साहित्य

एकको लात, अर्कोको धाप (पुस्तक अंश)
SHARES

भदौ ११, २०७४

    सरहरू, मिसहरू, अप्सराहरू र साथीहरू कसैले केही नभन्दा मलाई अचम्म लाग्यो। कि त्यो स्कुलबाट भागेर गएको घटना घटेकै थिएन? बजार, मःमः चाउमिन, त्यसअघिको पैसा झ्याप मारेको कुरा, फ्रेस ट्रान्सप्लान्ट के सबै मैले कल्पना मात्र गर्‍या हो? अनि, दाइ/मीतज्यूको पल्सर, मेरो आँसु... के सबै कल्पना मात्र थिए त? कसैसँग भेट हुँदा मलाई लाग्थ्यो, मलाई सोधिनेछ, म किन भागेको थिएँ वा बिरालोको अफिस अगाडिबाट भाग्न सक्ने भनेर मेरो साहसको प्रशंसा हुनेछ। तर, कसैले वास्ता नै गरेनन्। अरू नर्मल दिनहरूमा जस्तै उनीहरूले मलाई हेरे, विना कुनै उत्सुकता।

    त्यो मेरो भ्रम होला जस्तो पनि लाग्यो किनभने कति कुराहरू भएका थिए, जसलाई मैले अनुभव गरेको थिएँ तर केटाहरूले थाहा पाएका थिएनन् वा थाहा पाउन नै चाहेका थिएनन्। जस्तैः मैले राति मान्छेहरू बोलेको सुनेको थिएँ तर उनीहरूले मेरो कुरा पत्याएनन्। एकचोटि ट्वाइलेटको छेउमा बाघ जस्तो देखेर म उफ्रिएर भागेको थिएँ तर केटाहरूले कुनै जनावर नदेखेर मलाई ढँटुवा भनेका थिए।

    तर, सत्य रहेछ किनभने भोलिपल्ट स्कुल सुरु हुनुभन्दा अगाडि मन्दिरको पिँढीमा बसेर पढिरहेकी कल्पना बहिनीले सोधिन्, ‘हिजो किन त्यसरी भाग्नुभएको डब्बु दाइ?’ मैले उल्टै उनलाई सोधेँ, ‘किन यति छिट्टै आएकी त तिमी?’

    ‘म? आमा आज काममा चा“डै जानुभयो अनि आमाले पुर्‍याइदिनुभएको। हजुर किन भाग्नुभएको?’, मोटो पावरवाला चस्मा लगाउने त्यो फुच्चीसँग आठमा हुँदा परिचय भएको थियो। मैले पहिलो पटक देख्ने दिन नै लागेको थियो, यो फुच्ची नया“ हो। टिफिन टाइममा एक्लै त्यही पिँढीमा बसिरहेकी देखेर मलाई बोल्न मन लागेको थियो। उनको अनुहारले उनी निर्दोष, दुखी र एक्लो जस्तो लागेको थियो। मैले उनलाई सोधेको थिएँ, ‘तिम्रो नाम के हो नि बहिनी?’

    उनले डराएजस्तो गरेर जवाफ दिएकी थिइन्, ‘मेरो नाम? मेरो नाम कल्पनाकुमारी गुरुङ हो।’ आधुनिक मात्र होइन, अत्याधुनिक नाम राख्ने जमानामा त्यस्तो नाम सुनेर मलाई हल्का अचम्म लागेको थियो। अनि, मैले अर्को प्रश्न गरेको थिए“, ‘तिम्रो घर कहाँ हो नि?’

    अर्को अचम्म पार्ने उत्तर पाएको थिएँ, ‘घर? हाम्रो घर छैन दाइ, हामी त भाडामा बस्छ।’ त्यस्ती फुच्चीको इमान्दार उत्तरले मलाई सेन्टी बनाइदिएको थियो। म पनि कतिकति वर्षदेखि भाडामै बस्दै आएको थिए“ तर अरूलाई भाडाको कोठामा बस्छु भन्नलाई हेबी बिल्ला लाग्थ्यो र कसैले तिमीहरू कसको घरमा बस्छौ भनेर सोधेमा ‘ह्युमिलियट’ अनुभव गर्थेँ। तर, कल्पना बहिनीले त्यो कुरा भनेको दिनमा मलाई अर्कै अनुभव भयो, मलाई त्यो फुच्चीको माया लागेर आयो र मैले भनेको थिएँ, ‘हामी पनि भाडामै बस्छौँ, बहिनी अनि कतिमा हो नि तिमी?’

    ‘म? म तीनमा, गाउ“मा त चारमा थियो, इङ्लिस गाह्रो भएर तीनमा राखेको रे!’ त्यति बेला बोल्दा डराएर रातो भएकी बहिनी आजचाहिँ ढुक्कले मेरो बारेमा सोधिरहेकी थिइन्। मैले भनेँ, ‘ममी–बाबाले फी नतिरेकोले मलाई प्रिन्सिपलले पनिस्मेन्ट दियो अनि रिस उठेर भागेको।’ आत्तिएकी जस्ती हु“दै भनिन्, ‘फिस तिरेन भने त्यस्तो हुन्छ?’

    ‘हो त, फी टाइममा तिरेन भने इग्जाम दिन पाइन्न नि तर तिमीलाई त्यस्तो नगर्ला, तिम्रो त बाबा कतारमा हुनुहुन्छ, हैन? टेन्सन छैन।’ उनी खिस्रिक्क हाँसिन् तर अझै पनि उनका आँखाबाट डर उडिसकेको थिएन। उनलाई बेस्ट अफ लक दिएर म डाइनिङ हलतिर गएँ।

    जुन दिन म पनि भाडाको कोठामा बस्छु भनेर मैले उनलाई भनेको थिएँ, त्यसपछि मैले अरूलाई मेरो घरको बारेमा भन्दा कति पनि बिल्ला लागेन। साँच्चै भन्ने हो भने कल्पना बहिनीलाई अगाडि देख्दा मलाई राम्रो लाग्छ, मलाई खुसी लाग्छ र हार्फोर्डमा केटाहरूले बोल्ने छाडा शब्दहरू उनले नसुनोस् जस्तो लाग्छ। मलाई के लाग्छ, म राम्ररी बयान गर्न सक्दिनँ। छोटकरीमा भन्ने हो भने यदि मेरो पनि कुनै बहिनी भएकी भए कल्पना जस्तै हुन्थिन् होला।

    साइन्सको परीक्षा भ्याइसकेपछि डबल सरले पनि मलाई आफ्नोे अफिसमा बोलायो। डबल सर र गुरु हिजै दिल्लीमा भएको त्यही बाह्र बुँदेको गफमा व्यस्त थिए। हात पछाडि गरेर डराउँदै त्यहाँ पुग्दा डबल सर आफ्नोे कुर्सीबाट उठ्यो र अलिअलि हाँस्दै मेरो छेउ आयो। मलाई सोफामा बसायो र मलाई अचम्म पारेर आफू पनि मेरै छेउमा बस्यो।

    डाइरेक्टर डबल सरको कोठा बिरालोको कोठासँगै जोडिएको छ। त्यो कोठा प्रिन्सिपलकै कोठा जस्तो सजाइएको हुन्छ। त्यहाँ एउटा अर्को थप दराज छ, अमर दाइहरूले दिएको उपहार। भित्ताजत्रै ठूलो सरस्वती माताको फोटो छ। त्यहाँ ल्यापटप छैन, जमानाको डेस्कटप कम्प्युटर छ, मनिटर भने एलसिडी राखिएको छ। डाइरेक्टर सरलाई पनि आफ्नोे नयाँ कुर्सीको ठूलो माया हुनुपर्छ, त्यसमाथि पनि एउटा थोत्रो तौलियाले छोपेर राखिएको हुन्छ। डबल सरको कोठाको भित्तामा टाँसिरहेको घडीमा सधैँ बाह्र बजिरहेको हुन्थ्यो।

    डबल सरको नामको बारेमा कथा छ। पा“चमा पढ्ने बेलामा हो। वसन्तपञ्चमी, श्रीपञ्चमी अर्थात् सरस्वती पूजा थियो। जाडो भए पनि पूरा सेतो धोती लगाएर, बाक्लो रौँ भएको छातीको जनै देखाएर त्यति बेलाको प्रिन्सिपलले हामीलाई भन्न लगाएको थियो– सरस्वतीमयाः द्रष्टा वीणा पुस्तक धारिणी... ! पूजा सिद्धिएपछि पदम, हरिश र म लाइनमा थियौँ। प्रसाद थाप्ने बेलामा दाइहरूले बीचमा घुसेर प्रसाद थापेका थिए। फेरि अर्को राउन्ड प्रसाद थाप्न दाइहरूले निधारको टीका पखालेका थिए।

    पछि बल्लतल्ल अगाडि पुगेर हामीले प्रसादको लागि कच्याककुचुक परिसकेको प्लास्टिक थाप्दा प्रिन्सिपल प्लस पुजारीले टाउकोमा हल्का पिट्यो, त्यही लठ्ठीले तर हेवी दुख्यो। टाउको सुम्सुम्याउँदै र आश्चर्य मात्र हैन, हेवी आश्चर्य मान्दै हामीले सरलाई हेरिरहँदा सरले आँखा ठूलो र रातो पार्दै भन्यो, ‘प्रसाद जस्तो कुरा पनि डबल खान हुन्छ? झन् सरस्वतीको प्रसादमा लोभ गर्‍यो भने विद्या नष्ट हुन्छ। जा, डबल खान खोज्नेहरू!’

    त्यो कालो रङ लगाएको सबैतिर डल्लोडल्लो चुच्चिएको पुलिसको जस्तो लठ्ठीले मेरो आ“सु नै झार्‍यो। तर, रूनचाहिँ रोइनँ। पदमले चुपचाप टाउको सुम्सुम्यायो। हरिशलाई केही भएन। प्रसाद नचाखीकन र टीका पनि नलगाईकन हामी घर फर्केका थियौँ। त्यही दिनदेखि कोइराला सरको अर्को न्वारन गरिदियौँ हामीले– डबल। ढाँटेको भए विद्या नष्ट ल!

    डबल सरको खुइले तालु देख्न पाउने भाग्यमानीहरूमध्ये म पनि एक जना हुँ। एउटा सानो फ्ल्यासब्याकमा जाऊँ। एक दिन मलाई ढिलो भएको थियो। घण्टी लागिसकेको थियो। उता, एसेम्बली चलिराखेको थियो– स्टेन्ड एट इज, एटेन्सन...! म हलमा डराउँदै उभिइरहेको थिएँ। बाहिर डबल सर बाइकमा आयो। डराउँदै बाहिर हेरिरहेँ। डबलले बाइक रोक्यो, यताउति हेर्‍यो। घामबाट आएर होला, मलाई देखेन अथवा मलाई फुच्चे ठानेर ड्यामकेयर गरेको पनि हुन सक्छ, के थाहा!

    डबल सरले हत्तपत्त हेल्मेट खोल्यो र पहिल्यै कोटको गोजीबाट झिकेर तयार राखेको ढाका टोपी लगायो। बाइकको ऐनामा हेरेर टोपी मिलायो। त्यो काम यति छिटो भयो कि के भयो भनेर हेर्न स्लो मोसनमा जानुपर्ने भयो– रिप्लेमा डबल सरको कानवरिपरि र पछाडि मात्र पातलो कपाल थियो। बाँकी सफाचट थियो– अनुहारभन्दा गोरो थियो र टिलिक्क टल्किराखेको थियो। डाइनोसरको अण्डा त्यस्तै हुन्थ्यो होला। 

    त्यतिखेर मात्र केही सेकेण्ड देखेको दृश्य अहिलेसम्म स्पष्ट सम्झिराखेको छु। डबललाई सम्झिने कुबेलामा प्रायः मलाई लाग्छ, बिहान मुख धुने बेलामा डबलले कहाँसम्म धुन्छ होला? किनभने निधार त पछाडिसम्मै पुगेको छ। त्यो दिनमा ढिलो भएवापत प्रिन्सिपलको पिटाइ खाइनँ। ‘मेरो तालुको बारेमा कसैलाई नभन्लास् है!’ भनेर मलाई साइकोलजिकल घुस दिएको पनि हुनुपर्छ। भित्र हलमा आइपुगेपछि मलाई ‘ढिलो नआउने ल, गोर्की बाबू?’ भन्यो र माथि चढिहाल्यो।

    कामिरहेका मेरा खुट्टाहरू बल्ल शान्त भए र मुटुको ढुकढुक नर्मल भयो। त्यो भूतपूर्व ठालुको तालुको कुरा मैले त्यति बेला कसैलाई बताइनँ, बताएमा पिटाइ खाइएला भने ठूलो डर थियो। त्यो दिनबाहेक मैले डबल सरको टाउकोमा सधैँ ढाका टोपी देखेको छु। आजभोलि त हेल्मेटले पनि छोप्दैन, कारमा सररर चढेर आउँछ।

    मैले नभोगेको तर धेरै सुनेको कुरा पनि लेखिदिऊँ। के भनिन्छ भने, कोइराला सर फाउन्डर सरको कुनै मीतको नातेदार थियो। भर्खर खोलेको हार्फोर्डमा भर्खर आएको लीलकुमार सर लगभग पाखे नै थियो। टेलिफोन चलाउन, टाइपराइटरमा दुइटा मात्र औँलाले टाइप गर्न, टाई लगाउन र सबभन्दा चाहिने कुरा ब्रोकन इङ्लिस बोल्न सिकेपछि बिस्तारै फाउन्डर सरले मान्न थाल्यो।

    भाइस प्रिन्सिपल हुनको लागि फाउन्डरको घरमा राँगाको सुकुटी बनाउनेदेखि लिएर कुचो लगाउने र फाउन्डर्नीलाई तेल लगाएर मालिससम्म गरिदिन्थ्यो। धेरै समयसम्म पनि फाउन्डरले डबल सरलाई पत्याएको थिएन तर फाउन्डर्नीको सोर्सफोर्सपछि डबल सरले एकैचोटि डबल प्रमोसन पायो। यस्ता कुराहरू बिरालोले धेरै पटक हामीलाई सुनाइसक्या हुनाले पछि डबल सरले मलाई मानहानिको केस लगाउला भन्ने डरचाहिँ छैन।

    डबल सरका थप पुराना कुराहरू कोट्याउन छोडेर अहिलेचाहिँ डाइरेक्टरको अफिसमा जाऊँ। बाक्लो र दामी कोट, जुन हल्का खरानी रङको थियो, को बाहुलाले मेरो रङ उडेको नीलो कोटको बाहुला छोइराखेको थियो। मलाई हेवी अप्ठेरो लाग्यो। सरले आफ्नोे चिन्डे तालु सधैँझैँ ढाका टोपीमुन्तिर लुकाइराखेको थियो। पहिला पहिला जुँगा मात्र पाल्ने डबल सरले अब फ्रेन्च कट दाह्री पनि राख्न थालेको थियो। डबल सरको अनुहार फिक्सचाहिँ हुँदैन, आफ्नोे दाह्री र जुँगाको कट फेरिरहन्छ।

    आज निकै फ्रेङ्क हुँदै थियो र कुनै साथीलाई जस्तै बोल्न थाल्यो, ‘हेर गोर्की, जीवनमा कस्ता–कस्ता स्थितिहरू आइपर्छन् भन्न सकिन्नँ, आपतमा आत्तिने र सुखमा मात्तिने गर्नुहुँदैन। मान्छेले तात्तातो निर्णय पनि गर्नुहुँदैन। केटाकेटीले आफूभन्दा सिनियरहरूको कुरामा माइन्ड गर्नुहुँदैन। तिम्रो बाले, वहाँ भूपति गुरुले र मैले तिमीलाई गाली गर्दा अथवा सजाय दिँदा उद्देश्य एउटै हुन्छ, एउटा किशोरमा एउटा असल मानवको विकास होस्। हेर गोर्की, औषधि र अर्ति मीठा हुँदैनन् तर कालान्तरमा ती काम लाग्छन्। हिजो तिमीहरूलाई कुखुरा बन्न दिएको सजाय फीसँग जोडिएको थिएन, बुझ्यौ कि नै! तिम्रा बाआमालाई किन खबर गरेनौ भनेर लोहनी सरले यहाँ बोलाउनुभएको थियो तर वहाँको कुरालाई तिमीहरूले हाँसेर उडाइदियौ। त्यसैको फलस्वरूप कुखुरा बन्नुपरेको हो तिमीहरूले, बुझ्यौ कि नै! अनि जुन घटना त्यसपछि विकसित भएर गयो, त्यसको लागि म तिमीबाट खुसी छु। तिमीले जुन कदम उठायौ, त्यो विद्रोहको सानो झिल्का हो, त्यो झिल्कालाई आगो बनाऊ र समाजमा पहिलेदेखि कायम रहँदै आएको अन्याय, अत्याचार र थिचोमिचोलाई समाप्त पार, बुझ्यौ कि नै? हाम्रो समाजमा, हाम्रै देशमा मान्छेहरू अन्धा छन्, कान सुन्दैनन्, तिमी जस्ता विद्रोहीहरूको अति जरूरी भैसकेको छ गोर्की! स्कुल–कलेज पढेर डाक्टर, इन्जिनियर बन्नु मात्र विद्यार्थीको उद्देश्य हुनुहुँदैन, त्यस सँगसँगै समाजमा आमूल परिवर्तन ल्याउन इच्छाशक्तिको पनि आवश्यकता छ। तिम्रो हिजोको विद्रोेह प्रिन्सिपल सरसँग वा स्कुलसँग थियो, अब यसलाई फराकिलो पार अनि हेर के हुन्छ नेपालमा...!’

    मलाई अब त्यस्तै हुन थालिसकेको थियो। मेरै छेउमा बसिरहेको डाइरेक्टर अचानक टाढा देखिरहेको थिएँ। मैले त्यसो हुन नदिन आँखालाई यताउता घुमाएँ। मुखलाई हातले छोपेर थाहा नदिने किसिमले हाई काढेँ। तर, पनि मलाई डबल सरको नाकले पो बोलिरहेको जस्तो लाग्यो। कोइराला सरको मोनोटनस बनाउने बोली जारी नै थियो, ‘अनि मलाई थाहा छ, सानोमा एक–दुईतिर तिमीमा विलक्षण प्रतिभा थियो। मलाई लागेको थियो, हार्फोर्डले एक जना जिनियस विद्यार्थी पनि पाएको छ। तिम्रो पढाइमा ह्रास आयो भनेर सरहरू भन्नुहुन्छ तर म मान्दिनँ, बुझ्यौ कि नै? चाहेमा अझै तिमीभित्र प्रतिभा छ। कोसिस गरिराख्नुपर्दैन, एकचोटि तिमी आफैँ आफ्नोे महत्त्वलाई सम्झ, त्यो पुरानो डब्बु फेरि आउँछ, नपढ्नेलाई समय छैन, पढ्नेलाई प्रशस्तै छ। तिमीमा त राजन ढेवाजुलाई जित्ने खुबी छ, बुझ्यौ कि नै?’

    डबल सरले त्यसो भनिरहँदा म उसको हातलाई हेरिराखेको थिएँ। मोटामोटा औँलाहरूका डिजिटको बीचमा लामालामा रौँ आएका थिए र दुइटै हातमा औँठी लगाइएको थियो। एउटा सुनको बेरुवा थियो, अर्कोचाहिँ कुनै पत्थरको। डबल सरले बिरालो दोषी हो भनेर भनेको हो कि, मेरो बा दोषी हो भन्न खोज्या हो, मैले बुझिनँ अनि विद्रोहको झिल्का भन्या के हो, मैले बुझिनँ। समाज, राष्ट्र, के–के भनेर मलाई के भन्न खोज्या हो, मैले बुझिनँ। त्यसैले त्यस्ता कुरालाई एउटा कानले सुनेर त्यही कानले उडाइदिएँ। राजनलाई जित्न सक्छस् भन्दा सरले अलि बढी नै भन्या जस्तो लाग्यो। जे होस्, त्यहाँबाट निस्कने बेलामा डबल सरले बाहिरसम्म आएर मलाई धाप मार्‍यो।

    डाइरेक्टरको कोठाबाट निस्करहँदा मलाई फ्ल्यासब्याकले अतीततिर डोर्‍यायो। त्यति बेला डाइरेक्टर भन्ने पद थिएन हार्फोर्डमा। डबल सर नै प्रिन्सिपल थियो। नेपाली, सोसल, पोपुलेसन, हेल्थ सबै पढाउन सक्ने मात्र होइन, स्कुलमा हुने पूजाआजामा पनि पण्डितको काम गर्न सक्ने भएर प्रिन्सिपलको हेव्वी इज्जत थियो। त्यति बेलाको फाउन्डरले पनि डबललाई मानेर इज्जत दिन्थ्यो भन्ने हल्ला हार्फोर्डमा बेला–बेलामा चल्थ्यो। घर्ती सरको भनाइ सापटी लिएर भन्ने हो भने सर–मिसहरूलाई सेलरी दिने बेला आएपछि डबल सरलाई हेवी ज्वरो आउँथ्यो र निधार खुम्च्याउँदै सर–मिसहरूको क्लासमा आएर हेर्थ्यो। परीक्षाको बेलातिर डबल सर टेन्सनमा हुन्थ्यो, आफैँ कक्षामा आउँथ्यो र एडमिट कार्ड चेक गर्थ्यो।

    एक दिन त बूढोले हामी केहीलाई स्टेजमा यति लामो समयसम्म उभ्याइदियो, लागेको थियो कि आज जाँच दिन पाइन्न। हामी स्टेजमा उभिरहेका थियौँ र काम परेर डबल सर अफिसमा पस्यो र त्यहीँ हरायो। त्यतिखेरका प्रिन्सिपल डबललाई कसैले केही भन्न सक्दैनथे। नदिए नदिउँला भन्दै हामी बिल्ला मान्दै उभिरह्यौँ। त्यति बेला बिरालो घरिघरि हाम्रो अगाडि आयो र हामीलाई देखेर टिठ लागेको र डबल सर देखेर रिस उठेको भन्दै भयंकर दुखी अनुहार बनायो। पछि प्रिन्सिपललाई भनिदिएर बिरालोले हेव्वी ठूलो कल्याण गरिदियो र हामीले जाँच दिन पायौँ।

    आठको जिल्लास्तरीय परीक्षाको मार्कसिट हामी धेरैले पछि मात्र हेर्न पाएका थियौँ। डबल सरलाई हेवी डर लागेको थियो होला, हामी अर्कै स्कुलमा पढ्न गैजाला भन्ने। हुन पनि आठ पास हुनेबित्तिकै मार्कसिट पाइरहेको र बिरालोहरूले पनि ठ्याक्कै नयाँ स्कुल खोलेको भए हामीहरू धेरै त्यहाँ गैरहेका हुन्थ्यौँ होला। कोही एचएसबीएस जाने, कोही अन्तै जाने सल्लाह भइसकेको थियो। तर, हामी कतै गएनौँ। आज गाली खानुको सट्टा धाप खाँदा मलाई अचम्म लाग्यो।

    (बुकहिलद्वारा प्रकाशित तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’को अंश)

तीर्थ गुरुङ

लेखक गुरुङको हालै 'पाठशाला' पुस्तक प्रकाशन भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]