|
आयोगको कार्यालयमा दल दर्ताको निवेदन दिँदै राजनीतिक दलका प्रतिनिधि।

काठमाडौँ: अागामी मंसिर १० गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिता जनाउनका लागि निर्वाचन आयोगमा ९५ राजनीतिक दलले निवेदन दिएका छन्। निर्वाचन आयोगले आइतबार साँझ ६ बजेसम्म दल दर्ताका लागि निवेदन दिन समय तोकेको थियो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दल दर्ताको निवेदन दिने अन्तिम दिन आइतबार नेपाली कांग्रेस, उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पुशपतिशमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति, सीपी मैनाली नेतृत्वको नेकपा मालेलगायत ३१ दलले दर्ताको निवेदन दिएका छन्।

दल दर्ताको निवेदन दिन नेपाली, कांग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीता यादव आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय पुगेका थिए। कांग्रेसले ७९औँ नम्बरमा निवेदन दर्ता गराएको छ। त्यस्तै नेकपा मालेका महासचिव एवं सांसद सीपी मैनाली अन्तिम समयमा दल दर्ताको निवेदन दिन आयोगको कार्यालय पुगेका थिए। भर्खरै फुटेको राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिकका दोस्रो तहका नेता निवेदन दिन पुगेका थिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भने यसअघि नै दल दर्ताको निवेदन दिइसकेका छन्। त्यस्तै, स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी, नेपालले शुक्रबार नै दल दर्ताको निवेदन दिइसकेको छ। संविधानको धारा २७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले आयोगमा दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ।

आयोगमा दर्ता भएका राजनीतिक दलका निवेदनहरूमाथि छिट्टै छानविन प्रक्रिया अगाडि बढाएर दल दर्ता गरिने आयोगका प्रवक्ता शर्माले जानकारी दिए। '९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन्। निर्वाचन मिति आइसक्यो, समय कम छ', उनले भने, 'आवश्यक कागजात पुगेको छ/छैन भनेर आयोगले छिट्टै छानविन गर्छ र दर्ता प्रक्रिया अगाडि बढाउँछ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.