|

गोरखा : भूकम्पलगत्तै विस्थापित परिवारलाई राख्नका लागि नेपाली सेनाले निर्माण गरिदिएको सामूिहक आवास भवनहरु प्रयोगविहीन बनेका छन्। जिल्लाका विभिन्न ५ स्थानमा सेनाले निर्माण गरिदिएका भवन अहिले प्रयोगविहीन छन्।

प्रतिभवन करिब ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भए पनि कस्ता परिवारलाई राख्ने भन्ने अन्योलले भवनहरु प्रयोगमा आउन नसकेका हुन्। सेनाले साविकको थुमी, स्वाँरा, केरौँजा, खरिबोट र मुच्चोक गाविसमा सामूहिक आवास निर्माण गरेको थियो। 

‘नेपाली सेनाले सामूहिक आवास त बनायो, अहिले प्रयोगविहीन छन्,’ केरौँजाका फिरेन्द्र घलेले भने, ‘कस्ता खालका परिवार बस्ने भनेर सरकारले टुंगो लगाइदिएको भए सजिलो हुने थियो।’

केरौँजामा करिब ५ सय घरधुरी विस्थापित छन्। ‘कसलाई बस् भन्ने कसलाई नबस् भन्ने,’ उनले भने, ‘त्यही भवन पनि माथिबाट पहिरो खसेकाले जोखिममा छ।’ केरौँजा भूकम्पपछि अति जोखिमका कारण बस्ती नै सानु पर्ने भनिएको गाउँ हो। यहाँ पहिरोको उच्च जोखिम छ।

यस्तै सेनाले सुलिकोट गाउँपालिकाको स्वाँरामा निर्माण गरेको भवन पनि प्रयोगविहीन छ। भवनका कोठाहरुमा झारपात उम्रिएका छन्। ‘सरकारको लगानी बालुवामा पानी सरह भएको छ,’ स्वाँराकी सलिना गुरुङले भनिन्, ‘सामूहिक आवास भवन भत्किँदै गएको छ।’ भूकम्पबाट विस्थापितहरुका लागि १२ कोठे आवास बनाइएको थियो।

सेनाले भवन बनाउन ट्र्याक्टर तथा हेलिकोप्टरबाट सामान ढुवानी गरेको थियो। सो भवन जिल्ला दैविक प्रकोप उद्दार समितिले तत्कालीन गाविसलाई जिम्मा दिएको थियो, तर गाविसले संरक्षण तथा त्यहाँ कस्ता परिवार राख्ने टुङ्गो लगाउन नसक्दा सरकारले लाखौं खर्च गरेर वनाएको भवन जीर्ण बन्दै गएको हो।

स्वाँराकोे भवनमा ४ कोठा माझथर मावि र ३ कोठा स्वाँरा बाल संरक्षण उपसमितिले प्रयोग गरेका छन्। विस्थापित परिवार राख्न बनाइएको भवनमा विस्थापितहरु भने बस्न पाएका छैनन्। बाँकी कोठा खाली नै छन्। प्राय सबै सामूहिक आवास भवनका झ्यालका शिशा फुट्ने तथा भवनमा क्षति पुग्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.