|

दमकः वि. सं. २०४० अघिसम्म दमकमा एउटा पनि चलचित्र हल थिएन। हिउँदको समयमा पालले बारेर चलचित्र देखाइन्थ्यो। बर्खामा उठाएर लगिन्थ्यो। हिउँद महिनामा चल्ने कुनै पनि चलचित्र उनी छुटाउँदैनथे। नयाँ फिल्म चल्नासाथ उनी विद्यालय नै छाडेर हेर्न जान्थे। उनी अर्थात् झापा दमक– ५ का हेमन्त बुढाथोकी। 

उनलाई त्यस बेला नै आफूलाई पर्दामा देखिने ठूलो रहर थियो। नाटक गर्ने र फिल्म खेल्ने उत्साह कक्षा– ८ पढ्दादेखि नै थियो उनमा। त्यतिबेला  नाटकमा अभिनय गर्ने कलाकार त्यति पाइँदैनथे। नाटक गर्ने तथा फिल्म खेल्नेहरूलाई त्यस समय त्यति राम्रो पनि मानिँदैनथ्यो। बुढाथोकी भन्छन्, ‘त्यतिबेला चेतनाको कमी भएकाले कलाकारलाई राम्रो रूपमा हेरिँदैनथ्यो, नाटक खेल्न गयो भने त बिग्रन गएको भन्ने सम्झन्थ्यो समाजले।’ तर कहाँ उनले आफ्नो इच्छा परिर्वतन गर्न सक्थे र!

समाजले जे भने पनि, परिवारले सहयोग नगरे पनि उनको लक्ष्य बदलिएन। उनी एउटा चर्चित कलाकार बने। उनको नेपाली चलचित्र क्षेत्रमा चलेका खलनायक पात्र बने। 

०३९ सालमा दमकको हिमालय माविबाट एसएलसी पास गरेपछि उनी मेची क्याम्पस भद्रपुर अध्ययनका लागि गए। आइए त्यहीँबाट सके उनले। तर कलाकारितामा आफ्नो भविष्य देखेका हेमन्तले आइए सकिसक्दासमेत नाटक गर्ने अवसर पाएनन्। उनलाई त्यसपछि चिन्ताले सतायो। उनले स्नातक काठमाडौँमै पढ्ने र त्यहीँ गएर नाटक सिक्ने निधो गरे। त्यसपछि ०४५ सालमा काठमाडौँतिर हान्निए हेमन्त।

त्यसपछि उनले नाटकमा खेल्ने सोच बनाए। त्यसपछि उनी नवप्रतिभा नाट्य समूहमा संगठित भए। ‘त्यसबेला मलाई प्रष्ट थाहा थियो, कलाकारितामा पैसा छैन’, उनी भन्छन्, ‘तर मेरो लक्ष्य नै नाटक खेल्नु थियो, त्यसैले नाटकतर्फ लागेँ।’ दमककै रहेको उक्त नाट्यशालामा उनलाई पनि रमेश पाठकले बोलाए। उनले सुरुमा त नाटक खेल्न पाएनन्। पहिलो पटक नाटक समूहमा प्रवेश गरेर टिकट बेचे। ‘सुरुमै नाटक खेल्न पाइनँ, मैले ‘युगको प्रतिविम्ब’ नाटकमा टिकट बेचेँ’, उनी भन्छन्, ‘त्यसपछि ‘झूटो रहेछ गीता पनि’ नामक नाटकमा पहिलो पटक भूमिका पाएँ।’

हेमन्त पढ्न गएका कारण घरबाट पैसा आउँथ्यो र त्यतिबेला उनलाई खासै समस्या पनि थिएन। उनले नाटक खेल्न थालेको घरमा थाहासमेत थिएन।

२०५१ देखि सुरु भयो फिल्मयात्रा

उनी नाटकमा सीमित रहेनन्। आफूलाई पर्दामा देखाउने लक्ष्य पनि पूरा गरे हेमन्तले। ०५१ सालमा ‘सौता’ फिल्म अभिनय गर्ने मौका पाए। ‘हामीसँगै नाटक खेल्ने साथी नारायण पुरीले बनाएको फिल्म भएर मैले आफ्नो अभिनय गर्ने मौका पाएँ’, हेमन्त भन्छन्, ‘पहिलो पटकको फिल्ममा सहखलनायकको भूमिका पाएँ।’

त्यसपछिका चलचित्रमा उनले मुख्य खलनायकका रूपमै अभिनय गर्ने अवसर पाए। हेमन्त एक समय निकै रुचाइएका खलनायक बने। ‘पहिला घरबाट पनि पढेको छोराले नराम्रो बाटो समायो भनेर गाली गर्नुहुन्थ्यो’, बुढाथोकी भन्छन्, ‘पछि नाम चल्न थालेपछि सपोर्ट गर्नुभयो।’ 

०५० को दशकमा उनी निकै ‘हिट’ र व्यस्त कलाकार बने। उनले ६० वटाभन्दा धेरै चलचित्रमा अभिनय गरे। तीमध्ये धेरै चलचित्र हिट पनि बने। उनले खेलेका ‘मोहनी’, ‘शंकर’, ‘पृथ्वी’, ‘सिमाना’, ‘बाटोमुनिको फूल’, ‘अग्नि परीक्षा’लगायत चलचित्रले गर्दा उनले राम्रै नाम कमाए। उनको अभिनयलाई दर्शकले रुचाउन थाले। यसपछि बजारमा उनको माग पनि बढ्यो।

कलाकारिताबाट धेरै ठूलो काम भने गर्न नसकिने बताउँछन बुढाथोकी। ‘कलाकारिताले नाम पाइन्छ, धेरै दर्शकको माया पाइन्छ तर पैसै कमाउनचाहिँ कलाकारिता गर्छु भनेर नसोच्दा पनि हुन्छ’, उनी भन्छन्, ‘त्यसको अर्थ कमाइँदैन भन्ने होइन, आफ्नो परिवारचाहिँ पाल्न सकिन्छ।’

सबैजसो चलचित्रमा खलनायक पात्रका रूपमा अभिनय गर्दा दर्शकले बुढाथोकीलाई नकारात्मक रूपमा हेर्थे रे! भन्छन्, ‘सबै फिल्म खलनायक भएर खेलियो, दर्शकहरूले पनि प्रत्यक्ष भेटमा पनि खलनायकका रूपमा नै हेर्थे।’ आफूलाई देखेर धेरै तर्किएर पनि हिँड्थे रे! ‘धेरैलाई थाहा थिएन खलनायक त मेरो अभिनय मात्र हो भन्ने’, बुढाथोकी भन्छन्।

‘गुणात्मकतामा ध्यान दिन्छु’
उनी अहिले पहिलाको जस्तो अफर आएका सबै फिल्म खेल्न छाडेका छन्। ‘अब पहिलाको जस्तो फिल्म खेल्दिनँ, पहिला त अफर आएका सबै खेलिन्थ्यो’, हेमन्त भन्छन्, ‘अब मनले खाएका खेलिन्छ।’ अब संख्यात्मक होइन, गुणात्मकमा ध्यान दिने उनले बताए। ‘थोरै खेल्छु तर उत्कृष्ट खेल्छु’, बुढाथोकी भन्छन्।

पछिल्लो समय चलचित्रमा धेरै परिवर्तन आएको उनी बताउँछन्। ‘पहिला एक समय चलचित्रको क्रेज राम्रो थियो, पछि सबै हिन्दीको कपी हुन थाल्यो’, उनी भन्छन्, ‘अहिले धेरै परिर्वतन छ, मौलिक चलचित्रले स्थान पाएको छ।’

उनले लामो समय काठमाडौँमा बस्दा पनि एउटा पनि घर जोड्न सकेनन्। भन्छन्, ‘कलाकारिताबाट पैसा कमाउन सकिन्न, यत्रो वर्ष कलाकारितामा संघर्ष गरियो, एउटा घर पनि जोड्न सकिएन।’ श्रीमती, एक छोरा र एक छोरीलाई काठमाडौँमा भाडामा राखेरचाहिँ कलाकारिताबाटै कमाएर घर व्यवहार टारेको उनी बताउँछन्।

आफ्नै ठाउँमा थिएटर स्थापना
पछिल्लो समय उनी दमकमा बढी बस्न थालेका छन्। आफ्नै ठाउँमा बसेर केही गर्ने सोचका साथ उनी दमक फर्किएका हुन्। हेमन्त भन्छन्, ‘म अहिले काठमाडौँभन्दा धेरै झापामा हुन्छु, अब मैले रंगमञ्चबाट केही गर्ने सोच बनाएको छु।’ उनी अहिले दमकमा नाटक विकास गर्ने उद्देश्यका साथ अघि बढेका छन्।

अहिले कदम थिएटरको अध्यक्ष भएर उनी रंगमञ्चको विकासमा लागेका छन्। उनी भन्छन्, ‘हामीले सानैमा नाटक सिक्ने मौका पनि पाएनौँ, आफ्नै बलले अभिनय गरियो, पैसा नभए पनि यहीँ केही गर्न चहानेका लागि थिएटर सुरु गरेका हौँ।’

थिएटरले कलाकारितमा आउन चाहनेका लागि नाटक सिकाउने र दमकका दर्शकलाई नियमित नाटक प्रदर्शन गरेर मनोरञ्जन दिलाउने उनले बताए। ‘अहिले त अभिभावकले पनि आफ्ना नानीहरूलाई नाटक सिकाउन थालेका छन्, आफ्ना छोराछोरीमा एउटा प्रतिभा होस् भन्न थालेका छन्’, हेमन्त भन्छन्, ‘उनीहरूलाई मात्र अवसरको खाँचो छ।’ त्यही अवसर दिलाउन कदम थिएटर स्थापना भएको उनी दाबी गर्छन्। अब भवन निर्माण गरेर प्रशिक्षण सुरु गर्ने सोच रहेको बुढाथोकी बताउँछन्।

मोफसलबाट कलाकारितमा लागे पनि चलचित्र खेल्नचाहिँ राजधानी जानुपर्ने बाध्यता नहटेको उनी बताउँछन्। हेमन्त भन्छन्, ‘अहिले पनि चलचित्रमा अभिनय गर्नचाहिँ काठमाडौँ नै जानुपर्छ तर नाटक भने मोफसलबाट पनि राम्रो प्रदर्शन गर्न सकिन्छ र भएका पनि छन्।’

'फिल्म बनाएँ तर अपेक्षाअनुसार चलेन'
बुढाथोकीले लामो समय नेपाली चलचित्रमा अभिनय गरे। लामो समय अभिनय गर्दा उनलाई आफैँ फिल्म बनाउने सोच आयो। ०६८ सालमा चलचित्र ‘मृगतृष्णा’ चलचित्र निर्माण गरे। तर सोचेजस्तो चल्न सकेन। सुरुका दुई दिन आक्रामक व्यापार सुरु गर्‍यो। तर त्यही समय बन्दले गर्दा चलचित्र नै चलेन। उनले भने, ‘बन्दले हामीलाई त्यसबेला धेरै प्रभाव पार्‍यो, केही साथीसँग मिलेर बनायौँ तर बन्दले चल्न पाएन।’

‘प्रहरीको हस्तक्षेपले अभिनय नै गरिनँ’
०४७ ताका भर्खर जनआन्दोलन सकिएको थियो। त्यतिबेलका आन्दोलनलाई टेलिफिल्मको रूपमा देखाइँदै थियो। नेपाल टेलिभिजनबाट आउने टेलिफिल्म ‘विना चिहानको मृत्यु’मा उनले चार भागसम्म अभिनय गरे। अभिनयमा उनको प्रहरीको भूमिका थियो। तर चार भाग अभिनय गरेपछि प्रहरीले हस्तक्षेप गर्‍यो। ‘त्यतिबेला प्रहरीको रोल गर्दा हस्तक्षेप गर्‍यो अनि मैले खेलिनँ’, उनी भन्छन्, ‘जम्मा त्यही प्रहरीको ज्यादती देखाउन खोजेको, त्यही नपाएपछि के गर्न खेल्नु!’

‘देश खोज्दै जाँदा’मा फरक भूमिका
भदौ ८ गतेदेखि रिलिज भएको ‘देश खोज्दै जाँदा’ चलचित्रमा उनको मुख्य भूमिका छ। भुटानी शरणार्थीको कथावस्तुलाई समेटिएको यस चलचित्रमा उनी फरक भूमिकामा छन्। उनी भन्छन्, ‘निरन्तर नेगेटिभ भूमिकामा खेलिरहेको, अहिले सकारात्मकमा छु, फिल्मको कथावस्तु मेरै पात्रमा घुमेको छ।’

उक्त चलचित्रमा भुटान फर्कने आशा बोकेका शरणार्थी बाध्यताले अमेरिका पुग्नुपरेको कथालाई समेटिएको छ। ‘एक कारोबारी भन्ने पात्रका रूपमा मैले अभिनय गरेको छु, उक्त पात्र नेता त होइन, तर भुटान जाने नेतृत्वचाहिँ गरेको छ’, उनी भन्छन्, ‘तर बाध्यताले कारोबारी अमेरिका फस्नुपर्छ।’ यो चलचित्रमा लामो समयदेखि देखेको उनीहरूको दुःख बुझ्न पाएको र सन्तोषजनक अभिनय गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.