|

कालिकोट : तत्कालिन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय वासिन्दाले पहल थालेका छन्।

हाल खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिली सशस्त्र द्वन्द्वको बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको युद्धको रुपमा लिइन्छ। २०६२ साल साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्त १ सय ३ जनाको मृत्यु भएको थियो। अहिले यो गाउँलाई युद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी काम अघि बढाइएको स्थानीय मानबहादुर मल्लले बताए। ‘माओवादी र तत्कालिन शाही सेनाको सबैभन्दा ठूलो युद्ध यहीँ भएको हो’ उनले भने, ‘सबैभन्दा बढी मानवीय क्षति भएको यसलाई हामी युद्ध पर्यटन क्षेत्रका रुपमा विकास गर्न खोज्दैछौं।’

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बाटोमा पर्छ पिली। त्यसैले रारा घुम्ने पर्यटकले पिलीमा गाडी रोकेर तत्कालीन माओवादी र राज्यको सेनाबीच युद्ध भएको ठाउँ अवलोकन गर्न सक्ने भएकाले गाउँमा पर्यटकीय पूर्वाधार विकास गर्न लागिएको जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए।

‘माओवादी जनयुद्ध बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सँधैभर चिनाउन र युद्धको अवशेषहरु देखाउन तथा स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना छ’ उनले भने, ‘युद्ध पर्यटकीय स्थल र लडाई भएका ठाउँमा भग्नावशेष र लडाईमा प्रयोग भएका बंकरको संरक्षण गर्ने तयारी थालिएको छ। लडाई प्रयोग भएका हतियार समेत संकलन गर्ने तयारी गरेका छौं।’

पिली आक्रमणमा माओवादी पक्षबाट १३ श्रमिक र ६२ जना सैनिक गरी ७५ जनाको मारिएका थिए भने राज्य पक्षबाट २८ जना माओवादी सैनिक मारिएङ्का थिए। माओवादीबाट मारिएकाहरुको सम्झनामा स्मारक समेत बनेको छ भने राज्य पक्षबाट मारिएकाको उल्लेख गरिएको छैन।

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउने लगायतका योजना रहेको पिली युद्ध पर्यटनका अध्यक्ष पुत्रबहादुर मल्लले बताए। ‘कर्णाली राजमार्ग निर्माण क्रममा ०६२ वैशाखमा राखिएको तत्कालीन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा आक्रमण भएको थियो' उनले भने, ‘पिलीमा भएको लडाई भएको लडाई मारिनेको फोटो, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने लक्ष्य लिएका छौं।’

पर्यटकलाई लक्षित गर्दै होमस्टे

पिली गाउँमा पर्यटकलाई लक्षित गर्दै स्थानीयले होमस्टे पनि सञ्चालन गरेका छन्। ‘गाउँमा पर्यटक आउने दर बढ्दै गएको छ’ स्थानीय तथा होमस्टे ब्यवसायी भरतबहादुर मल्लले भने, ‘पर्यटकहरु पारिवारिक वातावरणमा बस्न रुचाउने भएकाले होमस्टे सञ्चालन गरेका हौं।’

होमस्टे ब्यवसायबाट स्थानीयले राम्रो आम्दानी र गाउँको लोक संस्कृति पनि प्रचार प्रसार हुँदै जाने भएकाले स्थानीय खाना, स्थानीय भेषभूषा प्रयोग गर्न थालिएको जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए। ‘गाउँमा सबै स्थानीय खाना परिकार दिने गरेका छौं’ उनले भने, ‘स्थानीय भाषा सस्कृतिको पनि विकास गर्न लागिएको छ।’

होटलहरु बालश्रमिक मुक्त

पर्यटन क्षेत्रका रुपमा विकास गर्न थालिएपछि पिलीका सबै होटेललाई बाल श्रमिकमुक्त होटेल बनाइएको छ। होटेलहरुमा बास बस्न देशी तथा बिदेशी पर्यटक आउन थालेपछि बालश्रमिक मुक्त होटेलको अवधारणा ल्याएको स्थानीय होटेल ब्यवसायी धनबहादुर कार्कीले बताए। ‘पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गएको छ’ उनले भने, ‘बाल श्रमिक राख्नु गैरकानुनी व्यवस्था हो। त्यसैले बाल श्रमिकमुक्त होटेलको ब्यवस्था गरेका हौं।’

पिलीमा अहिले कसैको होटेलमा पनि बालश्रमिक नरहेको बाल श्रमिक राखेको होटेल पनि सञ्चालन गर्न नदिने नियम बनाइएको होटेल सञ्चालक नरबहादुर मल्लले बताए। ‘कसैले पनि बाल श्रमिक काम लगाउन पाइदैन’ उनले भने, ‘होटेलमा कसैले बालश्रमिक राखे हामीले ग्रैरकानुनी नियम विपरीत मान्दै आएका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.