|

गोरखा : वर्षभरिका लागि खाद्यान्न लिन हिमालपारिका गोरखाली तिब्बत गएका छन्। जिल्लाको चुमनुब्री गाउँपालिकाका स्थानीय आफ्ना चौंरी, खच्चड र झोपा लिएर खाद्यान्न लिन तिब्बतको कुम्दाङ बजार गएको सामागाउँका वडा अध्यक्ष वीरबहादुर गुरुङले जानकारी दिए। गोरखालीहरुले कुम्दाङको बजारमा वन लसुन तथा विभिन्न जडीबुटीहरु लगेर बिक्री गरी सोही पैसाले खाद्यान्न किनेर ल्याउने गर्छन्।

‘हिजोदेखि गाउँलेहरु तिब्बत जान थालेका छन्’ गुरुङले भने, ‘तिब्बती बजार गएकाहरुले मैदा, करुको पीठो, चिनी, चियापत्ति, तेल, नुन तथा चामल जस्ता दैनिक उपभोग्य खाद्यान्न ल्याउँछन्। सामान बोकाउन कोहीले झोपा, कोहीले चौंरी कोहीले खच्चड लिएर गएका छन्।’ 

व्यापारीहरुले भने व्यापारिक प्रयोजनका लागि चिनी, चियापत्ति, जुत्ता चप्पल, कब्बल, बियर, तेल, मैदा, करुको पीठो, बिस्कुट जस्ता सामाग्रीहरु खरिद गरी ल्याउने गर्दछन्। मनास्लु पदमार्ग तथा हिमाल आरोहण गर्न आएर सोही क्षेत्रमा बसोवास गर्ने हुनाले त्यहाँ होटल व्यवसायी पनि धेरै छन्।

तिब्बती बजारमा नुनदेखि सुन लिन अहिले उत्तरी गोरखाका प्रत्येक घरको एकजनाका दरले गएको गुरुङले बताए। सो नाका नेपाल सरकारको आग्रहमा चीन सरकारले वर्षमा २ पटकसम्म खुल्ने गरेको छ। नाका खोल्नेबारे बिहीबार तिब्बती बजारका मुखियाले गोरखापट्टिका मुखियालाई खबर गरेर जानकारी दिएको सामागाउँ प्रहरीलाई उद्धृत गर्दै जल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए।

नाका खुलेसँगै सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दीबास, चुम्चेत र छेकम्पार क्षेत्रका सर्व साधारणहरु तिब्बत गएका हुन्। सामागाउँबाट एक दिनमा नै पुग्न सकिने उत्त नाकामा अहिले चाईनाले कच्ची सडक खोलिदिएको छ। नाकासम्म पुग्न भने गोरखालीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.