|

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले फर्जी कम्पनीबाट सञ्चालित कलेजलाई सम्बन्धन दिएको खुलेको छ। इन्जिनियरिङ संकायका डिनको असहमतिका बाबजुद साउन २९ गते बसेको एमयू कार्यकारी परिषद् बैठकले नेपाल इन्जिनियरिङ कलेज प्रालिलाई सम्बन्धन दिने निर्णय गरेको हो। 

बैठकमा परिषद् सदस्यसमेत रहेका डिन यमबहादुर कार्कीले ‘विवादास्पद’ कम्पनीबाट सञ्चालित हुने कलेजलाई सम्बन्धन दिन नहुने धारणा राखेका थिए। सम्भाव्यता अध्ययन कार्यदललाई बाइपास गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, रजिष्ट्रार महेन्द्रकुमार मल्ल आफैंले प्रतिवेदन तयार पारेको पाइएको छ। इन्जिनियरिङ संकायका डिन ललितविक्रम राणाले सुरुदेखि नै सम्बन्धनप्रति असहमति जनाउँदै आएका थिए। ‘भौतिक पूर्वाधार मात्र हेरियो। वैधानिक संस्था हो कि होइन, कागजात केही हेरिएन,’ परिषद् स्रोतले भन्यो, ‘उपकुलपतिको ‘पर्सनल इन्ट्रेस्ट’ कै कारण सम्बन्धन दिइएको हो।’ 

सामाजिक संस्थाबाट सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरेर सञ्चालकले गत वैशाख २५ गते नेपाल इन्जिनियरिङ कलेज प्रालि नामक फर्जी कम्पनी दर्ता गरेको सार्वजनिक भइसकेको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त भएर सञ्चालनमा रहेको उक्त कलेज फर्जी कम्पनीका रूपमा दर्ता भएपछि एमयूबाट सम्बन्धन पाएको छ । 

सामाजिक संस्थाको सम्पत्ति निजीकरण गर्न नपाइने हुँदा कलेज सञ्चालकले मिल्दोजुल्दो नाम राखेर फर्जी कम्पनी दर्ता गरेको पाइएको हो। एमयूले यही कम्पनीबाट सञ्चालित कलेजलाई सम्बन्धन दिएपछि विश्वविद्यालय पदाधिकारीको चौतर्फी आलोचना भइरहेको छ। 

मध्यपश्चिम क्षेत्रका सामुदायिकलाई सम्बन्धन नदिएर राजधानीका ‘विवादास्पद’ कलेजलाई सम्बन्धन दिन थालेको भन्दै यहाँ सुरुदेखि नै विद्यार्थी, प्राध्यापक, नागरिक अगुवा आन्दोलित छन्। सामुदायिक कलेजलाई सम्बन्धनको प्राथमिकतामा नराखिएको, केन्द्रीय क्याम्पस पूर्वाधार सम्पन्न र सञ्चालित कार्यक्रमको पाठ्यक्रम नबन्दै राजधानीका निजी कलेजलाई सम्बन्धन दिएकोमा असन्तुष्टि बढेको हो। एमयूले स्थापनाको ८ वर्षसम्म एउटा पनि आंगिक क्याम्पस सञ्चालन गर्न सकेको छैन।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.