चलाउने सबै पैसा जुत्ता सिलाएरै कमाएको उनको भनाइ छ।

२ छोरामध्ये एउटा विदेशमा र एउटा भर्खर कक्षा १० मा पढ्दै गरेको उनी सुनाउँछन्। छोरो विदेशमा कमाउन गएको छ अब त तपाईँलाई यो काम नगरे पनि व्यवहार चलाउनै त गाह्रो छैन होला नि? भन्ने प्रश्नमा उनी भन्छन्, ‘विदेशमा पैसा कमाउन धेरै पसिना बगाउनुपर्छ।

उसले मरुभूमिमा गएर बगाएको पसिना किन यहाँ खर्च गर्ने भनेर पुर्खाको पेसालाई निरन्तरता दिँदै आएको हुँ।’ काम गर्न उमेरले नछेक्ने र सकुन्जेल आफूले जानेको काम निरन्तर गरिरहने उनी बताउँछन्। भन्छन्, ‘काम गर्न उमेरले केही पनि गर्दैन चोरेर खान नपरोस् ढाँट्नु नपरोस् सकुन्जेल आफूले दुःख गरेरै खान पाए भयो।’

जुत्ता सिलाउनका अलवा उनी भैंसी र राँगाको छालाबाट हल्लुणसमेत बनाएर बेच्ने गर्छन्। उनी पछिल्लो समयमा नाइलनको डोरी बजारमा आएसँगै हल्लुणको व्यापार कम हुँदै गएको गुनासो गर्छन्। आफू उमेरले ७७ वर्ष पुगेको बताउने उनी अझै पनि काम गर्न उत्तिकै उत्साह रहेको सुनाउँछन्। हटियाको दिन जुत्ता सिलाएर कमाएको पैसा सबै घरमा श्रीमतीलाई दिने गरेको उनी  बताउँछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.