|

दमक : शुक्रबारदेखि चलचित्र ‘देश खोज्दै जाँदा’ नेपालका चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ। पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने शरणार्थीको कथालाई समेटर बनाइएको चलचित्र पूर्वका हलहरुमा पनि प्रर्दशन गरिएको छ।

विषेश गरेर शरणार्थीको बसोबास भएको दमकमा यो चलचित्र हेर्नेको ठूलो भीड छ। चलचित्र हेर्ने दर्शकहरुले पनि शरणार्थीको यथार्थ पीडालाई चलचित्रमा समेटेको बताएका छन्। साहित्यकार उपेन्द्र सुब्बाले लेखेको चलचित्रलाई प्रकाश आङ्देम्बेले निर्देशन गरेका छन्।

चलचित्रमा २६ वर्षदेखि पूर्वी नेपालमा शरण लिएर बसेका शरणार्थीको स्वादेश फर्किन गरेको आन्दोलनलाई समावेश गरिएको छ। सन् १९९० को दशमा भुटान सरकारले लखेटेर नेपाल आएका शरणार्थीले पाएको दुःखलाई चलचित्रको माध्यम बनाइएको छ। यो चलचित्र सन् २००५ देखिनै छायांकन सुरु गरिएको थियो।

चलचित्र हेरिसकेपछि भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राईले चलचित्र यथार्थ घटनामा आधारित भएको बताए। उनले भने,‘ म प्रकाश भाईलाई धन्यवाद दिन्छु, किनकी हामीले गर्नुपर्ने उहाँले गरेर देखाई दिनुभयो, चलचित्रमा जे छ, त्यो क्याम्पमा भएको छ, यो सत्य घटनामा आधारित हो।’ शरणार्थी शिविरमा रहेका धेरै भुटानी शरणार्थीले पनि यो फिल्म हेरेका छन्। उनीहरुले फिल्ममा भएका धेरै दृश्य शरणार्थी शिविरको वास्तविक दृश्य भएको प्रतिक्रिया दिए।

चलचित्र मुख्य पात्र कारोबारी भन्ने एक शरणार्थीलाई देखाइएको छ। उनी स्वदेश फिर्तीको आन्दोलनमा लागेका हुन्छन्। तर बाध्यताले तेश्रो मुलुक पुर्नवास हुनुपर्छ। उक्त पात्रमा कलाकार हेमन्त बुढाथोकी देखिएका छन्। उनको आन्दोलनमा साथ दिएका हुन्छन् बिरुले। बिरु पात्रमा कलाकार बाबु बोगटी छन्। यस्तै आन्दोलनमा साथ दिने मध्येका अर्जुन पात्रले। उक्त पात्रमा कलाकार तिब्बत राई छन्।

उक्त चलचित्रमा २००७ मा स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीहरुले भारतीय सीमाना झापाको पूर्वी नाका मेची पुलमा भएको आन्दोलनलाई देखाइएको छ। आन्दोलनमा भारतीय सीमा सुरक्षा बलले ज्यादती गरेर उनीहरुलाई स्वदेश फर्कन नदिएको घटनालाई समावेश गरिएको छ। उक्त आन्दोलनमा एक जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए। उक्त आन्दोलनमा गोली समेत चलेको थियो।

त्यस आन्दोलन गर्दा शरणार्थीले उठाएको पैसा हिनामिना भएपछि बिरु र अर्जुनबीच मनमुटाव सुरु हुन्छ। उक्त विषयलेनै पटक पटक दुई जनाबीच झगडा समेत हुन्छ। त्यही झगडाले बिरुको ज्यान लिन्छ। उक्त घटनामा कस्ले बिरुको हत्या गरेको हो भन्ने कारोबारीलाई मात्र थाहा हुन्छ। दमकमा दैनिक ज्यालादारी गरेर शिविर फर्कने क्रममा लक्ष्मी पूजाको दिन बिरु र कारोबारीसंगै हुँदा बिरुको हत्या भएको हुन्छ। तर शरणार्थीहरुले कसले उनको हत्या गरेको भन्ने थाहा पाउँदैनन्। स्वदेश फिर्तीको आन्दोलनमा सहयोग गर्ने बिरु गुमाएपछि कारोबारी कमजोर बन्छन्।

बिरुको हत्या गरेर पनि खुलेआम शिविरमा हिड्ने अर्जुनलाई पटक पटक कारोबारीले पछ्याउँदै हत्या गर्ने प्रयास गर्छन् तर सक्दैनन्। बिरुको हत्या पछि  कारोबारीको घरको भित्तामा स्वदेश फर्कन आन्दोलन गरे हत्यानै गर्ने भन्ने पर्चा टाँसेको हुन्छ। त्यसपछि उनी बोल्नै छाड्छन्। उनी परिवारको दबावमा तेश्रो मुलुक जान मञ्जुर हुन्छन्। अमेरिका जाने बेलामा मात्र बोल्छन्। शरणार्थी शिविरमा धेरैको हत्या भएको छ। तर हत्या कसले गरेको र किन गरेको भन्ने विषयमा अहिलेसम्म कसैलाई थाहा छैन। चलचित्रमा यो विषयलाई पनि समावेश गरिएको छ।

चलचित्रका निर्देशक प्रकाश आङ्देम्बेले यो चलचित्र इतिहास भएको बताए। उनले भने,‘ यो चलचित्र इतिहास हो, यो हलहरुमा लागे पनि राम्रो ब्यापार भएको छैन, यस्तो चलचित्रको राम्रो ब्यापार पनि हुँदैन, यो फिल्म फेष्टिबलहरुमा राम्रो हुन्छ।’

उनले भुटानी शरणार्थीले आफूरुसंग विगत लामो समयदेखि संगत गरेको र उनीहरुको पीडा र अभावलाई नजिकैबाट नियालेकाले चलचित्रमा उतारेको बताए। उनले आफूहरुले लामो समयदेखि शरणार्थीलाई नियालेको र संगै बसेकाले उनीहरुको स्वदेश फर्कने आन्दोलन कमजोर हुनुको कारण समेत राम्ररी थाहा भएकाले चलचित्रमा उतारेको बताए। चलचित्रले राम्रै प्रसंशा बोटुलेको उनको भनाइ छ।

अहिले पनि दमकमा रहेका शरणार्थीहरुले दैनिकी चलाउन दमकमै आउनुपर्ने बाध्यता छ। यसलाई चलचित्रमा जस्ताको त्यस्तै उतारिएको छ। चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, तिब्बत राई, सरिता ओली, अरुणा कार्की, गायक एलपी जोशी, साहित्यकार प्रकाश बुढोथी, गीतकार शिवशंकर थापा, साहित्यकार धनकुटे कान्छा लगायतले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.