|

काठमाडौं : पलेँटीको आर शालामा गायिका मीना निरौलाले गीतकार वैरागी काइँलाको ‘औंलाहरू चुमेर’ र मञ्जुलको ‘आज राति सपनामा’ गाउन सुरु गरिन्। शुक्रबार पलेँटीमा भएको मीनाको 'एकल साँझ' गायनमा उनलाई संगीतमा साथ दिएका थिए संगीतकार आभाषले।

यसैबेला मीनाको पलेँटी यात्राबारे आभाषले वर्णन गरेका थिए। अग्रजहरूका गीतबाट कार्यक्रम थालेको सन्दर्भलाई जोड्दै संगीतकार आभाषले भने, “युवापुस्ताकी मीनाले अग्रजहरूका गीतबाट आफ्नो कार्यक्रम सुरु गर्नुलाई पलेँटीले दुई पुस्ताबीच सेतुको काम गर्न थालेको कुराको संकेत गरेको छ।” मीनाको स्वरमा आभाषको संगीत जारी रह्यो। यसपटक उनले महाकविलक्ष्मीप्रसाद देवकोटाका दुईवटा गीत ‘जिन्दगीको मौसम’ र ‘आप्सराको रुप’ प्रस्तुत गरिन्।

देवकोटाका गीतहरू प्रस्तुत भएको विगतको पलेँटी सम्झना गर्दै आभाषले दर्शकसँग आफ्नो अनुभव बाँडे, 'देवकोटाको पलेँटी गर्ने क्रममा म निकै मन लगाएर धुन बनाइरहेको थिएँ, यी दुई गीत त्यसैबेला एक दुई दिनकै अन्तरालमा कम्पोज भएका हुन्।' उनले देवकोटाको पलेँटीको क्षणलाई सम्झिए, 'मलाई सम्झना छ त्यस साँझ महाकविका सुपुत्र पद्म देवकोटा र कमलमणि दीक्षितले महाकविबारे महत्वपूर्ण टिप्पणी गर्नुभएको थियो। हाम्रा आदरणीय कमलमणि अब हामीमाझ हुनुहुन्न तर, उहाँले पलेँटीप्रति देखाउनुभएको माया र प्रेरणा अहिले पनि हाम्रो मनमा रहिरहेको छ।'

मीना निरौला मनिपुरमा हुर्केर विवाहपछि नेपाल भित्रिएकी गायिका हुन्। मनिपुरका अग्रज कलाकार शान्तनु कुमार लिम्बूमार्फत पलेँटीको सम्पर्कमा आएकी उनी सन् २००७ देखि यो सांगीतिक शृंखलासँग आबद्ध छिन्। मीना यसअघि नेपाली भाषाका धेरैअविस्मरणीय साधक संगीतकार र गीतकारहरूका साथ पलेँटीमा प्रस्तुत भइसकेकी छन्।

उनीसँग नेपाली आधुनिक संगीतका मूर्धन्यव्यक्तित्वहरू अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, रत्न शमशेर थापा, प्रेमध्वज, दिनेश अधिकारीलगायत थुप्रै अग्रजहरूसँग पलेँटीमा सहभागी भएको अनुभव छ। यसपालिको पलेँटी मीनाको जीवनको पहिलो एकल गायनको साँझ थियो।

'मीनाले विगतका पलेँटीमा अरू धेरै गीतकार, संगीतकारहरूलाई साथ दिएकी थिइन्। आज म उनलाई साथ दिँदै छु। आजको साँझकीमुख्य कलाकार मीना हुन, मीनाले प्राप्त गरिरहेको लोकप्रियताले मलाई गर्व महसुस हुन्छ' आभाषले भने। उनले मीनाको लोकप्रियताको पनि चर्चा गरे।

लगत्तै मीनाले प्रतिक्रिया जनाइन्, 'लोकप्रियताभन्दा ठूलो कुरा मैले पलेँटीमार्फत आभाष दाइ र धेरै अग्रज कलाकार र श्रोताहरूको माया र आशीर्वाद पाएकी छु।' त्यसपछि कार्यक्रमले अर्को चरणमा प्रवेश गरेको थियो। यस चरणमा कवि श्रवण मुकारुङका आधा दर्जन गीत प्रस्तुत गरिएको थियो। श्रवणका गीतमा रमाइला क्षणका साथै मस्तिष्कलाई झकझकाउने खालका अभिव्यक्ति पनि थिए।

हाम्रो सामाजिक परिवेशमा यदाकदा घट्ने असोचनीय घटनामाथि बनेको एउटा गीत:

बाबा मलाई मार्नै छ भने तिमी आफैँ मार

आगोले जलाई विन्ति नमार

मान्छेलाई जिउन चाहिन्छ आगो

आगोलाई यसरी बिटुलो नपार

मीनाले यो गीत गाइरहँदा दर्शक भावुक भएका थिए। गीत गाइरहेकी मीनाआफैँ पनि निकै भावुक भएकी थिइन्।

'मीनाजी अहिले निकै लोकप्रिय हुनुहुन्छ। उहाँ त जिल्ला सदरमुकातिर चलेका मेला र प्रदर्शनीतिर व्यस्त हुनुपर्ने गायिका हो। जे होस उहाँले पलेँटीमा आएर प्रस्तुत हुन रुचाउनु राम्रो कलाकार हुने संकेत हो।' मीनाका बारेमा बोल्दै गरेका कवि श्रवणले भने। श्रवणले त्यसपछि नेपाली संगीतसित र कविहरूका सम्बन्धबारे धारणा राखे, 'हामीले नारायणगोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन जस्तागायक संगीतकारलाई सुन्दै आएका छौं। त्यो पुस्ताले राम्रा र अर्थपूर्ण गीतका लागि हरिभक्त कटुवाल, भूपी शेरचन जस्ता कविहरूकोखोजी गर्थ्यो। त्यो विगत थियो अहिले त्यस्तो भइरहेको छैन।' 

हाल संगीतकार, गायक र गीतकारहरूको सम्बन्ध कलात्मक र सिर्जनात्मकभन्दा पनि व्यावसायिक भएकोमा उनको भनाइ थियो यो। उनले संगीतकार आभाषको पनि चर्चा गरे। त्यसपछि आभाषले गएको वर्ष गायिका मीना निरौला र बेनुका राईलाई साथमा लिएर नेपाली वर्णमाला, स्वरमाला र ससाना बालबलिकाका लागि ‘नर्सरी राइम्स’ को सम्झना गरे। उनले ती सिर्जनालाई श्रव्य दृश्यका रुपमा ल्याउन लागेको जानकारी गराए।

कार्यक्रमको समापन तिनै बालगीतहरूको झलकबाट भएको थियो।

दुगुर दुगुर कुइरा दुगुर दुगुर कुइरा दुगुर दुगुर

दुगुर दुगुर ए कुइरा तेरो घरमा चोर पस्यो

माथि आकाश खुल्ला छ तँ किन आज भुईं बस्यो

मीनाको पलेँटीमा पहिलो एकल साँझलाई संगीतमा आभाष, सुरज प्रधानले गिटार, दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन र शन्देश महर्जनले तबलामा साथ दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.