|

काठमाडौं : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि अन्ततः निर्वाचन हुने भएको छ। कीर्तिपुरमा चलिरहेको २१ औं राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चुन्ने प्रक्रिया असफल भएपछि पदाधिकारी र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको हो।

आइतबार मतदाता नामावली प्रकाशित गरेर उम्मेदवारी मनोनयन गर्ने प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास गरिएको थियो। मातृ पार्टी माओवादी केन्द्रका शीर्ष नेता र विद्यार्थी नेताबीच भएको पटकपटकको सहमितको प्रयास असफल भएको थियो। त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले अध्यक्षका सबै दावेदारसँग छलफल गरेका थिए।

अध्यक्षको दाबी गरेका अनील शर्मा, रञ्जित तामाङ, आरसी अधिकारी, वीरेन्द्र बस्नेत, मदन अर्याल गरेर ५ जना उम्मेदवार थिए। आइतबार उम्मेदवारी दर्ताको दिन पार्टी अध्यक्ष प्रचण्डले पाँचैजनालाई आफ्नो निवास लाजिम्पाट बोलाएर सहमतिका लागि छलफल गरेका थिए। उक्त छलफलमा आरसी अधिकारी, वीरेन्द्र बस्नेत, मदन अर्यालले अध्यक्षको दावी छोडे पनि अनील शर्मा र रञ्जित तामाङले भने आ-आफ्नो दाबी कायमै राखे।

सोमबार बिहान फेरि सहमतिका लागि प्रचण्डले अनिल शर्मा र रञ्जित तामाङलाई बोलाएका थिए। शर्माले सहमतिमा आफूलाई अध्यक्ष बनाउनुपर्ने माग गरेका थिए भने रञ्जितले निर्वाचनमा जान दिनुपर्ने माग गरेका थिए।

अनील शर्मा र रञ्जित तामाङले अध्यक्ष पदको दाबी नछोडेपछि निर्वाचन हुने भएको हो। यो आन्तरिक निर्वाचन माओवादी पार्टी र यसका भातृ संगठनमा पहिलो हो। यसपाली पार्टीले संगठनलाई आफ्नो नेतृत्व चुन्न स्वतन्त्र छोडेको विघटित केन्द्रीय समितिका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले बताए। उनले सोमबार साढे १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका समेत तय गरिएको जानकारी दिए।

अध्यक्ष पदका दाबेदार अनील शर्माले भने, 'हामीले पार्टी नेतृत्वसँग सल्लाह भएको थियो।' उनले चुनावमा जानुलाई 'जनवादी प्रक्रियाको रुप' भएको बताए। पहिलोपटक माओवादीको संगठन निर्वाचनबाट चुनिन लागेको हो। शर्माले यसलाई स्वाभाविक भएको बताए।

अध्यक्ष पदका अर्का दावेदार रञ्जित तामाङले पनि संगठनको नेतृत्व आन्तरिक निर्वाचनबाट आउने तय भएको बताए। उनले आफूले अखिल क्रान्तिकारीलाई विद्यार्थी आन्दोलनको नेता बनाउने भएकोले अध्यक्ष्यको दावी नछोडेको बताए। उनले भने, 'अब चुनाव हुने नै भयो, म संगठनलाई व्यवस्थित गर्न र सबै साथीहरुलाई मिलाएर लैजान सक्ने दृढताका साथ अध्यक्षमा उम्मेदवारी दिन लागेको हु।' उनले आफूले अध्यक्षमा एक नम्बर विद्यार्थी संगठन बनाउनका लागि दाबी गरेको बताए।

यसअघि ९९ जनाको पदाधिकारी र झन्डै १ हजार जनाको केन्द्रीय समिति भएपछि अव्यवस्थित बनेकोले अखिल क्रान्तिकारी चुनाव द्वारा नेतृत्व छान्ने प्रक्रियामा गएको हो। अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले एक अध्यक्ष, ९ उपाध्यक्ष, १ महासचिव, ५ उपमहासचिव, १६ सचिव, १ कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारी सहित २ एक ४३ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.