|

झापा : सुनसरी–मोरङ पुल आयोजनाले निर्माण गरेको झापाको गौरीगञ्ज र मोरङ रतुवामाई नगरपालिका जोड्ने रतुवा खोलाको पुल लामो समय बितिसक्दा पनि सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। पुल बनेपछि समस्याको समाधान हुनेमा ढुक्क भएका स्थानीयहरु पुल निर्माण भए पनि सञ्चालनमा नआउँदा हेरेर मात्र चित्त बुझाउन बाध्य छन्।

पुल सञ्चालनमा नआउँदा उनीहरु पुल निर्माण भएको केही दूरी उत्तरबाट डुंगाको सहायताले जोखिम पूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्। लामो समयपछि पुल निर्माण भएपश्चात अब चाँहि सहज होला भन्ने सोचेका स्थानयीले पुल सञ्चालनमा नआउँदा सहजताको अनुभूती गर्न पाएका छैनन्।

पुल सञ्चालनमा आउने हो भने गौरीगञ्जका स्थानीयलाई सहज रुपमा दक्षिणी मोरङ जान तथा दक्षिणी मोरङका स्थानीयलाई गौरीगञ्ज तथा गौरादहको दक्षिणी क्षेत्र आउन सहज हुन्छ। मोरङको विराटनगरसँग प्रत्यक्ष व्यापार सम्बन्ध भएको गौरीगञ्जका स्थानीयलाई उक्त पुल सञ्चालनमा आउने हो भने ४५ किलोमिटरको दूरी मात्र पर्ने गर्छ।

पुल सञ्चालनमा नआउँदा उनीहरुले दोब्बर दूरीमा दमक, इटहरी हुँदै विराटनगर पुगेर व्यापारका लागि सामान ल्याउनुपर्ने बाध्यता भएको गौरीगञ्ज बजारका स्थानीय व्यापारी युवराज राजवंशीले बताए। उनले भने, ‘पुलको सबै काम सकिएको छ, तर किन सञ्चालनमा नल्याएका हुन कोनी, अब पुलको छेउमा खोलामा बाँध बाध्ने हो भने सञ्चालनमा आउँछ।’ उनले पुल सञ्चालनमा आउने हो भने ब्यापारमा धेरै सहज हुने बताए। उनले भने,‘ यो पुल सञ्चालनमा आउँने हो भने धेरै सहज हुन्छ, अहिले त धेरै समस्या छ, गौरीगञ्जसंगै सीमाना जोडिएको सिजुवा जान पनि कि त जोखिम पूर्ण तरिकाले यात्रा गर्नु पर्छ, कि त दमक हुँदै घुमेर जानुपर्ने बाध्यता छ।’

बल्ल–बल्ल पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआउँदा हेरेरै चित्त बुझाउँनु परेको रतुवामाईकी स्थानीय अनामती ठाकुरले बताईन्। उनले भनिन्, ‘बल्लबल्ल पुल त बन्यो तर अझै पनि हेरेरै चित्त बुझाउनु पर्ने बाध्यता छ।’ गौरीगञ्जमा माइत भएकी उनले चाडपर्वमा आउँदा धेरै समस्या हुने गरेको बताइन्।

उनले भनिन्,‘ कति तिर त डुंगा पल्टिएर मान्छे मरे भन्छन्, हामीलाई पनि डर लाग्छ तर के गर्नु माइत आउनै परो, कहिले काँही चार्ड पर्वमा आउँछु तर घर पगिन्छकी पुगिन्न भन्ने डर हुँन्छ।’ सोही बाटो भएर बिराटनगर सम्म जाँदै गरेका गौरादह ६ का तुलसीप्रसाद राजवंशीले जोखिमपूर्ण रुपमा बाईक डुंगमा हालेर तार्नु परेको बताए। उनले भने,‘बिराटनगर जान यहीँ बाटो नजिक छ, बाईक जोखिम मोलेर भएपनि डुंगामा तार्छौ र जान्छौँ, अब कहिले पुल सञ्चालनमा आउँछ ?।’

उनले स्थानीय नेतृत्वका कमजोरीका कारण पुल सञ्चालनमा आउन नसकेको बताए। उनले भने,‘ नेताहरुले चासो नदेखाएर पुल सञ्चालनमा नआएको हो, उहाँहरुले अलिक दबबा ददिने हो भने पुल सञ्चालनमा आउँछ।’ पुल सञ्चालनमा आउँने हो भने गौरीगञ्ज बजार संमृद्ध हुने बताए।

यस्तै बिगत ५ वर्ष देखि रतुवा खोलामा डुंगा चलाउँदै आएका झप्पु ऋषिदेवले यो बाटो भएर दैनिक ३ सय देखि ५ सय सम्म मानिसहरु आहोरदोहोर गर्ने गरेको बताए। उक्त उक्त स्थानमा २० रुपैँयामा मान्छे, ३० रुपैँयामा साईकल र ५० बाईक डुंगा मार्फत तार्ने गरेको बताए।

यता सुनसरी–मोरङ पुल आयोजनाले भने खोलाले धार परिर्वतन गरेर समस्या भएको बताएको छ। आयोजनाका प्रमुख कैलाश शाहले पश्चिममा २ सय ५ मिटर लम्बाईको पुल निर्माण गरिएको र पछि खोलाले पूर्व तर्फ धार परिर्वतन गरेकाले समस्या भएको बताए। उनले भने,‘ पहिलाको डिजाइनअनुसार चहिँ काम पूरा गरेको हो तर पछि खोलाले धार परिर्वतन गर्यो र पछि पूर्वमा एक सय मिटर पुल थप्नु पर्ने भएको छ।’

उनले बिभागले केही निर्णय नगरेकाले पुल निर्माण अन्योलमा परेको बताए। उनले भने,‘ पुलको हाईट्रोलोजिस्टलाई पनि देखाएका हौँ, यहाँले पुल थप्नु पर्छ भनेर भन्नुभयो र विभागमा चिठ्ठी काटेका छौँ।’

उनका अनुसार उक्त पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरि कालिका ओएसीस जेभी चितवनले आर्थिक वर्ष २०६४/६५ मा ठेक्का लिएको थियो। सुरुमा एक लेनको पुल निर्माण गर्ने भनिएपनि पछि उक्त सडक हुलाकी राजमार्गमा पर्ने भएकाले दुईलेनको बनाइएको थियो। उक्त पुल १० करोड ५० लाख बराबरको लगातमा ठेक्का लगाईएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.