|
फाइल फोटो

दार्चुला : भाद्र शुक्ल पञ्चमी (बिरुडा पञ्चमी) सुरु भएसँगै प्रदेश नम्बर सातमा गौरा पर्व सुरु भएको छ। पाँच अन्नलाई केलाएर गौरा घरमा लगेर भिजाई गौरापर्वको विधिवत सुरुवात गरिन्छ। सात नम्बर प्रदेशभर पाँच दिनसम्म गौरा पर्व मनाइन्छ, तर दार्चुलाको ठूलो भूगोलमा भने मनाइदैन।

जिल्लाका उत्तरी क्षेत्र दुहुँ र मार्माको अधिकांश भूगोलमा गौरा पर्व मनाइँदैन। यो क्षेत्रमा ठकुरी र ब्राम्हण परिवार र केही क्षेत्री परिवारले मात्र गौरा पर्व मनाउने स्थानीय अगुवा बताउँछन्। मार्मा र दुहुँका अधिकांश वासिन्दाका लागि गौरा नौलो पर्व मात्रै नभई ब्राह्मण ठकुरी र क्षेत्री समुदायले लगाउने जनै समेत नौलो हो।

वि.सं. २००९ सालपछि मात्रै धेरैले ब्राह्मणमार्फत जनै राखेको बताउने नेपाल वुद्धिजीवि परिषद् दार्चुलाका सदस्य धानसिंह महता गौरा पर्व मनाउने चलन केही ब्राह्मण र ठकुरी परिवारमा मात्रै रहेको बताउँछन्। साविकको सितोला गाविस २ घर भएका महता मार्मा क्षेत्रको लटिनाथमा सिंह र जोशी परिवारले मात्रै मनाउने गौरा पर्व अरुले सिको गरेको बताउँछन्।

मार्माको केही समुदायबाहेक अरुले गौरा पर्व मनाएको इतिहास नभएको दार्चुला बहुमुखी क्याम्पसका उप प्राध्यापक मदनसिह कार्की बताउँछन्। कसै कसैले गौरा बाघले खाएको भन्ने सुनिन्छ तर बुढापाकाहरुले गौराका बारेमा धेरैपछि मात्रै थाहा भएको बताउने गरेको उनको भनाइ छ। खण्डेश्वरी घर भएका कार्की सो क्षेत्रमा ब्राम्हण परिवारले मात्रै गौरा मनाउने गरेको बताउँछन्।

यता दुहुँ क्षेत्रको मुख्य गर्खा मानिने हिकिलामा पनि ब्राम्हणबाहेक अरु परिवारले गौरा मनाउँदैनन्। पूर्खाहरुले पनि गौरा मनाएको आधिकारिक प्रमाण पाउन नसकिएको दुहुँ गाउँपलिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की बताउँछन्।

समाज विकासको अध्ययन गर्ने हो भने खस राज्यका बासिन्दाले गौरा नमनाउने गरेको र भारतका विभिन्न क्षेत्रबाट बसाईं सरी आएका बासिन्दाले मात्रै गौरा मनाउने गरेको अध्ययनले देखाउने हिकिलाका स्थानीय समेत रहेका कार्कीले बताए।

समग्र दुहुँमा ब्राम्हण र ठकुरी (पुराना रजौटा) ले मात्रै गौरा मनाउने गरेको र पछिल्लो समय अन्य जातजातिले पनि गौरा मनाउने क्रम बढेको अध्यक्ष कार्की बताउँछन्। गौरा नमनाउनेहरुको गौरा बाघले खाएको लोकोक्ति पाइएको भए पनि सबै जातको सबै भूगोलका गौरा बाघले कसरी खायो? भन्ने तर्क सान्दर्भिक नभएको उनको भनाइ छ।

धौलाकोट गाविसमा पनि केही परिवारले मात्रै गौरा मनाउने गरेको वडा नम्बर ३ का वीरसिंह धामी बताउँछन्। आफ्नो क्षेत्रमा केही क्षेत्री र ठकुरी तथा ब्राम्हण परिवारले मात्रै गौरा मनाउने गरेको उनको भनाइ छ।

उमेरले ९० पुग्नै लागेका अपी नगरपालिका ६ बस्ने धनरामसिंह धामी आफूले बालककालदेखि क्षेत्री परिवारमा गौरा मनाएको नदेखेको बताउँछन्। ‘हामी बालक छँदा हिकिलाका ब्राम्हणहरुको खलोमा गौरा हेर्न जान्थ्यौं’ उनले भने। धामीहरुको गौरा बाघले खाएको भन्ने गरेको पाइए पनि आफ्ना पुर्खाहरुले गौरा मनाउने नै नगरेको बताएको उनी स्मरण गर्छन्।

दुहुँ र मार्मामा दार्चुला जिल्लाका ९ स्थानीय तहमध्ये ५ स्थानीय तह पर्दछन् र त्यहाँका केही जातबाहेक अरुले गौरा मनाउँदैनन्। अर्थात दार्चुलाको अधिकांश भूगोलका रैथानेहरुले गौरा मनाउँदैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.