|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : सुनसरीमा बाढी तथा ढुबानमा परी २ अर्ब ११ करोड ५ लाख ३२ हजार ८८ रुपैया बराबरको क्षति भएको तथ्यांकले देखाएको छ। २७ साउन  रातीबाट ३ दिनसम्म परेको लगातारको वर्षाका कारण सुनसरीको विभिन्न स्थान डुबानमा पर्नका साथै बाढीले धेरै ठाउँमा भौतिक संरचाना क्षतविक्षत बनाएको थियो।

 जिल्ला समन्वय समितिको पहलमा सुनसरीको १२ वटै स्थानीय तहबाट गरिएको तथ्यांकअनुसार भौतिक पूर्वाधारतर्फ ४० करोड ८४ लाख ६५ हजार  बराबरको क्षति भएको छ। पूर्वाधारतर्फ सडक, पुल, झोलुंगे पुल, नहर, कुलो, पैनी, तटबन्ध समेतमा क्षति पुर्‍याएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद  पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार विद्यालयतर्फ ३ करोड बराबरको क्षति भएको छ।

यसैगरी, वर्षाका कारण सुनसरी ३ हजार २ सय ३२ घर पूर्णरुपमा क्षति भएको छ। पूर्णरुपमा घरमा क्षति पुग्दा ८ करोड ८ लाख बराबरको क्षति भएको छ। भने १३ हजार ६ सय ६९ वटा घर आंशिक रुपमा भत्किँदा १३ करोड ६६ लाख ९० हजार बराबरको क्षति भएको छ। यसैगरी, पशुधनतर्फ ७ करोड ८ लाखको क्षति भएको छ भने, कृषितर्फ ४२ करोड २८ लाख १४ हजार बराबरको बालीनाली तथा जमिनमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

कृषितर्फ नै माछापालनमा सरकारी र निजी गरी १८ करोड ८४ लाख ७९ हजार ७ सय ३३ रुपैयाँ बराबरको क्षति पुगेको प्रशासनले जनाएको छ।

यसैगरी, खानेपानीतर्फ ८७ लाख ७० हजार ७ सय ७२ रुपैयाँको क्षति हुँदा ६९ लाख ४६ हजार ५ सय बराबरको शौचालय तथा ट्युबेलमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले राहत तथा क्षतिपूर्ति एवं पुननिर्माणको लागि सरकारलाई पठाएको विवरणअनुसार १ करोड ४६ हजार ५ सय बराबरको वन  क्षेत्रमा क्षति भएको छ।

यसैगरी, सडकतर्फ पूर्व-पश्चिम राजमार्गमा  ७० लाखको क्षति भएको छ भने कोसी राजमार्गमा २ करोड ४० लाख र दुहवी–इनरुवा–कप्तानगंज सडक खण्डमा ४५ लाख बराबरको क्षति भएको प्रारिम्भक तथ्यांकमा बताइएको छ।

यसैगरी, सिँचाइतर्फ १० करोडको क्षति भएको छ भने, ६१ करोड ११ लाख ७९ हजार बराबारको उद्योग कलकारखानातर्फ क्षति भएको छ। यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले राहत पाउनका लागि मापदण्ड तयार गरेको छ। जसमा घर बास नहुने गरी क्षति भएको, बाढी आएको अवस्थामा राहत शिविरमा गएर बसेको, नेपाली नागरिकता भएको/जग्गा धनीपुर्जाको प्रतिलिपि पेस गरेको, तथा स्थानीय प्रहरी कार्यालयबाट सिफारिस भएको हुनुपर्नेलगायत रहेका छन्।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले सुनसरीको १२ वटै स्थानीय तहमा राहत सामग्री वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएअनुसार हालै आएको बाढीमा सुसनरीमा कार्यरत तथा बाहिरबाट आएको विभिन्न २९ वटा संघ संस्थाले राहत तथा उद्धार कार्यमा सहयोग गरेको बताएको छ।

यसैगरी सुनसरीको धरानमा रहेको बराह ज्वेलरी इन्डस्ट्रिजको तर्फबाट प्राप्त भएको ५ लाख राहत  रकमलाई दैवी प्रकोप राहत कोषमा जम्मा गरी राहत कार्यमा लगाइने प्रमुख जिल्ला अधिकारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.