रहिम दोषी ठहर भएपछि 'डेरा' समर्थकले गरे आन्दोलन, हिंसा भड्कँदा ३ को मृत्यु

|
Photo :prokerala.com

एजेन्सी : १५ वर्षअघि पेश गरिएको एक गुमनाम पत्रमाथि सुनुवाई गर्दै शुक्रबार पंचकुला सीबीआई अदालतले यौन शोषण मामिलामा बाबा राम रहिमलाई दोषी ठहर गरेको छ। सामाजिक अध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहको छवि सामाजिक अभियन्ता, अध्यात्मिक नेता, कलाकार, गायक र निर्देशकका रुपमा प्रख्यात छ।

विशेष अदालतले १५ वर्षअघिको पत्रका आधारमा रहिमलाई दोषी ठहर गरेको हो। यस घटनामा दोषी ठहर भएका रहिममाथिको सजाय आगामी सोमबार मात्रै तोकिनेछ। 

सन् २००१ मा बाबा रहिमकै एक महिला अनुयायी (साधिका)ले आफूमाथि बाबाले यौनदुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। महिलाले आफुमाथि सन् १९९९ मा दुर्व्यवहार भएको विषय पत्रमा लेखेकी थिइन्। उनले डेरा सौदा प्रमुख तथा गुरु बाबा रहिमले अन्य साधिकाहरुमाथि समेत यौन दुर्व्यवहार गर्ने गरेको आरोप पत्रमार्फत लगाएकी थिइन्।

तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई लेखिएको यस पत्रको एउटा कपी पन्जाव  तथा हरियाणा उच्च अदालतमा समेत पठाइएको थियो। पत्रमा उनले आफ्नो नाम गोप्य राखेकी थिइन्।

पञ्जाव तथा हरियाणा उच्च अदालतको निर्देशनमा सन् २००२ मा सीबीआईले यस पत्रमाथि कारबाही सुरु गरेको थियो। सन् २००२ वर्ष बाबा रहिममाथि पत्रकार राम चन्दर चत्रापतिको हत्या आरोप लागेको यो। बाबले यी दुबै आरोप अस्विकार गर्दै आएका थिए। चत्रापतिले बाबाको नेतृत्वमा रहेको डेरा सचा सौदाका विषयमा विभिन्न आलोचात्मक लेखहरु लेखेका थिए। उनले डेरा सचा सौदाका म्यानेजर रन्जित सिंहको हत्याका विषयमा पनि लेखेका थिए।

१२ वर्षपछि एकैपटक सन् २०१४ मा बाबाले यस विषयमा मुख खोलेका थिए। उनले आफु यौन सम्पर्क राख्नका लागि सक्षम नभएको भन्दै यौन दुर्व्यव्हारको आरोप झुठो भएको दाबी गरेका थिए। भारतभर छरिएका बाबाका झन्डै ५ करोड अनुयायीले उनीमाथि लागेका आरोप झुठो रहेको दाबी गर्दै आएका छन्।

अहिले यौन दुर्व्यवहार आरोपमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो। यौन  दुर्व्यवहारमा उनले कति समय जेल सजाय काट्नुपर्छ भन्ने विषयमा २८ अगस्ट अर्थात सोमबार फैसला सार्वजनिक हुनेछ।

पन्चकुलामा हिंसा भड्कियो

हरियाणास्थित पन्चकुलामा रहेको सीबीआईको विशेष अदालतले यौन दुर्व्यवहारको अभियोगमा रहिमलाई दोषी ठहर गरेपछि अदालत परिसर बाहिर समर्थकहरुले विरोध प्रदर्शन गरेका छन्।

उनका समर्थक अर्थात डेरा सौदाका सदस्यहरुले विरोध गर्नसक्ने संभावनालाई मध्यनजर गर्दै पन्चकुलामा सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर त्यसका बाबजुद यति ठुलो हिंसा भड्कियो, जसलाई प्रहरीले नियन्त्रणमा राखिरहन सकेन। हिंसामा ३ जनाको मृत्यु भइसकेको छ।

अदालतबाहिर भएको डेरा समर्थक र प्रहरीबीचको झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। उत्शृंखल समर्थकहरुको भीडले २ गाडीमा आगो लगाएका छन्। हरियाणा र पञ्जावका थुप्रै शहरमा बजारहरु बन्द छन्। हरियाणाका थुप्रै शहरमा बिजुली काटिएको छ।

रहिममाथिको फैसलामा सुनुवाई हुँदा अदालतमा न्यायाधिस,कर्मचारी र रहिममात्रै उपस्थित थिए। न्यायाधिस जगदीप सिंहले फैसला पढेर सुनाएका थिए। दोषी ठहर भएका आरोपित रहिमलाई केन्द्रीय कारागार लगिएको छ।

यसअघि ८ सय गाडीहरु सहित रहिम अदालतमा उपस्थित भएका थिए। उनीसँगै ठूलो संख्यामा समर्थकहरु आएका थिए। यस अवस्थालाई मध्यनजर गर्दै हरियाणाका मुख्यमन्त्री मनोहर खट्टरले डेरा समर्थकहरुसँग अदालतको निर्णय मान्नका लागि अपिल गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहले शान्ति-सुरक्षाका विषयमा पटक-पटक हरियाणा र पञ्जावका मुख्य मन्त्रीसँग कुराकानी गरेका थिए।

हिंसा भड्किएपछि रहिमले गरे शान्तिको कामना

समर्थकहरुले हिंसा भड्काएपछि बाबा राम रहिमले शुक्रबार अदालत आउनुअघि नै  आफ्ना समर्थकलाई शान्त रहन आग्रह गरेका थिए। तर समर्थकहरुले टेरेनन्। कति समर्थकहरुले उनी अदालततर्फ जाँदै गर्दा उनको गाडी अगाडि उभिएर 'बाबाका लागि प्राण दिन तयार' रहेको सन्देश सुनाएका थिए।

त्यस्ता समर्थकहरुलाई हटाउँदै बाबाको गाडीलाई अगाडी बढाउन सुरक्षाकर्मीले मेहिनत गर्नुपरेको थियो। फैसला सार्वजनिक भएपछि भड्किएको आन्दोलनका कारण हरियाणा र पन्जावमा हिंसा फैलिएपछि त्यसलाई नियन्त्रणका लिने प्रयास स्वरुप स्थानीय सरकारले कफ्‍र्यु घोषणा गरेको छ।

हरियाणा र पञ्जामा ६४ हजारभन्दा धेरै सेना तैनाथ गरिएका छन्। शुक्रबार हरियाणा र पञ्जाबमा स्कुल,कलेज तथा चन्डीगढमा सरकारी कार्यालय समेत बन्द गरियो।

रेल सेवा बन्द

पन्चकुलामा बस तथा रेल सेवा बन्द गरिएको छ। रेल विभागले पन्जाब र हरियाणा जाने २९ वटा रेललाई ४ दिनका लागि स्थगित गरिएको जानकारी गराएको छ। पञ्जाब जाने २२ र हरियाणा जाने ७ वटा रेल बन्द गरिएका हुन्। पञ्जाव,हरियाणा र चन्डिगढमा इन्टरनेट तथा मोबाइल सेवा बन्द छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.