|

पर्वत : पवित्र धार्मिक पर्यटकीयस्थल मोदीवेनी धामका १ सय ८ गौमुखी धारा पानी अभावका कारण सुकेका छन्। कालीगण्डकी नदीको पानी लिफ्ट प्रणालीबाट तानेर भण्डारण गरी धारा सञ्चालन गरिँदै आएकोमा उक्त पानी भण्डारमा पहिरो गएपछि गौमुखी धारा सुकेका हुन्। धामको प्रमुख आकर्षण गौमुखी धारा नै सुकेपछि स्नानमा जाने भक्तजनहरूले सास्ती खेप्नुपरेको छ।

२ वर्षअघिदेखि खानेपानी सहितको बृहत्तर योजनाअनुरूप १ सय ८ गौमुखी धारा निर्माण गरिएको हो। मोदीवेनी धाममा पर्यटकीय आकर्षण बढाउन उक्त गौमुखी धारा निर्माण गरिएको मोदीवेनी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष केशव वैरागीले बताए।

१ सय ८ धारामा स्नान गर्नका लागि मुस्ताङको मुक्तिनाथ पुग्नुपर्ने तीर्थालुको बाध्यतालाई दृष्टिगत गरी मुस्ताङबाटै आएको पवित्र कृष्णगण्डकी (कालीगण्डकी) को पानीबाट पर्वतमै नुहाउने व्यवस्था भएपछि थप राहतको महसुस हुने र आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा मोदीवेनी संरक्षण समितिको छ।

 झन्डै १ करोड रुपैयाँको लागतमा सञ्चालित योजनामा धारा निर्माणसहित मोदीवेनीमा २० घनमिटरका दुई खानेपानी ट्यांकी, बलेवा क्षेत्रमा निर्माणाधीन वृद्धाश्रमका लागि ५ घनमिटरको एक खानेपानी ट्यांकी र तीर्थालुका लागि शौचालय निर्माण भइसकेको छ। त्रिवर्षीय योजनाअन्तर्गत यसवर्ष सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको वैरागीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.