|

काठमाडौं : पोखरामा रहेर लामो समयदेखि लेखनमा सक्रिय साहित्यकार तीर्थ गुरुङको उपन्यास बजारमा आएको छ। किशोरावस्थाका विषयवस्तुमा आधारित गुरुङको उपन्यास ‘पाठशाला’ शनिबारदेखि बजारमा पठाइएको प्रकाशन संस्था बुक हिलले जनाएको छ।

दुई दशकदेखि साहित्यमा क्रियाशील तीर्थ गुरुङ घरायसी अवस्था र स्वास्थ्य समस्याका कारण ओझेलमा थिए। दुवै मिर्गौला फेल भएपछि ट्रयान्सप्लान्ट गरेका छन्। उनको उपन्यासले नेपाली साहित्यमा नयाँ धार समातेको छ।

निबन्धकार रोशन शेरचनले गुरुङको उपन्यासले किशोरावस्थालाई केन्द्रमा राखेर उपन्यास लेखेको बताएका छन्। उनी भन्छन्, ‘पाठशाला किशोरहरुको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्न सकेको छ।' कवि भूपिनले भने गुरुङको उपन्यास आगमन सुखद रहेको बताए। उनले भने, ‘अहिले लेखिएका नेपाली उपन्यासभन्दा पाठशाला फरक छ। ‘आउट अफ् बक्स’ कथानकले भरिएको छ पाठशाला, जसले पाठकहरुलाई तान्नेछ।’

उपन्यासकार तीर्थ गुरुङले बोनसको रुपमा प्राप्त आफ्नो जीवन नेपाली साहित्यलाई सुम्पिन पाएकोमा गर्वबोध भएको बताए। ‘पाठशाला’ले किशोरदेखि प्रौढसम्मलाई समकालीन किशोरहरुको मनोविज्ञान र स्वभाव बुझ्न सघाउ पुर्‍याउने बुक हिलका भूपेन्द्र खड्काको दाबी छ। २ सय ५६ पृष्ठको पुस्तकको मूल्य ४ सय रुपैयाँ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.