|

देवी गुरुङ-

रोल्पा : रोल्पाको एक नगरपालिका र ९ वटा गाउँपालिकाहरुमा स्थानीयले गरेको आशा पूर्ति हुन सकेको छैन। २४ सै घण्टा विद्युत आपूर्ति होस् भनेर चाहने स्थानियको चाहना वर्षौ बितिसक्दासमेत ज्यूँको त्युँ नै छ। जिल्लाका कुनै कुनै क्षेत्रमा त हिउँदको समयमा विद्युतको मुहान देख्न पाइने र वर्षा लाग्दाका पूरै महिनाहरुमा विद्युतको मुहारसमेत देख्न नपाइने अवस्था समेत रहेको छ।

वर्षातको समयमा पुरानो जमानाको लाल्टिन र मैनबत्ती बालेर दिनचर्या बिताउँछन् रोल्पाका ग्रामीण समुदायहरु। ‘जिल्लामा प्रशस्त पाकृतिक श्रोत साधनहरु रहेका छन् तर ती स्रोत साधनहरुबाट फाइदा लिन सकिरहेका छैनौं राङसी रोल्पाका रणबहादुर रसाइलीले भने।  'दुईखोली गाउँपालिकाको साबिकको राङसी गाविसका ७ वटा ओडाहरु २ महिना अन्धकारमा बस्न बाध्य भएका हुन्।'

प्रतिघरधुरी २ हजारका दरले मासिक विद्युतको चार्ज तिर्ने गरेका स्थानीयहरुले वर्षमा मुस्किलले ९ महिना विद्युत बाल्ने गर्दछन्। लघु र साना जलविद्युतबाट प्रवाह भएको विद्युतले हिउँदमा मात्रै विद्युत आपूर्ति गर्ने र वर्षातको समयमा बिग्रने भएका कारण यसो भएको रसाईलले बताए।

यसलाई पुन: मर्मत गर्नका लागि स्थानीयहरुले नै रकम खर्चनुपर्ने र प्राविधिक खर्च पनि अत्यधिक लाग्ने भएकाले पनि आर्थिक समस्याका कारण गाउँलेहरुले अन्धकारमा जीवन गुजार्न बाध्य भएको रसाइली बताउँछन्। विद्युत नभएपछि फोन सेवासमेत अवरुद्ध हुने गरेको छ। ल्याण्डलाइन, नमस्ते, हेलोको कुनै पनि टावरले काम नगर्दा स्थानीयहरु मर्कामा पर्ने गरेका छन्। बल्ल तल्ल स्काईको नेटवर्कले बेला बखतमा काम गर्दा सञ्‍चाको काम गर्न सकिने स्थानीयहरु बताउँछन्।

रोल्पामा झण्डै २२ प्रतिशत विद्युत

रोल्पाका झण्डै २२ प्रतिशत विद्युत सेवा केन्द्रीय प्रशारण लाइनबाट विस्तार गरिएको छ भने ६ सय १७ दशमलव ५ किलोवाट क्षमता रहेको स्थानीय लघु र साना जलविद्युतबाट विद्युत प्रवाह गरिएको छ। स्थानीय खोलानालाको प्रयोग गरी थोरै क्षमताको लघुजलविद्युत उत्पादनले स्थानीयस्तरको विद्युत आपूर्तिमा टेवा पुगेको छ। केन्द्रीय विद्युत लाइन रोल्पा नगरपालिकासहित रुन्टीगढी, सुवर्णावती र त्रिवेणी गाउँपालिकाका सीमित वडाहरुमा मात्र पुगेको छ।

ती केन्द्रीय लाईन समेत अनियमित हुँदा नगरपालिका भित्र रहेका ३ वटा सामुदायिक एफ एम हरु र छापाखानाहरु समेत मर्कामा पर्ने गरेका छन्। बर्षातको समयमा र गर्मीको समयमा विद्युत अनियमित हुने गर्दछ। नेपाल विद्युत प्राधिकरण रोल्पाले भने बर्षातको समयमा तार चुडिएको बताउँछ भने गर्मीको समयमा विद्युत खपत धेरै हुँदा आपुर्ती गर्न नसकिने बताउने गर्दछ। केन्द्रीय लाईनको समस्या यसो भईरहँदा अधिकांश गाउँहरुमा स्थानीय लघुजलविद्युत उत्पादनको अल्पकालीन विद्युत सेवाले धेरैलाई राहत दिएको छ।

माडी गाउँपालिका वडा नं. १ तालाबाङ र वडा नं. ४ ओतको करिब २ सय ५० घरधुरीलाई विद्युत आपुर्ती गरिरहेको चिउरागार लघुजलविद्युत आयोजना अहिले ठप्प छ। विद्युत गृहनै बाढीले बगाइदिएपछि ती दुई वडा अहिले अन्धकारमा रहेको ओतका शेरबहादुर बुढाले बताए।

०६८ सालमा उर्जाको सहयोगमा निर्माण थालिएको उक्त जलविद्युत ०७० सालमा बलेको थियो। २५ किलोवाटको उक्त लघुजलविद्युतको अहिले नाम निशान छैन। विद्युत गृहका सामाग्री तथा ठूलो पाइप समेत केही मिटर टाढा खोलाका किनारभरि छरिएका छन्। बुढाका अनुसार विद्युत पुन:  मर्मत गर्दा लाग्ने खर्च पुनर्निर्ममाणसरह नै रहेको बताए।

५५ लाखको क्षति

विद्युत गृह बगेपछि करिब ५५ लाखको क्षति भएको चिउरागार लघुजलविद्युत आयोजनाका अध्यक्ष भक्तबहादुर चन्द ठकुरी बताउनुभयो। उहाँका अनुसार पुनः विद्युत बाल्नका लागि स्थानीयले चाहेर मात्र सम्भव छैन। उता पूर्वी रोल्पाको उवा र सेरममा रहेको जलविद्युत पनि अहिले अवरुद्ध छ। विद्युत गृहसहित गाउँमा गाडिएको पोलसमेत पहिरोले भत्काइदिएपछि यस्तो अवस्था आएको हो।

धेरै ठाउँमा एकसाता बाल्ने र दुईसाता बन्द हुने अवस्था लघुजलविद्युत उपभोक्ताहरुले खेप्नुपरेको समस्या रहेको दुईखोली गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले बताए। उनका अनुसार त्यसक्षेत्रमा फोन सेवा समेत प्रभावकारी हुन सकेको छैन। गाउँपालिकामा हुने विभिन्न कार्यहरु विद्युत नभएकै कारण फोन टावरले काम नगर्दा सदरमुकामसम्म र सम्बन्धित स्थानसम्म खबर पुरयाउनसमेत असहज हुने बताए।

पहिरोले विद्युत गृह तथा पोलहरु बगाईदिएपछि एकवर्षदेखि स्थानीय बाछेमखोला लघु जलविद्युत आयोजना समेत अवरुद्ध छ। २२ किलोवाट क्षमता रहेको उक्त विद्युत अवरुद्ध हुँदा सेरम, फुलिवन, झङ्की लगायतका गाउँ पूर्णरुपमा अन्धकारमा रहेको स्थानीय जुनिस कुमार बिष्टले बताए।

विद्युत नहुँदा कार्यालयका धेरै कामकाज प्रभावित हुँदै आएको सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भने। उनका अनुसार स्थानीय तहको निर्वाचनमा समेत विद्युत अभावकै कारण फोन सेवा अनियमित हुँदा केही वडाहरुमा घाटा ब्यहोर्नु परेको बताए।

सुकिदहगाउँपलिका, थबाङगाउँपालिका, दुइखोलीगाउँपालिका, लुङ्ग्री गाउँपालिकामा अहिलेसम्म प्रभावकारी फोन सेवा समेत छैन। विद्युत सेवा नहुँदा फोन सेवा स्वतः अवरुद्ध हुने स्थानीय जनप्रतिनिधिहरुको अनुभव छ। विद्युत सेवालाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरुसँगको सहकार्यमा केही योजना निर्माण गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए। स्थानीय लघुजलविद्युतलाई प्रभावकारी बनाउन दीर्घकालीन योजनासहित लगानीको आवश्यकता रहेको पुनले बताए।

यता, स्थानीय सरकारले ठूला योजनामा लगानी गर्न नसक्ने अवस्था रहेकै कारण केन्द्रबाटै जलविद्युतमा लगानीको गुरुयोजना निर्माण गर्नुपर्ने रोल्पा नगरप्रमुख पुर्ण केसीले बताए। थोरै लगानीबाट मर्मत हुने अवस्थामा रहेका जिल्लाका लघुजलविद्युत बल्ने अवस्था रहे पनि कतिपय विद्युत भने बल्ने अवस्थामा छैनन्।

स्थानीय खोलानालाको सदुपयोग गरी बनाइएका साना र लघु जलविद्युतबाट मात्रै ५ हजार ६ सय ८ घरधुरी लाभान्वित रहेको जिसस ऊर्जा शाखाका इन्जिनियर हुकुमबहादुर बुढामगरले बताए। कुल ४३ हजार ७ सय ५७ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनबाट ७ हजार ७ सय ४४ घरधुरी लाभान्वित छन्। उनका अनुसार साना लघुजलविद्युत १८ र लघुजलविद्युत १५ गरी ३३ वटा स्थानीय जलविद्युत अहिले सञ्चालनमा छन्।

जसबाट ६ सय १७ दशमलव ५ किलोवाट विद्युत उत्पादन हुने गर्दछ। २०५३ सालदेखि जिल्ला सदरमुकाम लिबाङ क्षेत्रमा लोडसेडिङ गरिएको छैन। बीचमा केही दिन लोडसेडिङ गर्न खोज्दा प्यूठानको झिम्रुकमा रहेको विद्युत गृह नै जनताले जलाइदिएका थिए। तर लोडसेडिङ मुक्त लिबाङ भनिएतापनि समय समयमा विद्युत पुर्ण रुपले अनियमित हुने, अवरुद्ध हुने समस्या भने टरेको छैन्।

जिल्ला समन्वय समिति उर्जा शाखाको अगुवाईमा निर्माण गरिने स्थानीय साना तथा लघुजलविद्युत आयोजनाका लागि बेस नेपालले प्राविधिक सहयोग गरीरहेको छ। मुचुल्कासहित निवेदन दिएमा केही प्रतिशत सहयोग गर्न सकिने ऊर्जा शाखा रोल्पाका इन्जिनियर हुकुम बहादुर बुढाले बताए।

यता, नेपाल टेलिकम रोल्पाका प्रमुख कैलास आचार्यले भने जिल्लाका विभिन्न क्षेत्रमा निमार्ण भएका टावरहरु विद्युत अभावकै कारण प्रभावकारी रुपले सुचारु हुन नसकिरहेको बताए। सोलार ब्याट्रीबाट सन्चालित केही टेलिकमका टावरहरुमा कहिले काँही वर्षाको समयमा सोलारको ब्याट्री पनि सकिएपछि टेलिकमा सम्पूर्ण सेवाहरु अवरुद्ध हुने समस्या जिल्लामा रहेको आचार्यले बताए। रोल्पाको माडी गाउँपालिका चिउरागारमा रहेको लघुजलविद्युत बाढीले बगाएपछि खोला किनारमा भेटिएको विद्युतको ठूलो पाइप।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.